रवि र बालेनको सहमतिमै रास्वपाको नयाँ नेतृत्व छानिने, निर्वाचन अन्तिम विकल्प
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकतालाई मध्यनजर गरी सहमतिबाट नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकता दिएको छ ।
- सचिवालय बैठकमा सभापति रवि लामिछानेले धेरै काम गर्न बाँकी नै रहेकाले सहमतिमै नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिएका थिए ।
- महाधिवेशनको पहिलो चरणमा सभापति र एक सय केन्द्रीय समितिको निर्वाचन हुनेछ, दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट बाँकी पदाधिकारीको निर्वाचन हुनेछ ।
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकतालाई मध्यनजर गरी सहमतिबाट नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकता दिएको छ ।
विवेकशील साझा, बालेन्द्र समूह, थारुवान/थरुहट समूह, जेनजी समूह लगायत समूह मिसिएपछि विशाल पार्टी बनेको रास्वपाको आइतबारदेखि चितवनको भरतपुरमा प्रथम महाधिवेशन हुँदैछ । एकता प्रक्रियामा जोडिएका समूहलाई व्यवस्थापन गर्नुपर्ने देखिएकाले सहमतिबाटै नेतृत्व छनोटलाई प्राथमिकता दिइएको नेताहरूले बताएका छन् ।
बिहीबार बसेको सचिवालय बैठकमा सभापति रवि लामिछानेले धेरै काम गर्न बाँकी नै रहेकाले सहमतिमै नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिएका थिए । सबै पक्षलाई मिलाएर सकभर सहमतिमै नेतृत्व छनोट गर्ने जिम्मेवारी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई दिइएको सचिवालय सदस्य गणेश पराजुलीले बताए ।

‘पार्टीभित्र रवि समूह, बालेन समूह भन्ने छैन । हामी सबै रास्वपामा नेता तथा कार्यकर्ता हौँ । हामीले ऐतिहासिक महाधिवेशन गर्दैछौँ’, रातोपाटीसँग पराजुलीले भने, ‘विवेकशील साझा, जेनजी, पहिचानवादी आन्दोलनबाट आएका सबैलाई समेटेर लैजानुपर्ने महत्त्वपूर्ण जिम्मेवारी छ ।’
सहमतिबाटै नेतृत्व छनोट गर्ने विषयलाई पहिलो प्राथमिकता दिइएको उनले बताए । एकता महाधिवेशन भएकाले आवश्यकता अनुसार सहमति र निर्वाचन दुवै प्रक्रिया अगाडि बढाउन सकिने उनको भनाइ थियो ।
बिहीबार बसेको सचिवालय बैठकले १५८ सदस्यीय केन्द्रीय समिति (७ प्रदेश पदेन सदस्य रहने) प्रस्ताव अनुमोदन गरेको थियो । १९ सदस्यीय पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, प्रवक्ता १, सहप्रवक्ता ३, कोषाध्यक्ष र सहकोषाध्यक्ष एक/एक रहने व्यवस्था छ । सचिवालय ३३ सदस्यीय बनाइएको छ । सभापतिले ५१ जना मनोनीत गर्ने व्यवस्था विधानमा छ । केन्द्रीय समितिका लागि १०० जना निर्वाचनका माध्यमबाट आउने व्यवस्था छ । सकभर सहमतिमै चयन गर्ने तयारी भएको नेताहरू बताउँछन् ।
निर्वाचन प्रक्रियामा जाँदा समावेशी र एकता प्रक्रियामा जोडिएका व्यक्तिहरूलाई व्यवस्थापन गर्न ५१ जना मनोनीत हुने व्यवस्था राखिएको पराजुलीले स्पष्ट पारे ।
‘पार्टीमा समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्नेछ । यदि निर्वाचन प्रक्रियामा जाने अवस्था आयो भने महत्त्वपूर्ण व्यक्तिहरू छुट्न सक्छन् । त्यसलाई व्यवस्थापन गर्न ५१ जना सभापतिले अनुमोदन गर्ने व्यवस्था राखिएको हो’, उनले भने ।

महामन्त्री भूपदेव शाहले पनि सहमतिबाट नेतृत्व छनोटलाई प्राथमिकता दिएको बताए । धेरै समूह मिलेर रास्वपा बनेकाले सबैको प्रतिनिधित्व हुनेगरी नेतृत्व छनोट गर्ने उनको भनाइ छ । यद्यपि पदाधिकारीमा मनोनीत भनेर विधानमै व्यवस्था नगरिएको शाहले जिकिर गरे । यसबारे भोलि बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने उनले जानकारी दिए ।
‘पदाधिकारीमा केही सिट सङ्ख्या मनोनीत राख्ने हो कि भनेर छलफल भएको हो तर विधानमा त्यस्तो व्यवस्था छैन । केन्द्रीय समितिले यसबारे निर्णय गर्छ । एकता महाधिवेशन भएकाले नेतृत्व छनोट सहमतिबाटै हुन्छ’, शाहले भने ।
सचिवालय सदस्य पराजुलीले पदाधिकारीमा केही पदका लागि मनोनीत गर्ने व्यवस्था विधानमा राख्न सकिने बताए ।
उनले भने, ‘केही नेताको व्यवस्थापनका लागि पदाधिकारीको केही पदमा मनोनीत गर्न सकिन्छ ।’
पराजुलीले सभापतिमा रविको विकल्प पार्टीभित्र कसैले पनि नखोजेको दाबी गरे । पार्टीभित्र गुटको गुञ्जायस गर्नेको राजनीतिक भविष्य नै सकिने उनले चेतावनी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीभित्र गुटको गुञ्जायस जसले सिर्जना गर्छ, उसको राजनीतिक भविष्य त्यति सहज छैन भन्ने कुरा विगतका अन्य राजनीतिक दलहरूलाई हेरेर थाहा हुन्छ’, उनले भने, ‘जहाँसम्म नेतृत्वको विकल्पको कुरा उठेको छ, यसबारे रास्वपाभित्र कसैले पनि परिकल्पना गरेको छैन । नेपाली जनताले पनि माग गरेको छैन ।’

महाधिवेशनबाट सभापतिमा रवि नै दोहोरिने निश्चित देखिएको छ । वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह नै रहनेछन् । अन्य पदाधिकारीमा आकाङ्क्षीहरू धेरै देखिएका छन् ।
तीन वटा उपसभापतिमध्ये विधानमा एक जना महिला अनिवार्य गरिएको छ । उपसभापतिमा डा. स्वर्णिम वाग्ले नै दोहोरिने देखिन्छन् । अर्को एक पुरुष उपसभापतिमा गणेश पराजुली, सुनिल लम्साल, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, मनिष झा, हरि ढकाल लगायत बलियो दाबेदार छन् । लम्साल बालेन समूहका हुन् । एक महिला उपसभापतिमा समीक्षा बास्कोटा, प्रतिभा रावल, सोबिता गौतम, लिमा अधिकारी, डा. तोसिमा कार्की, कुशुम श्रेष्ठ लगायत दाबेदार छन् ।
दुई महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह नै दोहोरिने सम्भावना बलियो देखिन्छ । यद्यपि उपसभापति बन्न नपाए महामन्त्रीमा गणेश पराजुलीले दाबी गर्ने देखिन्छ । सहमहामन्त्री विपिन कुमार आचार्य पनि बलियो दाबेदार हुन् ।
पाँच जना सहमहामन्त्रीमध्ये एक जना महिला अनिवार्य गरिएको छ । यस पदका लागि अहिलेसम्म खुलेको नदेखिए पनि दीपक बोहरा, क्रान्तिशिखा धिताल, सागर ढकाल, बसुमाया तामाङ, प्रकाशचन्द्र परियार लगायतको चर्चा छ । यी बाहेक प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ ।
महाधिवेशन सुरु हुनुभन्दा अगाडि रास्वपाले चितवनमा शनिबार केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले महाधिवेशन कार्यविधि र विधान मस्यौदा अनुमोदन गर्नेछ । बैठकले महाधिवेशन व्यवस्थापन तथा बदसत्र सञ्चालनका लागि आवश्यक निर्णय गर्ने नेताहरूले बताएका छन् ।
महाधिवेशनको पहिलो चरणमा सभापति र एक सय केन्द्रीय समितिको निर्वाचन हुनेछ । दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट बाँकी पदाधिकारीको निर्वाचन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
-
देशभर किन बढ्यो रेबिजविरुद्ध खोपको अभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण