शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

के के छन् विद्यासुन्दरका सय दिनमा गर्ने एक सय एक काम ?

मङ्गलबार, २६ वैशाख २०७४, १६ : ३६
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, वैशाख २६– नेकपा एमालेका काठमाडौं महानगरपालिकाका उम्मेदवारहरुले सय दिनमा १ सय १ वटा काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन । एमालेका काठमाडांै महानगरपालिकाका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूहरुले स्थानीय तहको निर्वाचन जित्ने दावी गर्दै सय दिनमा १ सय १ वटा काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । मंगलबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकामा सय दिनमा गर्ने १ सय १ वटा कामको विवरण सार्वजनिक गर्दै उनले तत्काल जनताका आधारभूत समस्या समाधान गरेर जाने प्रतिवद्धता जनाए । प्रतिवद्धता पत्रमा वृद्ध भत्ता १२ हजार बनाउने, सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने प्रतिवद्धता जनाइएको छ । यी प्रतिवद्धता पुरा गर्न स्रोतको कुनै अभाव नहुने पनि मेयरका उम्मेदवार शाक्यले उल्लेख गरे । यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य जनताका आधारभूत समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । बाटो विस्तारको कामलाई जनभावना अनुसार अघि बढाउने पनि बताइएको छ । महानगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने, प्रत्येक युवालाई सीपमूलक तालिम दिई रोजगारीको व्यवस्था गर्ने, महानगरलाई साईकल सिटीको रुपमा विकास गर्ने कार्यको प्रारम्भ गर्ने, मेयर पदभार ग्रहण गरेकै दिन महानगरपालिकाको कार्यालय परिसर भित्रै फल लाग्ने रुख रोपी ‘ग्रीन एण्ड क्लिन काठमाडौं’ अभियानको सुभारम्भ गर्ने एमालेका उम्मेदवारहरुको सय दिनमा गर्ने १ सय १ वटा काम अन्तरगत समावेश गरिएको छ । एमालेका उम्मेदवारहरुले जन्मदेखि मृत्यसम्म चाहिने सामग्रीसहितको मिनी असन बजार सय दिन भित्रै महानगरपालिकाको विभिन्न स्थानमा स्थापना गर्ने प्रतिवद्धता पनि जनाएका छन । पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्र बनाउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । ऐतिहासिक दरबार हाईस्कुल पुनर्निर्माणका लागि बहसको थालनी गर्ने, निश्चित समय तालिकाअनुसार यातायात संचालन गर्न अपाङ्ग, बालबालिकामैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्ने, निर्माणाधिन चक्रपथ विस्तारको कार्यलाई यथाशिघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने प्रतिवद्धता पनि एमालेका उम्मेदवारहरुले व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप