शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कुन हर्मोनको के भूमिका ?

शुक्रबार, २४ मङ्सिर २०७३, ११ : २४
शुक्रबार, २४ मङ्सिर २०७३

डा. अंशुमाली जोशी इन्डोक्राइनिलोजिस्ट

हाम्रो शरीरमा विभिन्न हर्मोन छन् । सबै हर्मोनका आ–आफ्नै काम छन् । तर, शारीरिक र मानसिक विकासका लागि अत्यावश्यक हर्मोनहरू तलमाथि हुँदा भने अर्को समस्या निम्तिन्छ । हाम्रो शरीरमा केही हर्मोन निकै नै महत्वपूर्ण छन् र तिनमा केही मात्रै गडबड हुँदा स्वास्थ्यमा गम्भीर समस्या पैदा हुन सक्छ । यी हर्मोनबारे डा. अंशुमाली जोशीले केही जानकारी दिएका छन् :

थाइराइड

घाँटीमा श्वासनलीको बाहिरपट्टि हुने थाइराइड ग्रन्थिले शरीरमा थाइराइड हर्मोन उत्पादन गर्छ । रगतमा घुम्दै यो हर्मोनले शरीरलाई फुर्तिलो बनाउने काम गर्छ । यसले अरू हर्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्ने तथा शरीरका तन्तुहरूलाई वृद्धि गर्ने र परिपक्व बनाउने काम गर्छ । थाइराइड हर्मोनको उत्पादन सन्तुलित नभएमा (बढ्ने या घट्ने भएमा) र वेलैमा सन्तुलनमा ल्याउन उपचार नगरेमा विभिन्न समस्या निम्त्याउँछ । यसको सम्बन्ध शारीरिक र मानसिक दुवै पाटोमा हुने भएकाले समस्या छिप्पिँदै जाँदा मुटु र मस्तिष्कमा असर पुर्‍याउँछ ।

टेस्टोस्टेरोन

टेस्टोस्टेरोनलाई सेक्स हर्मोनको रूपमा चिनिन्छ । मांसपेशी र शक्ति बढाउन भूमिका खेल्ने टेस्टोस्टेरोन महिलामा भने निकै कम मात्रै उत्पादन हुन्छ । मोटोपन कम गर्ने, शुक्रकिट बनाउने, सेक्स पावर सशक्त बनाउने र हड्डीलाई मजबुत बनाएर राख्न टेस्टोस्टेरोनले भूमिका खेल्छ । तर, टेस्टोस्टेरोनको लेभल कम भयो भने शरीरमा मोटोपन बढ्ने, यौन शक्ति कमजोर हुँदै जाने, शारीरिक कमजोरी बढ्ने, कपाल झर्नेजस्ता समस्या देखिन्छन् । किशोरावस्थाभन्दा पहिले टेस्टोस्टेरोनको लेभल निकै कम हुन्छ । किशोरावस्थादेखि ४० वर्षको उमेरसम्म बढ्दै जाने यो हर्मोन यसपछि भने घट्न सुरु हुन्छ । व्यायाम र खानपानमा ध्यान दिएमा सन्तुलनमा राख्न सकिन्छ । टेस्टोस्टेरोन हर्मोन महिलामा पनि हुन्छ, तर निकै कम । यसको थोरै मात्रा महिलाको यौन क्षमताका लागि आवश्यक पर्छ । तर, महिलामा यो हर्मोन बढी भयो भने असर गर्छ । महिलामा टेस्टोस्टेरोन बढी हुँदा शरीरमा अनावश्यक रौँ उम्रिने समस्या हुन्छ ।

इन्सुलिन

रगतमा भएको चिनीको मात्रालाई सन्तुलनमा राख्ने हर्मोन हो, इन्सुलिन । शरीरले आवश्यक इन्सुलिन उत्पादन गर्न सकेन भने मधुमेह रोग लाग्छ । यस्तै, इन्सुलिन बढी भयो भने रगतमा चिनीको मात्रा कम हुने समस्या निम्तिन्छ । रगतमा चिनी बढी भयो भने मुटु, मिर्गौला, आँखाजस्ता अंगमा हानि गर्छ ।

स्ट्रोजन-प्रोजिस्टेरोन

स्ट्रोजन, प्रोजिस्टेरोन, प्रोल्याक्ट्रिन हर्मोनलाई महिला हर्मोनको रूपमा लिइन्छ । त्यसो त स्ट्रोजन हर्मोन पुरुषमा पनि हुन्छ । महिलामा यौनशक्ति बढाउन तथा कायम राख्न यी हर्मोनको भूमिका रहन्छ । तर, यिनै हर्मोनमा गडबडी भएमा महिनावारी अनियमित हुनेदेखि यौनशक्ति कमजोर हुने समस्या निम्तिन्छ । महिलामा प्रोजिस्टेरोन हर्मोन कम हुँदा यौनेच्छा कम हुने मात्रै होइन, बाँझोपनकै खतरा रहन्छ । यसैगरी, स्ट्रोजन हर्मोनले महिलाको यौन तथा सन्तान उत्पादन गर्न सक्ने क्षमतालाई विकास गर्छ । हड्डीको मजबुतीमा पनि यो हर्मोनको भूमिका हुन्छ । स्ट्रोजनले महिलाको शारीरिक दुखाइ पनि व्यवस्थित गर्ने विभिन्न रिसर्चले देखाएका छन् ।

लेप्टिन लेप्टिन

हर्मोनलाई मास्टर हर्मोन पनि भनिन्छ । यसको काम शरीरमा पर्याप्त ऊर्जा संग्रह भएको संकेत दिमागलाई दिने हो । खाना खानेवेला यो हर्मोन बन्छ । शरीरमा लेप्टिन हर्मोनको लेभल हाई भयो भने भोक बढी लाग्न थाल्छ । धेरै खाना खान थालेपछि शरीरको तौल बढ्न थाल्छ । त्यसैले लेप्टिनले मोटोपनको संकेत गरेपछि लाइफइस्टाइलमा सन्तुलन मिलाएर हर्मोनलाई नियन्त्रणमा ल्याउन सकिन्छ । अनिद्रा, तनाव, चिनी तथा मैदाको धेरै सेवनजस्ता कुराले लेप्टिनको मात्रा बढ्छ । हरेक रात सात–आठ घन्टा निदाउने, चिल्लो र चिनीको सेवन कम गर्ने, प्रोटिनयुक्त खाना पर्याप्त मात्रामा खाने, प्याकिङ फुड खान बन्द गर्दा लेप्टिनको लेभल नियन्त्रण गर्न सकिन्छ । दूध, दही, पनिर, अन्डाजस्ता प्रोटिनयुक्त डाइट खाँदा शरीरको मेटाबोलिजम चुस्त हुन्छ र मोटोपन नियन्त्रण हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप