बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेश गएका पनि फर्किए : बोका–पाठी बेचेर १५ लाख आम्दानी

बुधबार, ०६ पुस २०७३, ११ : १४
बुधबार, ०६ पुस २०७३

मोरङ - “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु रु”

यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीको ।

सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । दुई बुढाबुढी, कान्छो छोरो अनि एकजना सहयोगीका साथ बाख्रापालन गरिरहनुभएका सुवेदीको पहिलो भनाइ छ–“पैसा कमाउन खाडी गइरहनु नपर्ने रहेछ । उनले विसं २०७० को असारमा सुरु गर्नुभएको हो । बाख्रापालन व्यवसायले काम र दाम मात्र होइन सामाजिक सम्मान पनि दिइसकेको उनको भनाइ छ ।

अहिले सुवेदीको गोठमा १०० भन्दा बढी बाख्रापाठा छन् । स्थानीय जातका बाख्रामा उन्नत जातको बोको लगाएर उत्पादन गरिएका बोका–पाठीको माग धान्न उनलाई हम्मे–हम्मे छ ।

जन्मिने बित्तिकै ‘बुक’हुन्छ –फणीन्द्रकी पत्नी सावित्राले हौसिँदै भनिन्– “दुई बिगाहा जग्गामा धान खेती गर्दा पनि घरको गर्जो टार्न नसकेर छोरालाई वैदेशिक रोजगारमा पठाउनु भएका फणीन्द्रले बाख्रापालनमा पैसा देखेपछि जेठो छोरा टेकनाथलाई पनि घर बोलाएको बताए ।

आफ्नै घरमा व्यवसाय गर्न छोरालाई बोलाएको सावित्राको भनाइ छ । उनीहरूले अहिले धान रोप्न छोडेर एक बिगाहामा उन्नत जातको बाख्राको घाँस लगाउनु भएको छ । तीन वर्षको अवधिमा बाख्रापालनमा उनको रु १० लाख लगानी भइसकेको छ । तर, लगानी भएसँगै बोकापाठी बेचेर उहाँले झन्डै वार्षिक रु १५ लाख आम्दानी लिइसक्नु भएको छ ।

सय पचास माउ बाख्रा बनाउने लक्ष्यका साथ व्यवसायमा होमिनु भएका सुवेदी भन्छन्– अहिले भएका बाख्रा र तीनवटा बोकाको न्यूनतम मूल्य नै रु पाँच लाखभन्दा धेरै हुन्छ ।

व्यवसाय गर्न छिमेकी गाविस बयरवन–१ हरकपुरको बालसूर्य बचत तथा ऋण सहकारी संस्था लिले युवा स्वरोजगार कोषको रु दुई लाख कर्जा उपलब्ध गराएको हो । सोही रकमलाई परिचालन गरी व्यवसाय सुरु गर्नु भएका सुवेदी आगामी दिनमा मासुको लागि खसी पनि पाल्ने सोचाइमा हुनुहुन्छ ।

बोका–पाठीको माग धान्नै गाह्रो भएकाले हाललाई यही व्यवसाय विस्तार गर्ने उनले बताए । जिउँदो बोका प्रतिकेजी रु एक हजार र पाठी प्रतिकेजी रु ७०० का दरले बिक्री गरिरहनु भएका सुवेदी आफ्नै गाउँमा अझै ८–१० वटा फर्म सञ्चालन गर्नु पर्ने बताउनु हुन्छ । तीन महिनाको बोको २०–२२ केजीको हुन्छ । यही मूल्यमा बेच्दा पनि एउटा बोकाको मूल्य सामान्यतया रु २० हजार पर्छ । उनले पैसा कमाउन विदेश गइरहनु नपर्ने तर्क दिँदै भने ।

मुलुकका धेरै स्थानमा युवा स्वरोजगार कोषको रकम दुरुपयोग भइरहेको खबर सञ्चारमाध्यममा आइरहेका बेला बालसूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमचन्द्र भण्डारीले भने आफ्नो संस्थामार्फत लगानी भएको रकम साँच्चीकै आयआर्जनमा लगानी भएको बताए ।

भण्डारीका अनुसार संस्थाले गाईभैँसी पालन, कुखुरा पालन, बङ्गुर पालन, व्यापार र घरेलु उद्योगमा रु ४० लाख लगानी गरेको छ । सबै सेयर सदस्यले लगानीलाई आयआर्जनमा परिचालन गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप