शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

इबोलाको नयाँ खोपको पहिलो परीक्षण

शुक्रबार, ०८ साउन २०८३, २२ : १३
शुक्रबार, ०८ साउन २०८३

काठमाडौँ । अफ्रिकी राष्ट्र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा घातक प्रकोप फैलिरहेको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोलाविरुद्ध द्रूत रूपमा विकास गरिएको खोपको पहिलो मात्रा शुक्रबार एक स्वयंसेवकलाई लगाइएको अक्सफोर्ड विश्वविद्यालयले जानकारी गराएको छ ।

विश्व स्वास्थ्य सङ्गठनअनुसार मे महिनादेखि सुरु भएको यो प्रकोपबाट कङ्गो र युगान्डामा एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यसपछि वैज्ञानिक र स्वास्थ्य संस्थाहरूले यो दुर्लभ प्रजातिको इबोलाविरुद्ध खोप वा उपचार विकास गरी मानिसमा परीक्षण गर्ने चरण (क्लिनिकल ट्रायल) मा पु¥याउन दौडधुप गरिरहेका छन् ।

यो महिनाको सुरुतिर बेलायतको अक्सफोर्ड विश्वविद्यालयको टोलीले आफ्नो च्याडक्स बिडिबिडी खोपको पहिलो क्लिनिकल परीक्षण सुरु गरेको घोषणा गरेको थियो । यो खोप एस्ट्राजेनेकाको कोभिड–१९ खोपको जस्तै प्रविधिमा आधारित छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले एएफपीलाई बताए अनुसार शुक्रबार ३७ वर्षीय स्वयंसेवक एड हन्टलाई अक्सफोर्डमा पहिलो मात्रा दिइएको छ ।

“हामीले यो खोप उम्मेदवारलाई अवधारणाबाट क्लिनिकमा पुर्याउन मात्र आठ हप्ता लाग्यो,” अक्सफोर्डको प्यान्डेमिक साइन्सेस इन्स्टिच्युटका डेभिड पुलिडो–गोमेजले जारी विज्ञप्तिमा भनेका छन् ।

“यति छोटो समयमा यो उपलब्धि हासिल गर्नु असाधारण सहकार्यको परिणाम हो,” उनले थपे । यो परीक्षणलाई महामारी तयारी नवप्रवर्तन गठबन्धनले आर्थिक सहयोग गरेको छ भने भारतको सेरम इन्स्टिच्युटले पहिले नै छ लाख २० हजार मात्राको स्टक उत्पादन गरिसकेको छ।

परीक्षणका लागि पहिलो चरण आगामी हप्ताहरूमा ५० जना स्वस्थ वयस्कमा खोपको सुरक्षा र प्रभावकारिता जाँच्ने योजना छ । अनुसन्धानकर्ताहरू अहिले थप स्वयंसेवक भर्ती गरिरहेका छन् ।

नियमक स्वीकृति पाएमा युगान्डाका साझेदारहरूसँग थप क्लिनिकल अध्ययन गर्न तयार भइरहेको अक्सफोर्डले जनाएको छ। ‘बुन्डिबुग्यो’ प्रजातिविरुद्धका अन्य खोपको विकास पनि भइरहेका छन् भने दुईवटा सम्भावित उपचारहरू पनि तयार पारिँदै छन्।

कङ्गोमा यो १७ औं इबोला प्रकोप हो, तर बुन्डिबुग्यो प्रजातिबाट भएको यो मात्र तेस्रो प्रकोप हो। यस प्रजातिका लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन ।

गत हप्ता विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले यो प्रकोप गत एक महिनामा ‘अघिल्ला कुनै पनि इबोला प्रकोपभन्दा छिटो फैलिएको’ चेतावनी दिएका थिए।

यो प्रकोप देशको विशाल, खनिज सम्पन्न र द्वन्द्वग्रस्त उत्तर–पूर्वी प्रान्तमा केन्द्रित रहेको छ।

नजिकको सम्पर्क र सङ्क्रमित शारीरिक तरल पदार्थबाट फैलिने इबोलाको सङ्क्रमण कङ्गोका अन्य चार प्रान्तमा पनि देखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप