शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’

शुक्रबार, २६ असार २०८३, २१ : ३१
शुक्रबार, २६ असार २०८३

सारांश

  • मनसुनजन्य विपद्को जोखिम मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले पुर्वतयारीलाई तीव्रता दिएको छ ।
  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुरक्षा निकायसँग समन्वय गरी सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र उद्धार संयन्त्रलाई प्रभावकारी बनाउने तयारी गरेका छन् ।
  • प्रदेश सरकारले सुरक्षा निकायलाई करिब साढे दुई करोडभन्दा बढी मूल्य बराबरको विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

मकवानपुर । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले पुर्वतयारीलाई तीव्रता दिएको छ ।

मनसुनजन्य विपद्को उच्च जोखिममा रहेकाले बागमती सरकारले विपद् व्यवस्थापन पूर्वतयारीलाई प्राथमिकताका साथ अघि बढाएको हो ।

विपद् पूर्व तयारी स्वरूप शुक्रबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सुरक्षा निकायसँगको समन्वय तथा छलफल गरेका छन् । विगतका विपद्‌बाट  प्राप्त अनुभवलाई आधार बनाएर सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणाली सुदृढीकरण र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउने तयारी अनुसार मुख्यमन्त्री बानियाँले सुरक्षा निकायसँग छलफल गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले मनसुनका कारण बढी प्रभावित हुन सक्ने क्षेत्रको पहिचान गरेर समयमै पूर्वतयारी गर्न सके जनधनको क्षति घटाउन सकिने बताए । उनले विगतका विपद्का अनुभव नै अहिलेको सबैभन्दा ठुलो सिकाइ भएकाले अब प्रतिक्रिया होइन, पूर्वतयारीको मोडेलमा जानुपर्ने आवश्यकता औँल्याए । 

‘विगतको भोगाइ नै अहिलेको सिकाइ हो । बागमती प्रदेशका कुन–कुन क्षेत्रमा वर्षा र मनसुनका कारण बढी क्षति हुन सक्छ भन्ने पहिचान गरेर अहिले नै तयारी गर्नुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारले सम्भावित पहिरो, बाढी र डुबान प्रभावित क्षेत्रहरूको अध्ययन गरिरहेको छ । 

जोखिम बढी भएका स्थान पहिचान गरी त्यहाँ आवश्यक स्रोत–साधन, जनशक्ति र उद्धार सामग्री अग्रिम रूपमा व्यवस्थापन गर्ने रणनीति अपनाइएको छ ।

उनले विपद् व्यवस्थापनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष पूर्वतयारी भएको उल्लेख गर्दै विपद् आइसकेपछि उद्धारमा मात्र केन्द्रित हुने अभ्यास परिवर्तन गर्नुपर्ने बताए । 

मुख्यमन्त्री बानियाँले राष्ट्रिय अनुसन्धान विभागले सम्भावित जोखिम सम्बन्धी सूचना तत्काल उपलब्ध गराउने, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्नो विशेष तालिम र क्षमताअनुसार उद्धार कार्य सञ्चालन गर्ने बताए । उनले सबै सुरक्षा निकायको तालिम, उपकरण र कार्यशैली फरक–फरक हुने भएकाले एउटै ढाँचामा होइन, विशेषज्ञता अनुसार परिचालित हुन पनि स्पष्ट पारे ।

‘नेपाल प्रहरीले प्रयोग गर्ने सबै उपकरण सशस्त्रले प्रयोग गर्दैन, सशस्त्रले प्रयोग गर्ने सबै सामग्री सेनाले प्रयोग गर्दैन । त्यसैले सबै निकायको विशिष्टीकृत क्षमता उपयोग गरेर विपद् व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ,’ उनले भने ।

मुख्यमन्त्री बानियाँले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबिच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । उनका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग नियमित सूचना आदानप्रदान हुने व्यवस्था मिलाइनेछ । 

स्थानीय तहमा रहेका प्रहरी तथा उद्धार संयन्त्रलाई थप क्षमता विकास तालिम दिने विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए । उनले विपद्का बेला स्थानीय सरकार नै पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरूको तयारी मजबुत बनाउनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले सुरक्षाका तीन वटै निकायलाई विपद् पूर्व तयारीका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री बानियाँले झण्डै साँढे दुई करोड ७५ लाख बराबरको सामाग्री सुरक्षा निकायलाई हस्तान्तरण गरेका थिए । 

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा प्रदेशले नेपाली सेनाको लागि ७५ लाख ६२ हजार २९९, नेपाल प्रहरीका लागि ५४ लाख ६६ हजार ४८८ र सशस्त्र प्रहरी बल नेपाललाई एक करोड १६ लाख ८३ हजार ५२२ रुपैयाँ बराबरको विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्री उपलब्ध गराएको हो । जसमा अत्याधुनिक ड्रोनदेखि वाटर रेस्क्यु लगायतका सामग्रीहरू रहेका छन् ।

राहत सामग्री रणनीतिक स्थानमा भण्डारण

मनसुनका बेला सडक सम्पर्क विच्छेद हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारले विभिन्न रणनीतिक स्थानमा उद्धार तथा राहत सामग्री भण्डारण गरिसकेको छ ।  मुख्यमन्त्री बानियाँका अनुसार नुवाकोट र मकवानपुरको हेटौँडा–थाना भर्‍यालगायतका स्थानमा आवश्यक सामग्री सुरक्षित रूपमा राखिएको छ । 

आवश्यकता अनुसार ती सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले जानकारी दिए । प्रदेश सरकारले आगामी दिनमा थप आवश्यक सामग्री खरिद गरेर सुरक्षा निकायलाई हस्तान्तरण गर्ने तयारीसमेत गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप