डाक्टरका कुरा : मुटुरोगको झुक्याउने लक्षण
अधिकांशको सोचाइ हुन्छ, मुटुमा समस्या आउँदा त पीडा मुटुमै हुन्छ नि, मुटु चस्किने, ढकढक हुनेजस्ता लक्षण नदेखिएपछि त मुटु ठीक नै हुन्छ नि । तर, अलिकति हिँडेपछि निकै असहज तरिकाले स्याँ–स्याँ भयो भने फोक्सोमा समस्या रहेछ भनेर सोच्नु गलत हुने चिकित्सकहरूले चेतावनी दिएका छन् । यस्तो झुक्याउने लक्षण मुटुरोगको पनि हुने मुटुरोग विशेषज्ञ डा. मिलनप्रकाश श्रेष्ठ बताउँछन्ः
कार्डियोमायोप्याथी समस्या
अलिकति हिँड्दा, सिँढी चढ्दा या केही शारीरिक बल लगाउँदा स्याँ–स्याँ भएर सास फेर्नै गाह्रो भयो भने मुटुमा समस्या भएको हुन सक्छ । मुटु सुन्निएर ठूलो भएको अवस्थामा यस्तो हुन्छ । जुन लक्षण सीधा मुटुसँग सम्बन्धित नरहेको जस्तो देखिन्छ । यसकारण पनि यसले झुक्याउँछ । मुटु सुन्निने कारण धेरै हुन्छ । यसमध्ये एउटा हो, डाइलेटेड कार्डियोमायोप्याथी । यो समस्या मुटुको मांसपेशीको रोग हो । यो समस्याको मुख्य कारण पनि अहिलेसम्म खोजीको विषय बनेको छ । अधिकांश बिरामीलाई कार्डियोमायोप्याथी भएको धेरै वर्षसम्म पनि कुनै लक्षण देखिँदैन । कुनै समयमा आएर मात्रै लक्षण देखिन्छ ।
समस्या आउने प्रक्रिया
मुटु सुन्निँदै गएपछि मुटुको पम्प गर्ने क्षमतामै कमी हुन पुग्छ । पम्प नभएपछि फोक्सोमा सफा भएर आउनुपर्ने रगतको गति कम हुन जान्छ । खुट्टातिरबाट मुटुमा आउनुपर्ने रगतको गति पनि कम हुन्छ । मुटुले राम्रोसँग पम्प गर्न नसकेपछि शरीरका विभिन्न अंगबाट मुटुमा फर्किनुपर्ने रगतको गतिमा सुस्तता आएपछि सास फेर्न असहज हुने लक्षणका रूपमा रोग बाहिर देखिन्छ । मुटुमा यस्तो समस्या आउँदा पत्याउनै नसकिने या अन्य रोगको शंका लाग्ने केही लक्षण देखिन्छन् । जस्तैः हातगोडा सुन्निने, पेट फुल्ने, शरीर फुल्ने आदि ।
यस्ता व्यक्तिलाई खतरा
कार्डियोमायोप्याथी समस्या हृदयाघात भइसकेका वा लामो समयसम्म उच्च रक्तचाप भएका व्यक्तिलाई पनि देखिन सक्छ । लामो समयसम्म रक्सी सेवन गर्ने तथा महिला गर्भवती भएको अवस्थामा पनि देखिन सक्छ । यसैगरी, यो समस्या वंशाणुगत पनि हुन सक्छ । त्यसो त सामान्य व्यक्तिमा पनि यो रोग निम्तिन सक्छ ।
सचेत हुनुपर्ने पाटो
यो रोग हो कि होइन भन्ने कुरा जाँच गरेपछि पत्ता लागिहाल्छ । तर, इसिजीमा मात्रै नदेखिन पनि सक्छ । यो रोगको सुगरसँग पनि कुनै प्रत्यक्ष सरोकार छैन । सुगर र प्रेसरका बिरामीलाई हृदयाघातको खतरा भने सधैँ उच्चचाहिँ रहन्छ । यस्ता बिरामीले डाक्टरले भनेअनुसार आफ्नो स्वास्थ्य जाँच नियमित गराउनुपर्छ । यस्तै, सामान्य व्यक्तिले पनि कोलेस्ट्रोल र मिर्गौलाको कार्यक्षमता बुझ्न रगत जँचाउनुपर्छ । कम्तीमा ६ महिनामा एकचोटि इसिजी, इको, टिएमटी आदि जाँच गरेर मुटुको अवस्था बुझ्नुपर्छ । रोग लागिसकेको भए पनि उपचार गरेर भविष्यमा हुन सक्ने क्षतिबाट जोगिन सकिन्छ । कार्डियोमायोप्याथी भएको थाहा भएपछि केही औषधि सेवन गर्नुपर्छ । एक हप्तामै औषधिले पूर्ण असर देखाउँछ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
-
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
-
लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने छ चालक नियन्त्रणमा
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
संसद्का दुई समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण