शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय आवश्यकता सम्बोधनको प्रतिवद्धता खोज्दै सर्वसाधारण

शनिबार, २३ वैशाख २०७४, १६ : ००
शनिबार, २३ वैशाख २०७४

पोखरा, २३ वैशाख । स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा घरदैलोमा पुगेका उम्मेदवारसँग सर्वसाधारणले आफ्ना स्थानीय आवश्यकता सम्बोधनको प्रतिविद्धता खोजेका छन् । दुई दशकको समयावधिसम्म स्थानीय निर्वाचन हुन नसक्दा जनप्रतिनिधि बिहीनताको राम्रो अनुभव गरेका सर्वसाधारणलाई चुनावी गीत घन्काउँदै गाउँमा उम्मेदवार आउन थालेपछि स्थानीय विकासका सम्बन्धमा प्रतिबद्धता खोज्ने अवसर मिलेको हो । गाउँमा खानेपानी, बाटोघाटो जस्ता समस्या नै ठूला समस्याका रुपमा रहने गरेको बताउने भरतपोखरीका ऋषिराम भण्डारी घरघरमा भोट माग्न आउने उम्मेदवारलाई आफूहरूले गाउँका मुख्य खाँचोबारे नै जानकारी गराउने गरेको बताए । “ठूला कुरा गरेर भएन, गाउँका मुख्य समस्या भनेका खानेपानी र बाटोघाटोका समस्या नै हुन्,” उनले भने , “ गाउँका बाटो हिउँदमा मात्र हिँडनलायक हुन्छन्, वर्षा लागेसँगै जोखिमपूर्ण यात्रा गर्नु सर्वसाधारणको बाध्यता बन्ने गरेकाले पक्की सडक बनाउने लगायतका विषयमा उम्मेदवारसँग प्रतिवद्धता माग्ने गरेका छौं ।” स्थानीय तह निर्वाचनका उम्मेदवारले वास्तविक जनताले के चाहेका छन् भन्ने कुरालाई गम्भीरताका साथ लिनुपर्ने कास्की कालिकाका हरिबहादुर थापा बताउँछन् । जनताको भावना र स्थानीय आवश्यकता बुझ्न सक्ने व्यक्तिलाई नै यो निर्वाचनमा जनताले जिताउने बताउँदै उनले भने , – “गाउँका जनतालाई राष्ट्रिय राजनीतिबारे खासै थाहा हुँदैन, चासो पनि छैन, उनीहरूका आवश्यकता भनेको स्थानीय समस्याको समाधान नै हो ।” तीन दिनको अन्तरालमा काँग्रेस, एमाले, माओवादीलगायतका सबै राजनीतिक दलका उम्मेदवार घरदैलोमा भोट माग्न आइसकेको जानकारी दिँदै उहाँले गाउँमा बाटोघाटो, खानेपानी जस्ता समस्याको समाधान नै आफूहरूको पहिलो आवश्यकता भएको बताए । खेतीपातीमा निर्भर अधिकांश कृषकले कृषिको व्यवसायीकरण, मल बीउको सुलभताका तथा असिनाजन्य प्रकोपको नियन्त्रण तथा क्षतिपूर्तिका विषयमा उम्मेदवारको ध्यानाकर्षण गराउने गरेको अर्का कृषक चीनबहादुर कुँवर बताउँछन् । । “जिल्लाका अधिकांश गाउँमा पछिल्लो समयमा बाँदरको प्रकोपका कारण कृषिको विकल्प खोज्नुपर्ने बाध्यता रहेको छ,” उनले भने, “बाँदर व्यवस्थापनका साथै अन्य असिनाजन्य प्रकोपका कारण पीडित बन्ने कृषकलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्थाका लागि स्थानीय तहमा क्रियाशील राजनीतिक दल तथा उम्मेदवारसँग समयमा नै प्रतिवद्धता खोजिनु आवश्यक छ ।”

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप