नयाँ शक्तिका उम्मेदवारको ‘स्वेच्छिक अपहरण’ को यसरी खुल्यो पोल
राजेश भण्डारी
काठमाडौँ, वैशाख २२ – काठमाडौँस्थित नागार्जुन नगरपालिका–७ को वडा अध्यक्षको उम्मेदवार थिए मदन गिरी । नेपाली सेनाका पूर्व जम्दार समेत रहेका गिरी पुरानो कांग्रेस कार्यकर्ता हुन् ।
कराँतेको तालिम समेत लिएका गिरी दुई चार जनालाई सजिलै पछार्ने हैसियत राख्थे, तर तिनै गिरी गत बुधवार साँझ सजिलै अपहरणमा परेको खबर सार्वजनिक भयो ।
पुरानो कांग्रेस कार्यकर्ता भए पनि भर्खरै गठन भएको नयाँ शक्तिबाट वडा अध्यक्षको उम्मेद्वारी दर्ता गरेपछी गिरी काठमाडौँको सोह्रखुट्टेमा आफ्नो गाडी धुनका ‘कार वास सेन्टर’ मा पुगेका थिए । कार वास सेन्टरमा पुग्नासाथ अपहरणमा परेको खबर आएसँगै प्रहरीले उनको खोजी तिब्र पारेको थियो ।
‘अपराध महाशाखा, महानगरीय प्रहरी कार्यालय र परिसरबाट समेत पाँचओटा टोली बनाएर हामीले वहाँको सर्च अपरेशन चलायौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले भने, ‘हिजो राती अबेरसम्म पनि खोज्यौं, आज बिहान वहाँ अचानक परिवारको सम्पर्कमा आएपछि हामीले उद्दार गरेर ल्याएका छौं ।’
कार वास सेन्टरबाट तीन जनाको समुहले अपहरण गरेको भनिएका गिरीले प्रहरीलाई रातभर जंगलमा बसेको र विहान आफूले सबैलाई कुटेर अपहरण मुक्त भएको प्रारम्भिक बयान दिएका छन् । उनको बयानप्रति प्रहरी सन्तुष्ट हुन सकेको छैन । गिरीले स्वेच्छिक अपहरणको नाटक गरेको हुनसक्ने आशंकाका आधारमा प्रहरीले यो प्रकरणमा सहयोग गर्नेहरुमाथि अनुसन्धान शुरु गरेको छ ।
‘उनको गाडी वासिङ सेन्टरमै फेला परेको छ, उम्मेदवारलाई सकुसल उद्धार गरेका छौँ’ महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले भने, ‘बाँकी अनुसन्धान भईरहेको छ ।’
यसरी खुल्यो स्वेच्छिक अपहरणको पोल !
काठमाडौंबाटै उम्मेद्वार अपहरणमा परेको सूचना आएपछि काठमाडौँ प्रहरीमाथि तनाव बढेको थियो । सोही दिन गाडी भेटिएपनि मान्छेको अत्तोपत्तो लागेन । विप्लव माओवादीले अपहरण गरेको आशंकमा प्रहरीले विप्लव माओवादीका मान्छेहरुलाई नियन्त्रणमा लिएर सोछपुछ गरेको थियो, तर अपहरणमा विप्लव माओवादीको संलग्नता खुल्नै सकेन ।शुक्रवार विहान अचानक मदनले आफू अपहरण मुक्त भएको भन्दै आफन्तलाई फोन गरे । त्यो खबर प्रहरीकोमा ठोक्कियो । प्रहरी गोदावरी पुग्दा उनी जंगल छेउको सडकमा थिए । उनलाई गोदावरीबाट ल्याएर महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
मदन अपहरणमा नपरेको बरु नाटक गरेको आशंकमा प्रहरीले अपहरण काण्डका डिजाइनहरुबारे अनुसन्धान शुरु गरेको प्रहरी स्रोतको भनाई छ ।
नागार्जुन–७ मा नयाँ शक्तिको तर्फबाट उम्मेद्वारी दर्ता गरेपनी उनी कांग्रेस कार्यकर्ताको बीचमा प्रिय थिए । उनको उम्मेदवारीले स्थानीय निर्वाचनमा कांग्रेसलाई धक्का लाग्ने स्वभाविक थियो । १९ गते उम्मेद्वारी दर्ता गरेपछि २१ गते ५ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय थियो । कांग्रेसले अनेक प्रलोभन देखाएर गिरीको उम्मेद्वारी फिर्ता गराउने सक्ने हुनाले नयाँ शक्तिकै कार्यकर्ताले उनलाई लुकाएर अपहरणको हल्ला चलाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
अपहरणमा परेको दिन गिरीले नयाँ शक्तिकै प्रताप दानीको मोवाईलमा मेसेज गरेर आफु अपहरणमा परेको कुरा जानकारी गराएका थिए । अपहरण मुक्त भएको कुरा पनि उनले आफैंले खबर गरेपछि थाहा भएको छ । गिरीले अपहरणकारीलाई जंगलमै कुटेर भागेको बयान दिएपनी प्रहरीले पत्याएको छैन ।
‘गिरी सम्पर्कविहीन हुनुको कारण खोज्दैछौं’ अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले भने, ‘सम्पर्क विहीन गराउन भुमिका खेल्नेहरुलाई कारवाही हुन्छ ।’
बिहीबार साँझ उम्मेद्वारी फिर्ता लिने समय घर्केपछि सम्पर्क विहीन गराउने समुहले उनलाई योजनाअनुसार नै सार्वजनिक हुन आग्रह गरेको हुनसक्ने बताइएको छ ।
गिरीका दुई श्रीमती सहित बालबच्चाहरु छन् । सौखिन शैलीका गिरी जग्गाको कारोबार समेत गर्थे । तर आर्थिका वा लेनदेनका काराण उनी सम्पर्कविहीन भएको तथ्य हालसम्म नखुलेको काठमाडौं प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण