सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
कास्की । कास्कीको पोखरामा अनलाइन जुवा तथा सट्टेबाजी खेलाइरहेको अवस्थामा सात जना भारतीय नागरिकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीस्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा ब्याटिङ खेलाउने गरेको गोप्य सूचनाका आधारमा शुक्रबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो।
गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल पोखरा-१८ सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा तथा भारतीय नागरिकहरू ३४ वर्षीय सत्यम सिंह, २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय बिक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र र २४ वर्षीय सत्यम राजपूत रहेका छन्।
उनीहरूले गत वैशाख १८ गते सफ्टवेयरको काम गर्ने बहानामा उक्त घर भाडामा लिएका थिए। सातवटा कोठा भएको उक्त घर भाडामा लिएर उनीहरूले त्यहीँ बस्ने, खाने र अनलाइन गेम खेलाउने कार्य गर्दै आएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो गिरोहले विभिन्न टेलिग्राम र ह्वाट्सएप ग्रुपहरू मार्फत मोबाइलमा ‘gurubhai247.pro’ नाम गरेको लिङ्क पठाएर सर्वसाधारणलाई आर्कषित गर्ने गरेको थियो। उक्त लिङ्क मार्फत डिपोजित वापतको रकम जम्मा गर्न लगाई रजिस्ट्रेसन गरेपछि उनीहरूले सर्वसाधारणलाई स्न्याम जुवा तथा सट्टेबाजीमा लगाउने गरेका थिए। विशेष गरी क्रिकेट, फुटबल र क्यासिनोका खेलहरूमा सट्टेबाजी गराई हारजित भए पश्चात् सम्बन्धित व्यक्तिहरूलाई रकम जम्मा गरिदिने गरेको प्रहरीले जनाएको छ।
उक्त गिरोहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँ कमाउने गरेको र यसका लागि भारतीय नागरिकहरूकै बैंक खाताहरू भाडामा प्रयोग गर्ने गरेको खुलेको छ। अनलाइनबाटै रकम भुक्तानी र जम्मा गर्ने गरिएको यो धन्दाको मुख्य सञ्चालक भने भारतीय नागरिक नै रहेको र हालसम्म नाम नखुलेका ती व्यक्तिको २७ औँ ब्रान्चको रूपमा यो कार्यालय सञ्चालन भइरहेको अनुसन्धानबाट देखिएको छ।
प्रहरीले फेला पारेको तीन वटा कम्प्युटरको सिट हेर्दा क्रमशः ९ करोड ११ लाख ९९ हजार ११८ रुपैयाँ, ९ करोड २ लाख २२ हजार २६ रुपैयाँ र १० करोड ५५ लाख ६४ हजार ६९० रुपैयाँ क्रेडिट भएको फेला परेको छ।
घटनास्थलबाट प्रहरीले विभिन्न कम्पनीका ७ थान ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल, ९ थान किबोर्ड, ४ थान मल्टिप्लग, १ थान १२ भोल्टको ब्याट्री, १ थान यूपीएस, २ थान राउटर, १६ थान चार्जर र ३४ थान भारतीय सिमकार्ड बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान तथा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण