चुनाव विरोधी गतिविधि रोक्न सुरक्षा निकाय सक्रिय, विप्लवलाई तनाव
राजेश भण्डारी
काठमाडौं, बैशाख २३– स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि समेत बढ्न थालेका छन् । शनिवार विहान चितवनमा पेट्रोल बम भेटियो भने धादिङ र नुवाकोटमा पनि उम्मेद्वारहरुको गाडीमा तोडफोड भयो ।
योसँगै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । ‘गाडी तोडफोडमा संलग्नहरुलाई नियन्त्रणमा लिएका छौं, चुनाव विरोधी गतिविधिमा संलग्न हुनसक्ने सम्भावित पक्षलाई पनि नजिकबाट वाच गरिरहेका छौं’, प्रहरी प्रवक्ता (एसएसपी) सर्वेन्द्र खनालले भने, ‘सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ, चुनाव विरोधी गतिविधि गर्ने जोसुकै भएपनि सजायको भागिदार हुन्छन् ।’
पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन हुने तीन प्रदेशहरु ३, ४ र ६ को निर्वाचन सुरक्षाका लागी नेपाली प्रहरीले ६१ हजार १४६ प्रहरी परिचालन गरेको छ । नेपाल प्रहरीकै कमाण्डमा रहने गरी ७५ हजार म्यादी प्रहरी खटिएका छन् ।
निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीतर्फबाट २२ हजार सुरक्षाकर्मी खटिएको जानकारी दिँदै शसस्त्र प्रहरी प्रवक्ता डिआईजी दिवाकर केसीले भने, ‘संयुक्त सुरक्षा प्लान अनुसार अगाडी बढ्छौं, निर्वाचन विरोधी गतिविधी हुन नदिन सक्रिय छौं ।’
निर्वाचन सुरक्षाका लागि ६० हजार नेपाली सेना, २२ हजार सशस्त्र प्रहरी, ६१ हजार नेपाल प्रहरी र ७५ हजार म्यादी प्रहरीलाई गृह मन्त्रालयको समन्वयमा परिचालन गरिएको छ ।
‘चुनाव विरोधी गतिविधी हुन नदिनेगरी सुरक्षा योजना बनाईएको छ, चुनाव विथोल्न खोज्ने जुनसुकै हैयिसतको ब्यक्ति वा समुह भएपनि पक्राउ गरेर मुद्धा चलाउँछौं’ गृह प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘पछिल्लो सयम चितवन र नुवाकोट लगायतका स्थानमा तोडफोमा संलग्न मध्ये केहीलाई नियन्त्रणमा लिईसकेका छौं ।’
निर्वाचन सुरक्षाका लागि आवश्यक रणनीति बनाएर प्रहरी र सेना परिचालन गरिएको जानकारी दिँदै पन्थीले भने, ‘निर्वाचन विरोधी गतिविधी क्षम्य हुँदैन ।’ निगरानीमा विप्लव वैशाख २० गते काठमाडौं स्थित नागार्जुन नगरपालिका–७ का वडाअध्यक्षका उम्मेद्वार अपहरणमा परेको खबर आउनासाथ काठमाडौं प्रहरीले विप्लवको पार्टी (नेकपा) का केही कार्यकर्तालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । निर्वाचन विरोधी कुनै गतिविधि भएमा शुरक्षा निकायले पहिले शंका गर्ने निकाय हो, विप्लवको नेकपा ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत एक उच्च अधिकारीले जिल्लाहरुमा विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिन सर्कुलर नै गरिएको रातोपाटीलाई बताएका छन् । गोप्य रुपमा प्रहरी प्रधान कार्यालयले चुनाव हुने प्रदेशहरुमा विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्धा चलाउन सर्कुलर गरेको बताईएको छ । ‘विप्लव माओवादीको गतिवीधिमा पनि केही कुराहरु भर पर्ने देखिन्छ’ प्रहरी प्रवक्ता खनाल भन्छन्, ‘पुर्वमा सक्रिय समुह र निर्वाचनमा भाग नलिने दलहरु निर्वाचनका लागी चुनौति हुन सक्छन्, तर नेपाल प्रहरी त्यस्तो चुनौति सामना गर्न तयार छ ।’
डिआईजिको कमाण्डमा निर्वाचन डेस्क नेपाल प्रहरीले कार्य विभागका डिआईजी पशुपति उपाध्यायको कमाण्डमा निर्वाचन डेस्क बनाएको छ । प्रहरी प्रधान कार्यालयमा रहेको सोही डेस्कले निर्वाचन शुरक्षा लगायतका कुरामा आवश्यक दिर्नेशन दिने र जिल्लाहरुमा समन्वय गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘सवै प्रदेशलाई कमाण्ड गर्नेगरी निर्वाचन डेस्क खडा गरिएको छ’ प्रवक्ता खनालले भने, ‘निर्वाचन क्षेत्रमा भएका गतिवीधीलाई एनालाईसिस गरेर आवश्यक कदम चाल्छौं ।’
नेपाल प्रहरीले निर्वाचन शुरक्षाका लागी हरेक जिल्लामा नयाँ मोटरसाईकल पठाएको छ । खनालका अनुसार टिभीएसको अपाचे मोटरसाईकल एउटा जिल्ला प्रहरी कार्यालयमा आठ ओटा सम्म पठाईएको छ ।
पहिलो चरणको निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले पुर्व क्षेत्रको जनशक्तिलाई मध्य क्षेत्रमा परिचालन गरेको छ भने सुदुर पश्चिममा रहेका प्रहरी कर्मचारीलाई मध्य पश्चिम क्षेत्रमा परिचालन गरेको छ ।
पश्चिम क्षेत्र र मध्य क्षेत्रमा भने प्रहरी प्रधान कार्यालमा रहेका प्रहरी कर्मचारीलाई परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अहिले प्रहरी प्रधान कार्यालमा रहेका कुल प्रहरी कर्मचारी मध्ये १० प्रतिशत मात्रै राखेर अन्यलाई निर्वाचन क्षेत्रमा खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
प्रहरी हुँ भन्दै रासबिता ट्राभल्समा पसेर कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण