शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दाजु भाइ र ससुरा–बुहारीबीच चुनावी भिडन्त : परिवारमा बोलचालै बन्द

बुधबार, २४ जेठ २०७४, १० : ४३
बुधबार, २४ जेठ २०७४

प्रेम सुनार

गुल्मी, जेठ २४ – स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा परिवारकै सदस्यहरु एक अर्काको प्रतिद्वन्द्वी बन्दै चुनावी मैदानमा उत्रिएका छन् ।

यहाँको मुसिकोट नगरपालिकाको एक वडा र ईस्मा गाउँपालिकाको अर्को वडामा यसरी एकै घरका दाजु–भाइ र ससुरा–बुहारी बीच एउटै पदका लागि दुई अलग पार्टीबाट चुनावी भिडन्त सुुरु भएको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट यमबहादुर खत्री (केसीं ) उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट उनका सहोदर भाई ओमबहादुर खत्री (केसी ) वडा अध्यक्षका उम्मेदवार रहेर एक अर्का विरुद्ध कडा चुनावी मैदानमा उत्रेका हुन् ।

भाइ ओमबहादुर पनि दाजु यमबहादुरलाई हराएरै छाड्ने दाबी गदै आएका छन् भने दाजु एमबहादुर पनि भाइलाई हराएरै छाड्ने ठोकुवा गर्दै एक अर्का विरुद्ध गालिगलौजमा समेत उत्रिदै आएका छन् । ‘एक अर्का विरुद्ध उत्रिरहेकै बेला आइतवार भने त्यस घरका पाँचै भाई एकै थलोमा नजुटी नहुने धर्म संकट आइप¥यो’– भाई ओमबहादुरले भने–‘एक भाईको छोरी माग्न आएपछि पाँचै भाई जुट्न त जुटियो तर मेरा प्रतिष्पर्धी माईला दाजुसँग वोल चाल भने भएन ।’ उनले थपे–‘दाजुका नाताले मैल उहाँलाई दर्शन त गरे तर दाजु नबोले पछि मैले पनि बोल्न चाहिन ।’

दाजु यमबहादुर पनि भन्छन् –‘एक अर्का विरुद्ध लागे पछि बोल्न किन पो¥यो र ? ।’ उनिहरुका स्वर्गिय पिता भिमबहादुर खत्री पनि तत्कालिन जिल्ला पञ्चायतको सदस्य हुँदै लामो समयदेखि राजनीतिमा होमिएका व्यक्ति थिए । उनकै प्रेरणाबाट उनका माईला छोरा यमबहादुर नेपाली कांग्रेसमा र काईला छोरा ओमबहादुर नेकपा एमालेको सक्रिय राजनीतिमा लामो समयदेखि जुट्दै आएका छन् ।

एक परिवारः तीन पार्टी

अहिले मात्र त्यस परिवारमा दुई भाईबीच चुनावी प्रतिष्पर्धा चलेको होईन । पहिले देखि नै पाँचै भाईबीचमा राजनीतिक कारणले तिक्तता रहँदै आएको थियो । एक समय जेठा दाजु नामबहादुर खत्री र माईला यमबहादुर नेपाली काँग्रेसमा आबद्ध थिए । साईला पुस्तकबहादुर र काईला ओमबहादुर नेकपा एमालेमा आबद्ध भई रहँदा कान्छा भाई रुद्रबादुर केसी राष्ट्रिय जनमोर्चा हुँदै नेकपा माओवादीमा लागेर एक परिवार तीन पार्टीमा विभाजित बनेका थिए ।

राजनितीले चलेको व्यवसाय नै बन्द नेपाली सेनाको मेडिकल लाईनमा सत्र वर्ष सम्म जागिर खाएर त्यहाँ सिकेको सीप र प्रमाण पत्र भिडाएर अहिलेका प्रतिष्पर्धी यि दाजु भाई एक दमै मिलेर लामो समयसँगै मेडिकल सञ्चालन गरेका थिए ।

मेडिकल निकै चलिरहेको अवस्थामा भाई ओमबहादुर नेकपा एमालेको राजनीतिमा खुलेर लाग्न थाले पछि दाजु यमबहादुरको मन दुखेर विभिन्न कारण देखाई भाई संग गर्दै आई रहेको मेडिकल व्यवसायबाट छुट्टिएका थिए ।

भाई ओमबहादुर भन्छन् – ‘हाम्रो परिवारमा १६ वटा भोट छन त्यस मध्ये मेरो श्रीमति र छोरा बुहारीसहित कम्तीमा ८ भोट मलाई आउने पक्का छ भने दाजुलाई त्यस्तै ७ भोट जाने आँकलन गरेको छु ।’

उता दाजु ओमहादुरले भाईको आँकलनलाई नकार्दै भन्छन्, ‘भन्न त जति पनि पाइयो, त्यसो त मेरा लागि हाम्रो परिवारले १० भोट मलाई दिन्छन् । यति बेला माइला भाई यमबहादुरका पक्षमा जेठा दाजु नामबहादुर र कान्छा भाई रुद्रबहादुरको परिवार सक्रिय भएका छन् भने काईला एमाले उम्मेदवार ओमबहादुरका पक्षमा साईला पुस्तकबहादुरका परिवार जुटेका छन् ।

उता विवाहित उनीहरुका दुई वहिनीहरु पनि अलग अलग पार्टीमा आवद्ध छन् । चुनावी नजिकीदै गर्र्दा तिहारमा लहरै राखेर टिका लगाई दिने दुई दाजु मध्ये कुन चाँहीलाई समर्थन गर्ने भन्ने विषयमा उनीहरु पनि धर्म संकटमा परेका छन् । करिव १७ सय मत रहेको त्यस वडामा भारी मतले बिजयी हुने दुबै भाइको दावी रहेको छ ।

ससुरा बुहारीबीच पनि त्यस्तै भिडन्त

ईस्मा गाउँपालिकाको वडा नम्वर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उम्मेदवार खडा गर्न साथ नेपाली कांग्रेसको पालो उनकी वुहारी हुमकला सार्कीलाई वडा सदस्यमै उम्मेदवार उठाइदियो ।

‘ससुरालाई हराउन सक्नु होला ?’ भन्ने प्रश्नमा उनले भनिन्–‘जनताले मलाई जिताउने कुरामा म ढुक्क छु ।’ फोनमा उनले त्यस्तो दावी गरी रहेकै बेला फोन सुनेर बसी रहेका उनका ससुराले अत्तालिदै बुहारीले गरी रहेको फोन मागेर दुई चार वटा कुरा आफुले पनि राख्ने ईच्छा जाहेर गरे ।

उनले भने–‘हेनुस् राजनीति हो बुहारी भन्ने कुरै हुन्न प्रतिष्पर्धा नचल्ने कुरै भएन, म जनयुद्धकाल देखि राजनीतिमा लागेको मान्छे हुँदा जनताले मलाई नै जिताउने कुरामा म पनि ढुक्क छु ।’

२०७० साल सम्म नेकपा एमालेमा रहेकी बुहारी कांग्रेसमा लागेर अहिले उनले उम्मेदवार बनाएको उनी बताउँछन् । उनका ससुरा भने २०५८ साल देखि नै माओवादीमा लागेको बताउँछन् ।

५० वर्षको नेटो काटिसकेका उनले नागरिकतामा बाहेक अहिलेसम्म तस्वीर नखिचेको भन्दै उपलव्ध गराउन सकेनन् । ससुरा बुहारीको चुनावी चहल टक्करलाई गाउँमा रोचक ढंगले लिइएको त्यस वडा अध्यक्षमा कांग्रेस उम्मेदवार दलबहादुर कुँवरले बताए ।

चुनावी प्रचार तिब्र हुँदै जादा अन्य गाउँवडा र नगरहरुमा पनि कैयौ दाजुभाई, , श्रीमान–श्रीमती बीचमा समेत घरयासी सम्बन्ध खासै राम्रो छैन । केही दिन अघि चुनावी वादबिवादका कारण रेसुंगा नगरपालिकाको एक वडामा एमालेकी उम्मेदवार महिलाले कांग्रेसका उम्मेदवार जेठाजुलाई आक्रमण गरेकी थिइन् । उनीहरुलाई प्रहरीले मेलमिलाप गराएर पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप