शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला

शुक्रबार, २६ असार २०८३, २२ : २१
शुक्रबार, २६ असार २०८३

सारांश

  • बाँझो जमिनको प्रयोग गरी ताराखोलामा सामूहिक जैविकखेती सुरु
  • गाउँपालिकाले युवालाई प्रेरित गर्न जैविकखेतीमा जोड
  • उत्पादन वृद्धि र जीवनस्तर उकास्ने लक्ष्य

बागलुङ । बसाइसराइका कारण खाली बनेका जग्गालाई प्रयोगमा ल्याउन बागलुङको ताराखोला गाउँपालिकाले सामूहिक जैविकखेती गर्ने योजना बनाएको छ । गाउँका खेतबारीमा झाडी पलाउँदै गएपछि बाँझो जमिनलाई एकीकृत गरी ‘भूमि बैंक’ मार्फत सामूहिक जैविकखेती गर्ने योजना बनाएको हो ।

बजार झरेका नागरिकलाई गाउँ फर्कनका लागि प्रेरित गर्न पालिकाले युवा समूह तथा सहकारीमार्फत जैविकखेतीलाई प्राथमिकता दिन थालेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । एकीकृत रूपमा खेती गर्दा खेतीयोग्य जमिन खाली नहुने र नागरिक जीवनस्तर बदलिने उनको भनाइ छ ।

अहिलेसम्म परम्परागत खेती गर्दा वर्ष दिनसम्म खान नपुग्ने नागरिकलाई आधुनिक खेती प्रणालीसँग जोड्ने योजना बनाइएको अध्यक्ष विकले बताए । गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई समेत प्राथमिकता दिएको उनको भनाइ छ । निजी तथा खाली बाँझो जग्गाको उपयोग गरी उत्पादन बढाउनको लागि टिमुर, कागती, स्याउ, किवी, अलैँची, बोधिचित्त, एभोकाडो, ओखरलगायत खेती प्रवर्द्धन गरिने उनले जानकारी दिए ।

“दिनदिनै गाउँका उर्वर खेतबारीहरू बाँझो बन्दै गएका छन्, ती बाँझो जमिनको प्रयोग गरी नागरिकलाई उत्पादन र आयआर्जनसँग जोड्नका लागि भूमि बैंकमार्फत जैविकखेती गर्ने योजना अगाडि सारेका छौँ”, अध्यक्ष विकले भने, “खेतबारी हराबरा बनाउने र नागरिकको जीवनस्तर उकास्ने गरी काम गर्न थालेका छौँ, यसको परिणाम तत्काल नदेखिए पनि केही वर्षमै देखिने छ ।”

जैविकखेतीलाई प्रोत्साहन गरी ‘ताराखोला अर्गानिक उत्पादन’ ब्राण्ड विकास गरिने अध्यक्ष विकले उल्लेख गरे । ताराखोला पशुपालनका लागि पनि अत्यन्त उपयुक्त ठाउँ रहेको हुँदा ‘एक गाउँ, एक पशु पकेट क्षेत्र’ घोषणा गरेर काम थानली गर्ने उनको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यम तथा उत्पादनसँग जोड्ने खालका कार्यक्रम ल्याइएको बताए । रोजगारी सिर्जनाका लागि ३९० घण्टा बराबरको सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गर्ने र ‘एक घर, एक रोजगार’ कार्यक्रमसमेत ल्याइएको उनले उल्लेख गरे ।

ताराखोलाको प्रसिद्ध अल्लो, हस्तकला, काष्ठकला, लोक्ता, जडीबुटी प्रशोधन तथा खाद्य उद्योग व्यवस्थित रूपमा सञ्चालन गरिने उपाध्यक्ष रोकाले बताए । ताराखोलामा पाइने स्लेट ढुङ्गा, गिटी बालुवा, वन पैदावर, काठजन्य वस्तुलाई घरेलु तथा साना उद्योगका रूपमा विकास गरिने उनले उल्लेख गरे । गाउँपालिकाले यसअघि गाउँका केही जमिनमा नगदेबाली लगाएर आम्दानीसमेत गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप