शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हावाहुरीबाट १९ विद्यालयमा लाखौंको क्षति

शनिबार, ०६ जेठ २०७४, १० : ०७
शनिबार, ०६ जेठ २०७४
बैतडी, ६ जेठ - हावाहुरीले १९ विद्यालय भवनका छाना उडाउँदा रु ३६ लाख बराबरको क्षति भएको छ । जिल्ला शिक्षा कार्यालयमा प्राप्त पछिल्लो तथ्याङ्कानुसार केही दिनअघिदेखि साँझपख वर्षासँगै आइरहेको हावाहुरीले ती विद्यालयका छाना उडाउँदा पठनपाठन समेत प्रभावित बनेको छ । जिल्ला शिक्षा अधिकारी लालसिंह टेरका अनुसार जिल्लाको मेलौली नगरपालिकामा रहेको सुदर्शन मावि लिखोडा र पुर्चौडीमा रहेको महादेव मावि भटनामा हावाहुरीले सबैभन्दा बढी क्षति गरेको छ । सुदर्शन माविमा रु पाँच लाख ५० हजार र महादेव माविमा रु तीन लाख ५० हजार बराबरको क्षति भएको छ । यस्तै कफलाशैनी मावि पुजारी गाउँ, पुजारीखेत आधारभूत विद्यालय, केदार प्रावि मौरल्ला विजयपुर, गणेश मावि लेकम बस्ती सिगास र शिव निमावि गड्तौलाको छाना उडाएको छ । कालिका मावि सिद्धपुर, भुवनेश्वर मावि ठाँड बगाडी, निमावि पच्कोरा, नेपाल राष्ट्रिय निमावि गुरुखोला र देउमडा प्रावि गुरुखोलालगायत विद्यालयको पनि छाना उडाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयको छाना नभएपछि पानी परेका बेला विद्यालय बन्द गर्नु परिरहेको विद्यालयले जनाएका छन् । क्षति पुगेका विद्यालयको विवरण शिक्षा विभागमा पठाइसकिएको छ । तत्काल विद्यार्थी बस्नै नमिल्ने विद्यालयका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले त्रिपालको व्यवस्था गर्ने जिल्ला शिक्षा अधिकारी टेरले बताए । बैतडीका अन्य विद्यालयमा पनि हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप