शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

'पाँच वर्ष बित्यो अझै पुल बनेन'

मङ्गलबार, २३ जेठ २०७४, १५ : ३५
मङ्गलबार, २३ जेठ २०७४

सोलुखुम्बु, २३ जेठ । सोलुखुम्बु र रामेछाप जोड्ने लिखुखोला मोटर चल्ने पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दासमेत पुरा भएको छैन ।

विसं २०७० असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०६९ सालमा सम्झौता भए पनि २०७४ असार सुरु हुन लाग्दासमेत सम्पन्न हुने कुनै छाँटकाँट छैन ।

रु तीन करोड ५० लाखको लागतमा निर्माण गर्ने गरी सिरुवा लोकप्रिय देवी कन्स्ट्रक्सनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) बाट ठेक्का पाएको थियो । ठेक्काअनुसार कार्य नभएपछि पुनः २०७४ वैशाख मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी अन्तिम म्याद थप भएकामा पछिल्लो म्याद थप गरिएको दुई महिना बितिसक्दासमेत काम सम्पन्न हुने सङ्केत नदेखिएको स्थानीय शिक्षक उद्धब बस्नेतले बताए ।

पुल निर्माण नहुँदा सोलुुखुम्बुको लिखुपिके गाउँपालिकाअन्तर्गत गोली, चौलाखर्क र भकाञ्जेका बासिन्दा मर्कामा परेका छन् । समयमा नै काम सम्पन्न नहुँदा सदरमुकामबाट चौँलाखर्क तथा रामेछाप हुँदै राजधानी चल्न सक्ने सडक निर्माणको कामसमेत अवरुद्ध भएको छ ।

लिखुपिके गाउँपालिका गोलीकी बबिता बस्नेतले भने – “पुल निर्माण भएको भए गाउँका सडकमा गाडी गुड्थ्यो, हामी पनि सहजै राजधानीलगायतका स्थानमा आवतजावत गर्न सक्थ्यौँ, तर पुल नभएकै कारण सिधा यातायातबाट वञ्चित भएका छौँ ।”

यस्तै गोलीकै अस्मिता बस्नेत भन्छन्, – “पुल निर्माण हुने कुरा सुनेको पाँच वर्ष बितिसक्यो अझैसम्म सम्पन्न हुने कुनै छाँटकाँट देखिँदैन, सम्बन्धित निकायको लाचारीपनका कारण होला विकासमा सुस्तताले जनतालाई सास्ती ।”

निर्माण कम्पनीका ठेकेदार मदन बस्नेतका अनुसार पुल निर्माणको कार्य ९० प्रतिशत सम्पन्न भएकाले आगामी पुस मसान्तसम्ममा काम सम्पन्न भइसक्ने छ । जिम्मेवारी पाएको कम्पनी, अनुगमन गर्ने निकायको कमजोर उपस्थितिका कारण समयमा नै काम सम्पन्न नभएको स्थानीयवासीको आरोप छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप