सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘सिग्नेचर’ को डब्बाभित्र ३३ किलो सुन : एसपी मिरा चौधरीको कमाण्डमा यसरी समातियो (भिडियोसहित)

बिहीबार, २१ पुस २०७३, १९ : ०२
बिहीबार, २१ पुस २०७३

 काठमाडौं– नेपालगञ्जका गोपाल बहादुर शाही बुधवार एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिए । दुबईबाट आएका शाहीको साथमा दुईओटा सुट्केश थिए, जसमा ‘सिग्नेचर’ नामक मदिराको बोतल जस्तै आकारको फलामको डिब्बामा निकै ब्यवस्थित तरिकाले प्याक गरिएको २८२ ओटा सुनका बिस्कुट, १९ ओटा औंठी र १८ ओटा सिक्री समेत गरी कुल ३३ किलो सुन थियो !

त्यतिधेरै सुन भएको सुट्केस एयरपोर्ट भन्सारमा छाडेर शाही त्रिभुवन विमानस्थलबाट बाहिरीए ।

बिहिबार मध्यान्ह बा.२ ज २९१५ नम्बरको ट्याक्सी चढेर एयरपोर्ट पुगेका शाहीले आफ्नो सुटकेस सजिलै भन्सार पार गरेर बाहिर ल्याए, अनि ट्याक्सीमा राखे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट एसपी मिरा चौधरीको कमाण्डमा खटिएको सादा पोशाकका प्रहरीले उनको ट्याक्सीलाई विमानस्थलबाटै पछ्याईरहेको थियो । पिंगलास्थान आईपुगेपछी शाही पक्राउ परे ।

शाहिले ल्याएको सुन लिन अरु दुईजना बा.४ च ९११४ नम्बरको कार चढेर गएका थिए । तर दुबईबाट आएको सुन हात नपर्दै मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले पनि समातिए ।

केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले महानगरीय प्रहरी वृत गौशालामा पत्रकारको रोहबरमा सुट्केस खोलेको थियो । ‘हामीले ३३ किलो सुन बरामद गर्न सफल भएका छौं’ रातोपाटीसँग कुरा गर्दै एसपी मिरा चौधरीले भनिन्, ‘सूचनाका आधारमा हामीले सुन कारोवारमा संलग्नहरुलाई पछ्याएका थियौं ।’

फलामको डिब्बाभित्र कार्बनको कभर राखेर ल्याएको सुनका विस्कुटलाई प्लाष्टिकको कालो टेपले निकै मेहनतका साथ बेरिएको थियो । त्यस्तै डिब्बाको बाहिरी भागलाई घिउ कलरको टेपले बेरिएको अवस्थामा प्रहरीले ठुलो परिणामको सुन बरामद गरेको हो ।

विदेशबाटै आएको सूचनाका आधारमा ठुलो परिमाणको सुन बरामद गर्न सफल भएको जानकारी दिँदै केन्द्रिय अनुसन्धान ब्युरोका डिआईजी नवराज सिलवालले भने, ‘सिन्डीकेटले काम गरेको छ भन्नेकुरा थाहा पाएका थियौं, अब थप अनुसन्धान शुरु गर्छौँ ।’

एयरपोर्टमा चौबिसै घण्टा ड्युटीमा रहने प्रहरी र भन्सारका कर्मचारीको आँखा छलेर यत्ति धेरै सुन कसरी पास भयो भन्नेबारे गम्भिर प्रश्न उठेको छ । एयरपोर्ट प्रहरी स्रोतका अनुसार भन्सारमा सामानको एक्सरे गर्न प्रहरीलाई बन्देज गरिएको छ । कर्मचारीले एक्सरे गरेर सामान पास गर्ने हुनाले भन्सारका कर्मचारीको मिलेमतोमा सुन पास गरिएको हुनसक्ने बताईएको छ ।

कारमा सुन लिन आएकाले भने, ‘एक अर्कालाई चिन्दैनौं’

कार चढेर सुन लिन आएका जनकपुरका सन्तोष काफ्लेले दुवईबाट अबैध तरिकाले सुन ल्याउने गोपाल बहादुर शाही र सँगै आएका दिलबन्धुलाई समेत आफुले नचिन्ने बताएका छन् ।

‘हामी एक अर्कालाई चिन्दैनौं’ गौशाला प्रहरी कार्यालमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘साहु को हो, भन्ने पनि थाहा हुँदैन, उनिहरुले बेला–बेला फोन गरिरहन्छन् जहाँ भन्छन् हामीले त्यहिँसम्म लगेर छाडिदिने हो ।’

मधेश आन्दोल भन्दा अगाडी सन्तोष काफ्ले जनकपुरमा कहलिएका गुण्डा थिए । संजय टकला सांसद बन्नुअघि उनको प्रतिस्पर्धी यिनै काफ्ले थिए । जनकपुरमा टेण्डर कब्जा गर्ने सवालमा टकला र सन्तोषको प्रतिस्पर्धा चल्थ्यो । संजयलाई टक्कर दिने यिनै काफ्ले मात्र थिए ।

मधेश आन्दोलन पछि संजय राजनीतिक नेताका रुपमा उदाए र सांसद भए ।

त्यसपछी संजयको पेलानमा परेका सन्तोष सुन तस्करी तिर लागेका थिए । उनि निकटस्थहरुका अनुसार केही बर्षयता काफ्ले लगातार दुवई आउने जाने गरिरहन्थे ।

यसरी धेरै बर्षपछी ठुलो परिमाणमा फेला परेको सुनको मालिक को थियो भन्नेबारे अझै अन्योल छ । ‘सुन कसको हो’ भन्नेबारे अनुसन्धान गरिने सिआईबीका प्रमुख डिआईजी नवराज सिलवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप