बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डले राजपाका नेतालाई भने, ‘जेठको ५–६ गते राजीनामा दिन्छु, गठबन्धन लामो समय जान्छ’

सोमबार, ०१ जेठ २०७४, १४ : ५९
सोमबार, ०१ जेठ २०७४

काठमाडौँ, जेठ १– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठको पहिलो साता राजीनामादिने जानकारी राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई गराएका छन् ।

आज बालुवाटारमा राजपा नेपालका नेताहरुसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफूले आफ्नो कार्यभार पूरा गरि जेठको ५–६ गते राजीनामा दिने भनेको राजपा नेपालका एक नेताले बताए ।

काँग्रेससँग भएको सहमति अनुसार आफूले सरकारबाट राजीनामा दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र सहमति पालनाको नयाँ अध्याय आफूले शुरुवात गर्ने समेत नेतासमक्ष राखेको बताइएको छ । दलहरुको बीचमा सहमति भएपनि सरकार छाड्ने बेला अनेक बहानाहरु हुने गरेको त्यसलाई आफूले तोडेको उनले बताएका थिए ।

गठबन्धनको निरन्तरता

एमालेले जुन प्रकारको राष्ट्रियताको नारा लगाएका छन् त्यसले देशलाई हित नगर्ने भएकाले चुनावमा परास्त गर्नका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने कुरा छलफलमा राखको बताइएको छ ।

अरु दिनको तुलनामा अलि थकित तर कामबाट फूर्सद पाएको जस्तो देखिने प्रधानमन्त्री प्रचण्डले काँग्रेस–माओवादी गठबन्धनलाई लामो समयसम्म लैजाने संकेत गरेको राजपाका एक नेताले बताए । प्रदेश तथा केन्द्रको चुनाव यही गठबन्धनले गराउने भन्दै प्रधानमन्त्री प्रचण्डले राजपालाई पनि यसै गठबन्धनमा सहभागि हुन आग्रह गरे ।

‘संविधान संशोधनपछि तपाईहरु पनि यस गठबन्धनमा सहभागी हुनुहोस्, काँग्रेस–माओवादी–राजपा नेपालको गठबन्धनलाई लामोसमयसम्म टिकाउन सकिए मात्र नेपालले उपलब्धि पाउने छ,’ प्रधानमन्त्री प्रचण्डको आग्रह एक नेतालाई सुनाए ।

माग पूरा गराउनमा प्रतिवद्ध

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री पदबाट हटेपनि मधेशी मोर्चासँग गरेका प्रतिवद्धताहरु पूरा गराउने कुरामा ढुक्क रहन राजपाका नेताहरुलाई आग्रह गरेका थिए । उनी आफू प्रधानमन्त्री भएपछि मधेशी मोर्चाका लागि के–के गरेको सम्पूर्ण फेहरिस्त सुनाएका थिए ।

प्रधानमन्त्री भएदेखि मधेशी मोर्चाको के के माग पूरा भयो, के के बाँकी छ, ती सबै एक एक सुनाउँदै प्रचण्डले भनेका थिए, ‘शुरुमै घाइतेहरुको उपचार खर्च तथा सहिद घोषणा गरेको, मधेशी मोर्चाले भने अनुसार संशोधन विधेयक संसदमा लगेको र अझै मन्त्रीपरिषद्बाट हुने काम गरेर प्रधानमन्त्रीबाट हट्ने मेरो सोच छ ।’

पछिल्लो मन्त्रीपरिषद्को बैठकबाट स्थानीय तहमा संख्या थप्ने विषयमा कार्यदल बनाएको छ, थारु तथा मधेशी आन्दोलनमा भएको क्षतिको क्षतिपूर्ति १२ करोड दिने निर्णय भएको, बन्दी रिहा तथा मुद्दा फिर्ताका लागि कार्यविधि बनाएको पनि राजपाका नेताहरुलाई उनले जानकारी गराए ।

सविधान संशोधन गाह्रो : राप्रपाले धोका दियो

एमालेका कारण सविधान संशोधन गाह्रो भइरहेको कुरा पनि प्रधानमन्त्रीले राजपाका नेताहरुसमक्ष राखेका थिए । एमालेले विरोध गरेपनि वैशाख १७ गते नै संसदबाट सशोधन विधेयक पारित गराउने तयारी रहेको तर राप्रपाले धोका दिएको कुरा प्रधानमन्त्री प्रचण्डले राजपाका नेताहरुलाई सुनाएका थिए ।

उनले राजपाका नेतालाई भने, ‘अझै मेरो प्रयास जारी छ, जेठ ४ गते नै सविधान संशोधन विधेयक पारित गराउने मेरो योजना छ त्यसका लागि तपाईहरु पनि तयारी गर्नुस् । एमाले र राप्रपासँग यस विषयमा कुराकानी भइरहेको छ, सकभर जेठ ४ गते नै पास हुन्छ नभए अझै दुई चार दिन लागेपनि मैले त्यसलाई पास गराउँछु ।’

प्रधानमन्त्रीबाट राजीनामादिएपछि अर्को प्रधानमन्त्री बन्नलाई १२ दिन लाग्ने भएकाले त्यसबीचमा पनि काम गरौंला नभए आफ्नै गठबन्धनको सरकार हुन्छ, काँग्रेसका सभापति शेरबहादुर देउवाबाट पनि काम गराउन सकिने आश्वासन मधेशी मोर्चाका नेताहरुलाई दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री नरहे पनि मधेशी मोर्चाको माग पूरा गराउन आफ्नो सम्पूर्ण ध्यान रहने र यसले आफ्नो पार्टीलाई पनि फाइदा हुने कुरा प्रधानमन्त्री प्रचण्डले राखेको एक नेताले बताए ।

चुनावमा आउन आग्रह

प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको चुनाव शानदार ढंगबाट सफल भयो अब दोस्रो चरणको चुनाव सफल बनाउनका लागि राजपाले सहयोग गर्नुपर्ने आग्रह गरे । पहिलो चरणको चुनाव सफल बनाएकोमा राजपा नेपालका नेताहरुले बधाई दिएपछि उनले यसमा राजपाको पनि सहयोग रहेको र अब आउने दिनमा पनि सहयोग गर्नुपर्ने आग्रह गरेको बताइन्छ ।

‘अब दोस्रो चरणको चुनावको तयारी शुरु हुनेछ । तपाईहरु पनि यसमा लाग्नुस्, तपाईहरुको माग पूरा गर्ने आफ्नो प्रयास जारी छ, माग पूरा हुन्छ’ भन्दै उनले राजपाका नेतालाई आश्वासन दिएका थिए ।

त्यसको जवाफमा राजपाका नेताहरुले आफूहरुको बटमलाइन सविधान संशोधन गरेर नै चुनावमा जाने हो, त्यसको माहोल बनाउने काम सरकार रहेको धारणा राखेका थिए ।

पहिलो चरणको चुनावमा आफूहरु बन्चित भएपनि दोस्रो चरणको चुनावबाट बन्चित हुन नचाहेको तर यसको वतवारण सरकारले नै बनाउनुपर्ने राजपाका नेताहरुले धारणा राखेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप