शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘नेपाल चीन सम्बन्ध नयाँ उचाइमा’ (फोटोफिचर)

मङ्गलबार, २३ जेठ २०७४, १५ : १५
मङ्गलबार, २३ जेठ २०७४

काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा नेपालले हस्ताक्षर गरेपछि पारस्परिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्।

चीन–तिब्बत सांस्कृतिक मञ्चको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्री महराले परम्परागत नेपाल–चीन सम्बन्ध पछिल्ला दिनमा अझ विस्तारित भएको बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जुनसुकै पार्टीको नेतृत्वमा नेपालमा सरकार गठन भए पनि एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध रहने बताउँदै नेपालप्रति आशङ्का नगर्न चिनियाँ मित्रहरुलाई आग्रह गरे ।

नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अत्यन्त पुरानो रहेको र भृकुटी र स्रङ्चङगम्पोले अझ मजबुत तुल्याएको बताउँदै नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने दृढता व्यक्त गरे ।

तिब्बतसम्बन्धी चिनियाँ अनुसन्धान केन्द्रका नायब महानिर्देशक आन चीले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण आधार बुद्ध धर्म हो भन्दै शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालप्रति चिनियाँहरुमा अगाध स्नेह रहेको बताए ।

नेपाल अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठले नेपाल–चीन जनस्तरको सम्बन्धलाई पनि उत्तिकै महत्वका साथ लिनुपर्नेमा जोड दिए । दुईदिनसम्म सञ्चालन हुने उक्त मञ्चमा चीनका १७ र नेपाली १५ जना विद्वानले भाग लिएका छन् । साथमा तिब्बतसम्बन्धी तस्बिर र पुस्तक प्रदर्शनी पनि आयोजना गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप