तरकारी खेतीबाट बुबाको सपना साकार पार्दै हिदराज
बाँके - नेपालगन्ज उपमहानगरपालिका–२४ बन्जाडे गाउँका हिदराज अली बेहनाले तरकारी खेती गरी आफ्नो बुबाको सपना साकार पारेका छन्।
आजभन्दा ५ वर्षअगाडि वैदेशिक रोजगारका लागि आफूलाई थाहै नदिई राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय नेपालगन्ज पुग्नुभएका आफ्ना बुबाको ‘छोराले धेरै पैसा कमाओस्’ भन्ने चाहनालाई आफूले स्वदेशमै व्यावसायिक तरकारी खेती गरेर पूरा गरेको बेहनाले बताए ।
“त्यतिबेला हाम्रो घरको स्थिति निकै कमजोर थियो,” बेहनाले भने – “बुबाले रुपैडियाबाट तरकारी किनेर अनि त्यसलाई बेचेर हामीलाई पढाउनुहुन्थ्यो ।” उनका अनुसार विदेश गएर धेरै पैसा कमाओस् र खेत किनोस् भन्ने बुबाको चाहना थियो ।
“बुबाको विदेश पठाउने इच्छा त मैले पूरा गर्न सकिनँ तर तरकारी लगाउने खेत किन्ने र तरकारी खेती गर्ने सपना भने पूरा गरँे,” बेहनाले भने । पाँच वर्षअघि कक्षा ८ मा पढ्ने १८ वर्षीय बेहनाले बुबालाई तरकारी खेतीबाट आम्दानी हुन्छ भन्ने विश्वास दिलाउँदै सुरुमा अरूको दुई कट्ठा जमिन ठेक्कामा लिएर तरकारी खेती सुरु गरे । “सुरुमा ३० हजार रुपैयाँ लगानी गरी दुई कट्ठा जमिनमा टमाटर मात्रै लगायौँ,” बेहनाले भने – “त्यो टमाटर खेतीबाट ६० हजार आम्दानी भयो ।”
पहिलो खेतीबाटै सफलता प्राप्त भएपछि बिस्तारै अरू तरकारी लगाउन थप दुई कट्ठा जमिन ठेक्कामा लिई तरकारी खेती गरेको उनले बताए । “बिस्तारै रकम जम्मा गरेपछि हामीले तरकारी खेतीबाटै नौ कट्ठा जमिन किन्यौँ, अहिले आफ्नै नौ कट्ठा जमिन र चार कट्ठा ठेक्कामा गरी १२ कट्ठा जमिनमा भन्टा, गोभी, टमाटर, फर्सी लगायतका तरकारी खेती गरिरहेका छौँ,” बेहनाले भने ।
तरकारी खेतीबाटै आफ्नो र बहिनीको बिहे सम्पन्न गरेका बेहनाले अहिले घर बनाउन इँटासमेत किनिसकेका छन् । “म विदेश गएको भए यसरी कमाउन सक्थें कि सक्दिनथें थाहा छैन तर आफ्नै परिवारसँग बसेर तरकारी खेती गर्न पाउँदा निकै सन्तुष्ट छु,” बेहनाले भने – “तरकारी खेतीमा अहिले परिवारका सबै बुबा, आमा, श्रीमती, बहिनी, भाइ र म खटिरहेका छौँ ।” तरकारी खनजोत गोडमेलका लागि दैनिक तीन–चारजना कामदारसमेत राखिएको छ ।
वर्षमा दुई याम तरकारी लगाउने बेहनाले घरखर्च, कामदार, बीउबिजन, भाइबहिनीको पढाइ सबै खर्च कटाएर चोखो रु दुईदेखि अढाइ लाखसम्म आम्दानी गरिरहेका छन् । “मैले उत्पादन गरेको तरकारी बेच्नलाई समस्या छैन, बारीमै तरकारी किन्न ग्राहक आउँछन्,” बेहनाले भने – “बाँकी तरकारी यहाँबाट नेपालगन्ज रानीतलाउ तरकारी मण्डीमा साइकलमा लैजान टाढा हुने भएकाले अब अटो रिक्सा किन्ने सोचमा छु ।”
व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरनुभएका उहाँ युवालाई वैदेशिक रोजगारको मोह त्यागी स्वदेशमै केही आयमूलक कार्य गर्न सुझाव दिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण