कालीगण्डकी करिडोर आएपछि खुसीयाली
मङ्गलबार, २३ जेठ २०७४, ०९ : ५३
बागलुङ, २३ जेठ - घर छेउमै सडक आएपछि ७९ वर्षीय देवीदत्त पौडेल दङ्ग छन् । जैमिनी नगरपालिका–५ बिनामारेका पौडेलले भने “नचिताएको ठाउँमा बाटो आयो ।”
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग बिनामारे जोडिएपछि स्थानीय बासिन्दा औधी खुसी छन् । यातायात सुविधा लिन डेढ–दुई घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । सदरमुकाम बागलुङ बजार आउन छिमेकी पर्वत जिल्ला हुँदै यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
गाउँमा सडक आउने बिनामारेवासीको आशा वर्षौंपछि आएर बल्ल पूरा भएको हो । सडक विभागले जिम्मा लिएअनुसार करिडोरको मार्ग खोल्न नसक्दा स्थानीय निरास थिए । सडक खन्ने जिम्मा नेपाली सेनाले पाएपछि करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको हो ।
करिडोरमा नसोचेको ढङ्गले काम भएको जैमिनी नगरपालिका–५ का गोपाल पौडेलले बताए । “सडक विभागको काम कछुवाको गतिमा थियो, अहिले निर्माणले गति लिएको छ” पौडेलले भने ।
करिडोरको करिब तीन किमी सडक बिनामारेमा पर्ने जनाइएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि गाउँको चौतर्फी विकास हुनेमा स्थानीय आशावादी छन् । सडकलाई उत्पादनसँग जोड्न सक्नुपर्ने सोही ठाउँका ४९ वर्षीय कृष्ण पुरीले बताए ।
नेपाली सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले आगामी असारभित्रै बागलुङ खण्डमा मार्ग खोलिसक्ने जनाएको छ । सदरमुकामदेखि मालढुङ्गा–टाकुरीसम्मको १४ किमीमा भने गत वर्षदेखिनै यातायात सञ्चालनमा आएको छ ।
टाकुरी–पालुङखोला २६ किमीमा पनि अधिकांश ठाउँमा मार्ग खोल्ने काम पूरा भएको कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बताए । हालैमात्र करिडोरकै सबैभन्दा जोखिमयुक्त बिनामारेस्थित कुसुनेको भीरमा सडक–मार्ग खोलिएको उनले बताए।
“पाँचसय मिटर अग्लो भिरमा जोखिम मोलेर काम ग¥र्यौैं” उनले भने, “करिडोरका अधिकांश ठाउँमा भिर, पहरा, चट्टान काटेर मार्ग खोलिएको छ ।”
सरकारले करिडोरको गुल्मी–बागलुङ ८५ किमी सडक खन्ने जिम्मा नेपाली सेनालाई दिएको छ । यन्त्रको प्रयोग गर्दा पनि पहाड काट्न नसकेपछि सेनाले ठूल्ठूला चट्टानयुक्त पहाड फोर्न बम (विस्फोटक पदार्थ) को सहायता लिने गरेको छ । करिडोर निर्माणमा सेनाका ‘बम ब्लास्टर’ देखि इन्जिनियर, प्राविधिक, डकर्मीलगायतका जनशक्ति खटिएका छन् ।
बागलुङ खण्डमा पर्ने तीनवटा खोलामा ‘बेलीब्रिज’ राख्न र सडक मर्मत–सुधारको लागि यो वर्ष करिब १२ करोड बजेट अभाव रहेको कार्यदलले जनाएको छ ।
सरकारले चालु आवमा ३३ करोड बजेट विनियोजन गरेको थियो । करिडोरको गुल्मी खण्डमा मार्गखोल्ने काम गत वर्षनै पूरा भएको छ । चारसय ३५ किमीको कालीगण्डकी करिडोर नेपाललाई उत्तरमा चीन र दक्षिणमा भारतसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण