बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै

बिहीबार, २५ असार २०८३, १४ : ३०
बिहीबार, २५ असार २०८३

सारांश

  • मकवानपुरको सुपिङमा 'स्वस्थ शरीर, स्वस्थ सृजना' नारासहित दुईदिने ‘आरोग्य साहित्यिक यात्रा’ आयोजना गरिने भएको छ।
  • कार्यक्रममा कलाकार, साहित्यकार, आध्यात्मिक अभियन्ता, सञ्चारकर्मी, लेखक, निर्देशक, कवि, गायिका लगायतको सहभागिता रहनेछ।
  • यात्रामा ध्यान, योग, हाइकिङ, अर्गानिक भोजन र आरोग्यसम्बन्धी अन्तरक्रिया तथा विमर्श गरिनेछ।

काठमाडौँ । नेपाली साहित्य र आरोग्य क्षेत्रलाई जोड्ने उद्देश्यसहित मकवानपुरको सुपिङमा दुईदिने ‘आरोग्य साहित्यिक यात्रा’ आयोजना हुने भएको छ।

‘स्वस्थ शरीर, स्वस्थ सृजना’ भन्ने मूल नारासहित असार २९ र ३० गते हुने कार्यक्रमको पहिलो संस्करण मकवानपुरको सुपिङस्थित ‘सुपिङ गर्ज क्याम्प’मा आयोजना गर्न लागिएको हो। कलाकार, साहित्यकार तथा आध्यात्मिक अभियन्ता सोविता सिंखडाले यसको परिकल्पना तथा संयोजन गरेकी छन्।

आयोजकका अनुसार स्रष्टा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुँदा उनका सिर्जनाले समाजमा सकारात्मक रूपान्तरण ल्याउन सक्ने विश्वासका साथ अभियान सुरु गरिएको हो।

कार्यक्रमका सल्लाहकारमा मदन पुरस्कार विजेता वरिष्ठ कथाकार महेशविक्रम शाह रहेका छन् भने पूर्वमुख्यसचिव तथा आरोग्य अभियन्ता बैकुण्ठ अर्यालको विशेष सहभागिता रहनेछ। कार्यक्रम व्यवस्थापनको जिम्मेवारी देवेन्द्र नेपालले सम्हाल्नेछन्।

दुईदिने यात्रामा मदन पुरस्कार विजेता आख्यानकार नारायण वाग्ले र अमर न्यौपाने, आख्यानकार नयनराज पाण्डे, अभिनेता तथा लेखक–निर्देशक खगेन्द्र लामिछाने, उपन्यासकार सुविन भट्टराई, लेखक तथा निर्देशक अविनाशविक्रम शाह र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चलचित्र निर्देशक मीन भाम सहभागी हुनेछन्।

यस्तै, वरिष्ठ सञ्चारकर्मी टीकाराम यात्री र निराजन भण्डारी, लेखक तथा नागरिक अभियन्ता अर्चना थापा, गजलकार बाबु त्रिपाठी, कलाकार सुशील सिटौला, लेखक तथा राजनीतिक विश्लेषक केशव दाहाल, लेखक तथा पत्रकार शेखर खरेल, कवि रिमा केसी, गायिका सोफिया थापा, उपन्यासकार प्रभा बराल, लेखक तथा पत्रकार क्षितिज समर्पण तथा कवि शान्ति प्रियवन्दनालगायतको पनि सहभागिता रहने जनाइएको छ।

कार्यक्रमअन्तर्गत ध्यान र योग, सुपिङको प्राकृतिक वातावरणमा हाइकिङ, स्थानीय उत्पादनमा आधारित अर्गानिक शाकाहारी भोजन तथा आरोग्यसँग सम्बन्धित अन्तरक्रिया र विमर्श गरिनेछ।

कार्यक्रमको हस्पिटालिटी पार्टनर ‘सुपिङ गर्ज क्याम्प’ र ब्रोडकास्टिङ पार्टनर ‘एपी वान एचडी’ टेलिभिजन रहेका छन्।

आयोजकका अनुसार समाजमा प्रभाव पार्ने स्रष्टामार्फत आरोग्य र स्वस्थ जीवनशैलीको सन्देश आम नागरिकसम्म पुर्‍याउनु कार्यक्रमको मुख्य उद्देश्य हो। स्रष्टाले यात्राबाट प्राप्त अनुभवलाई आफ्ना सिर्जना र विचारमार्फत समाजमा फैलाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप