शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हामीलाई जनप्रतिनिधिका रुपमा चुनिने सुनिश्चितता होस् : अपाङ्ग महासङ्घ

बुधबार, २४ जेठ २०७४, १४ : ५१
बुधबार, २४ जेठ २०७४
काठमाडौँ, २४ जेठ । राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई समानताको हक र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्वको सुनिश्चितता गराउन पहल गरिदिन निर्वाचन आयोगसँग माग गरेको छ । महासङ्घका तर्फबाट उपाध्यक्ष टीका दाहालको नेतृत्वमा आएको टोलीले आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मालाई आज बुझाएको ज्ञापनपत्र अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहज पहुँचको स्थितिलाई हेर्दा विगतको निर्वाचनमा अशक्त र अपाङ्गता भएका व्यक्तिले मतदान प्रक्रियामा भाग लिँदै आएको सुविधासमेत कटौती भएको उल्लेख छ । आगामी स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले उठाई जनप्रतिनिधिको रुपमा चुनिने सुनिश्चितता गर्न पनि विज्ञप्तिमार्फत जोडदार माग गरिएको छ । एकाघरका परिवारका सदस्यसँग राजनीतिक विचार एउटै नहुन सक्ने पक्षलाई गम्भीररुपमा हेक्का गरेर दृष्टिविहीन वा शारीरिक रुपले अशक्त व्यक्तिलाई इच्छाएको व्यक्तिबाट मतदान गर्ने व्यवस्था मिलाउन पनि महासङ्घले आयोगलाई सुझाव दिएको छ । मतदानस्थल वा केन्द्रमा ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्तिले कहाँ मतदान गर्ने र लाइनमा बस्ने भन्नेबारे स्पष्ट देखिने गरी सूचना टाँसको व्यवस्था मिलाउन आग्रह गर्दै महासङ्घले त्यस्ता स्थानमा साङ्केतिक भाषा र दोभासेको पनि व्यवस्था मिलाउन सुझाव दिएको छ । मतदानस्थल र मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आवश्यक रहेको बताउँदै उपाध्यक्ष दाहालले भने– पहिलो चरणमा भएका कमीकमजोरीलाई मूल्याङ्कन गरी सच्याउन सक्नु पर्दछ । सो अवसरमा आयोगका प्रवक्ता शर्माले हामी सबै नेपालीको महाअभियानको रुपमा हँुदै गरेको दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनलाई सफल तुल्याउने सन्दर्भमा सहयोग पु¥याउन आग्रह गरे । नेपालको जनगणना २०६८ अनुसार मुलुकमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या पाँच लाख १३ हजार ३२१ छ । हाल मुलुकमा अपाङ्गता भएका व्यक्तिको हकअधिकार संरक्षण र सम्वद्र्धन गर्ने भनी खोलिएको सङ्घ संस्थाको सङ्ख्या मात्रै पनि ३३१ रहेको महासङ्घले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप