बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
सारांश
- अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।
- मेची राजमार्ग, मध्य पहाडी लोकमार्ग, बिपी राजमार्ग, कान्तिलोकपथ, कालीगण्डकी करिडोर, भेरी करिडोर र जुम्लाको भित्री सडक खण्डहरूमा बाढी र पहिरोका कारण अवरोध आएको छ।
- सडक विभाग र सुरक्षा निकाय अवरुद्ध सडकहरू खुलाउन सक्रिय छन्।
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी मात्र सञ्चालनमा आएका छन्।
इलाम जिल्लाको माई नगरपालिका–९ राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि हाल वैकल्पिक बाटोको प्रयोग गरी एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशका मुख्य सडकहरूमा बढी असर देखिएको छ। काभ्रेको बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्तिलोकपथको दुई स्थानमा अवरोध छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ भन्ज्याङडाँडामा पहिरोका कारण र ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुमा अविरल वर्षाका कारण यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उता लुम्बिनी प्रदेशको गुल्मी जिल्लास्थित कालीगण्डकी करिडोरकै पाौदी खण्डमा भने पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सुचारु गरिएको छ।
कर्णालीमा भेरी करिडोर र भित्री सडकहरू प्रभावित भएका छन्। रुकुम पश्चिमको आठबिसकोट–६ रिजेगार्डमा बाढीका कारण भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीदेखि तातोपानी–७, ८ तामती जोड्ने भित्री सडक खण्ड पनि पहिरोका कारण ठप्प भएको छ।
सडक विभाग र सुरक्षा निकायले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण