तेस्रो लडाईँमा बाबुराम र कमल थापाको सपना चकनाचुर, प्रचण्ड नाफामा
काठमाडौँ, जेठ ५ – स्थानीय तहको चुनाव अगाडिसम्म पहिलो र दोस्रो शक्तिमा काङ्ग्रेस र एमालेकै प्रतिस्पर्धा हुन्छ भन्ने आम मान्यता र बुझाई देखिनथ्यो । यद्यपि ती पार्टीहरु चाहीँ आफु नै पहिलो हुने दावी र विश्वासमा थिए ।
एमाले नेतृत्व आफ्नै पार्टी फराकिलो जितले अगाडि आउने आन्तरिक विश्लेषणमा थियो । जे भएपनि चुनावले काँग्रेस र एमालेबीच कडा टक्कर देखायो । पहिलो चरणको चुनावको अन्तिम परिणामसम्म को पहिलो हुन्छ ? अहिले नै भन्न सक्ने ठाँउ छैन । तर, दोस्रो चरणको चुनावमा जाँदा आफ्नो पार्टी पहिलो हुने काँगेस नेताहरुलाई लागेको छ । पहिलो चरणको चुनावी नतिजापछि काँग्रेस नेताहरुले सोचेजस्तो परिणाम नआएको बताएका छन् ।
चुनावमा पहिलो र दोस्रो शक्ति को हुन्छ भन्ने विषयलाई लिएर भन्दा तेस्रो शक्ति को हुन्छ भन्ने सबैभन्दा ठूलो बहस थियो । कारण, माओवादी दोस्रो संविधानसभामा भन्दा खराब नतिजातर्फ जान्छ भन्ने राजनीतिक पण्डित र मिडियाको बुझाई थियो । बरु, एकतापछि आक्रमक तरिकाले चुनावमा आएको राप्रपा तेस्रो शक्ति हुन सक्ने विश्लेषण आएका थिए । त्यसबाहेक प्रचण्डसँग डिभोर्स गरेर वैकल्पिक राजनीतिक शक्तिको अभ्यास गर्ने सोचसहित नयाँ शक्ति पार्टी बनाएका डा. बाबुराम भट्टराई तेस्रो शक्तिसहित आउने अनुमान गर्नेहरु पनि थिए । वैकल्पिक शक्ति आउन सक्ने विश्लेशण गर्नेहरु पनि थिए । पहिलो चरणको चुनावी परिणामले राप्रपा अध्यक्ष कमल थापा र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईको सपना चकनाचुर भएको छ ।
स्थानीय तहको चुनावी परिणाम पार्टीहरुको भविष्यसँग जोडिएको हुन्छ किनभने त्यसको जगमा संगठन विस्तार र अर्को चुनावको तयारी गर्न ठूलो मद्दत पुग्छ । पहिलो चरणको चुनावमा ४० भन्दा बढी स्थानीय तहमा जित निकालेर माअोवादीले तेस्रो शक्तिको हैसियत बनाएको छ । माअोवादीका लागि यो चुनाव जुवा थियो, हार्ने–जित्ने अनिश्चिता थियो । तर, माआवादीले जुवा नजितेपनि नाफा तिर लाग्यो । दोस्रो संविधानसभामा प्रत्यक्ष तर्फ १० प्रतिशत मात्र चुनाव जितेको माओवादीले यो चुनावमा त्यो भन्दा बढी जित निकालेको छ, यसपटक लगभग ७ प्रतिशत नाफा भएको छ। । पहिलो संविधानसभामा झन्डै ३१ लाख मत पाएको माओवादीले दोस्रो संविधानसभामा १६ लाख मात्र मत पाएको थियो । तर, पहिलो चरणको स्थानीय तहको चुनावको नतिजाले स्थानीय तहको चुनावमा माओवादीको मत संख्या बढ्न सक्ने संकेत दिएको छ । यद्यपि अन्तिम मत कति आउँछ त्यो भने दोस्रो चरणको स्थानीय तहको चुनावी नतिजापछि मात्र थाहा हुनेछ । राप्रपा र नयाँ शक्तिले टक्कर देलान् कि भन्ने चिन्ता लिएका माओवादी नेताहरुलाई यो चुनावी परिणामले ठूलो राहत दिएको छ । कार्यकर्तामा उर्जा थपेको छ । दोस्रो चरणको चुनावमा माओवादीका लागि यो उर्जाले फाइदा हुन सक्छ ।
माओवादी लगातार विभाजनमा थियो । पछिल्लो पटक बाबुरामसहितका नेताहरुले ‘पेरिसडाँडालाई रातो स्टीकर लगाएको घर’ भन्दै छाडेर हिडेका थिए । तर, बाबुरामको नयाँ घरमा भन्दा रातो स्टीकर लगाएको घरमा धेरै जनमत आयो । राष्ट्रियताको नारा यसपाली माआवादीसँग थिएन । यसको मार चाहीँ खेप्नुपर्यो माओवादीले ।
सकारात्मक पक्षको कुरा गर्ने हो भने मोहन वैद्य बाहेक बादल र देव गुरुङ समूहका साथै मणि थापा र मात्रिका यादवहरु माओवादीमा फर्किएका थिए । उनीहरुको आगमनले चुनावी जनमतमा खासै अर्थ राख्ने देखिँदैनथ्यो । तर, मनोविज्ञानको फाइदा चाहीँ माओवादीलाई भयो । यसपाली सरकारमा रहँदा सन्तुलित काम गरेर प्रचण्डले आफ्नो छवि सुधार गरेका थिए । यो फाइदा माओवादीलाई भएको देखिन्छ । आफ्ना एजेन्डाको संस्थागत भएकोमा पनि प्रचण्ड खुसी नै देखिए । त्यहीँ भएर होला उनले ‘काँग्रेसले जिते पनि, एमालेले जिते पनि र माओवादीले जिते पनि आफैले जितेजस्तो लागेको छ’ भनेर प्रतिक्रिया दिएका छन् । सहज सत्ता हस्तान्तरणले प्रचण्डको छवि अरु बढाउन सक्छ र त्यसको फाइदा अर्को चुनावमा हुन सक्छ ।
जतिबेला राप्रपा एकता भएको थियो । त्यतिबेला पार्टी नेताहरु अब तेसो शक्ति बन्न कसैले रोक्न नसक्ने बताईरहेका थिए । राप्रपाबीचको एकताले संसदको तेस्रो शक्ति माओवादीलाई पनि झस्काएको थियो । तर, चुनावी परिणाम राप्रपाका लागि सुखद रहेन । अहिलेसम्म २८३ मध्ये एक स्थानीय तहमा मात्र राप्रपाले जित निकालेको छ । तेस्रो शक्तिको सपनासहित एकताको असर चुनावमा देखिएन ।
तालमेलमा पनि राप्रपालाई धोकाको सामाना गर्नुपर्यो । संसदमा राप्रपाका ३७ सिट छन् । त्यो हिसावले स्थानीय तहको पहिलो चरणको चुनाव परिणाम राप्रपाका लागि ठूलो धक्का हो । यद्यपि दोस्रो संविधानसभामा धर्म र राजतन्त्रको भावनात्मक नारा बेचेर समानुपातिक मत बटुलेको राप्रपाले स्थानीय तहको चुनावसम्म आउँदा धेरै राजनीतिक प्रयोग गर्यो । मुद्दा र सरकारको आवतजावतको प्रयोग राप्रपाका जनमतका लागि राम्रो थिएन । जसको असर स्थानीय तहको चुनावमा परेको होला । कमल थापाले ट्वीट गरेर जनताको मतको कदर गर्ने र समीक्षा गरेर अगाडि बढने बताएका छन् । एकता गर्दा राजनीतिमा २ र २ जोडदा ५ हुन्छ भन्ने राप्रपाका नेताहरुले अहिले कस्तो हिसाव सोचिरहेका छन्, यो चाहीँ चासोको विषय हुन सक्छ । पछिल्लो संविधानसभाको चुनावमा राप्रपाले २ लाख ३८ हजार मत ल्याएको थियो । राप्रपा नेपालले २ लाख ५२ हजार मत ल्याएको थियो । दुबैको मत जोड्दा करिव ५ लाख थियो । यो चुनावमा राप्रपाको मत अन्तिमसम्म कति आउँछ, त्यो हेरेर नयाँ अनुमान गर्न सकिनेछ । जवकि पहिलो संविधानसभा चुनावमा राप्रपाले २ लाख ६३ हजार मत ल्याएको थियो भने कमल थापाको पार्टी राप्रपा नेपालले १ लाख १० हजार मात्रै मत पाएको थियो । त्यसबेला दुबै दलको मत ३ लाख ७३ हजारको हाराहारीमा थियो । दोस्रो संविधानसभामा मत बढाएको राप्रपाले स्थानीय तहमा त्यो गति राख्न सकेन । असर परिणाममा देखियो । हिन्दु धर्मको नारा उचालेर राप्रपाले कैयौ यस्ता मत हात पारेको थियो, जुन काँग्रेसका परम्परागत भोट बैंकका थिए ।
जतिबेला नयाँ शक्ति स्थापना भयो । धेरैले सोचेका थिए, बाबुरामले प्रचण्डलाई मात्र होइन, शेरबहादुर र ओलीलाई पनि झट्का दिन सक्छन् । ओलीले त बाबुरामको पार्टी स्थापनाको कार्यक्रममा गएर नयाँ शक्तिले एमालेबाहेक अरुलाई चुनौति दिने बताएका थिए । तर, क्रमश नयाँ शक्तिको आर्कषण कम हुँदै गयो । वैकल्पिक सोचभन्दा पनि राजनीतिक पार्टीको संरचनामै जोड दिइयो । काँग्रेस, एमाले र अन्यदलका भन्दा माओवादीकै नेता कार्यकर्तालाई भित्राउन जोड गरियो । तर, स्थानीय तहको चुनावी परिणामसम्म आउँदा नयाँ शक्तिको तेस्रो शक्ति बन्ने सोचमा ठूलो धक्का लाग्यो । बाबुरामले आफ्नै गृहजिल्लामा जित निकाल्न सकेनन् । उपेनद्र यादवसँग चुनावी तालमेल गरेका बाबुरामले मधेशमा ‘कमब्याक’ गर्छन् कि भन्ने केही ठाँउ छ । तर, पहिलो चरणको चुनावी मनोविज्ञानमा धेरै नै उथलपुथल होला भन्न कठिन छ । मधेशवादी दलहरुबीचको एकता बाबुराम र उपेन्द्र गठबन्धनका लागि चुनौति बन्न सक्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण