बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आठ वर्षीया बालिकालाई बलात्कार गर्नेलाई दश वर्ष जेल

बुधबार, ०६ पुस २०७३, १० : ०१
बुधबार, ०६ पुस २०७३

ताप्लेजुङ - जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल सजाय सुनाएको छ ।

अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले भोटे भनिने चोङवाङलाई करणी अभियोगमा दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

जिल्ला अदालतका श्रेस्तेदार गोपालप्रसाद थापाका अनुसार गएको असार २६ गते चोङवाङले रु ५० दिन्छु भनी आठ वर्षीया बालिकालाई ललाइफकाइ मकैबारीमा लगेर जबर्जस्ती करणी गरेका थिए । बालिका रुँदै गरेको अवस्थामा अभिभावकले फेला पारी सोधपुछ गर्दा बालिकाले बताएको बयानका आधारमा अभिभावकले प्रहरीमा उजुुरी गरेका थिए ।

प्रहरीले असार २८ गते पक्राउ गरी ल्याएका चोङवाङलाई अदालतले साउन २१ गते पुर्पक्षमा राखी अनुुसन्धान गर्न आदेश दिएको थियो । चोङवाङ अहिले जिल्ला कारागारमा थुनामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप