बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुटु सुन्निए यस्तो समस्या आउँछ

शुक्रबार, ११ चैत २०७३, ११ : ४८
शुक्रबार, ११ चैत २०७३
मुटु सुन्निने समस्या अधिकांश मुटुरोगीमा देखिने गरेको छ । अन्य रोग लागेजस्तो झुक्याउने लक्षण देखिने यो रोग मुटुको मांसपेशीसम्बन्धी समस्या हो । मुटु सुन्निएर समस्या कस्तो निम्तिन  सक्छ ? डा. मिलनप्रकाश श्रेष्ठ भन्छन् : मुटु सुन्निने समस्यालाई मेडिकल भाषामा कार्डियोमायोप्याथी भनेर बुझिन्छ । मुटु सुन्निदा बाहिर ठूलो समस्या तथा लक्षण देखिँदैन तर, भित्र गम्भीर असर गरिरहेको हुन्छ । सुन्निएको मुटुको रगत पम्प गर्ने क्षमता कम हुन्छ । मुटु जति धेरै सुन्निँदै जान्छ उति नै रगत पम्प गर्ने क्षमतामा ह्रास आउँछ । मुटुले रगत पम्प नगरेपछि फोक्सोमा आउनुपर्ने सफा रगतमा कमी हुन जान्छ । फोक्सोमा आवश्यक सफा रगत पूर्ति नहुँदा विभिन्न रोगको समस्या नम्तिन सक्छ । फोक्सोमा सफा रगत कम हुँदा गोडातिरबाट मुटुमा आउने रगतको गति पनि कम हुन्छ । मुटुको रगत पम्प गर्ने क्षमता निकै नै कमजोर भएपछि शरीरका विभिन्न अंगबाट मुटुमा फर्किनुपर्ने रगतको गतिमा पूरै सुस्तता आउँछ र रोगीलाई श्वास फेर्न असहज हुन्छ । मुटुले रगत निकै कम पम्प गरेर श्वासप्रश्वासमा समस्या निम्तिएपछि मात्रै बाहिर लक्षण देखिन्छ । तर, अन्य कारणले पनि स्याँ–स्याँ हुने भएकाले मुटु सुन्निएको अवस्थामा देखिने लक्षण झुक्याउने खालको हुन्छ । यो अवस्थामा हातगोडा सुन्निने, पेट फुल्ने, शरीर फुल्नेजस्ता लक्षण पनि देखिन्छन् । उकालो–ओरालो गर्दा श्वास फेर्न गाह्रो हुन्छ । लामो समयदेखि उच्च रक्तचापका रोगी तथा हृदयाघात भइसकेका व्यक्तिको मुटु सुन्निने सम्भावना बढी हुन्छ । लामो समयदेखि निरन्तर रक्सी सेवन गर्नेलाई पनि समस्या देखिन्छ । गर्भवती महिलाको अकस्मात् मुटु सुन्निन सक्छ । यो समस्या वंशाणुगत पनि हुन सक्छ । मुटुसम्बन्धी जाँच गरेपछि सुन्निएको अवस्था बुझ्न सकिन्छ । रोग लागिसकेको भए वेलैमा उपचार गरेर भविष्यमा हुन सक्ने क्षतिबाट जोगिन सकिन्छ । कार्डियोमायोप्याथी भएको थाहा भएपछि केही औषधि सेवन गर्नुपर्छ । औषधिले एक हप्तामै पूर्ण असर देखाउँछ । मुटु सुन्निने समस्याको समाधान वेलैमा नखोजे अन्ततः रगत पम्प नै नहुने अवस्थामा पुग्ने र शरीरका अंगहरूको सञ्चालनमै समस्या निम्तिएर व्यक्तिको ज्यान जान सक्छ । नयाँ पत्रिकाबाट    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप