बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विकास समितिको निर्देशन : ‘ट्राफिक नियम पालना नगर्ने जोकोहीलाई कारवाही गर्नु’

शुक्रबार, २६ जेठ २०७४, १३ : ५०
शुक्रबार, २६ जेठ २०७४

काठमाडौं, जेठ २६ – व्यवस्थापिका संसदको विकास समितिले ट्राफिक नियम पालना नगर्ने जोकोहीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार विहान सिंहरदरबारमा बसेको समितिको बैठकले ट्राफिक नियम पालना नगर्ने अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुलाई समेत कार्वाहीको दायरामा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सरकारवाला निकायलाई निर्देशन दिएको हो ।

समितिले अतिविशिष्ट व्यक्तिहरुको सवारी आवागमनको कामलाई सरल बनाउने कार्यविधि तयार पार्न पनि सरकारलाई सचेत गराएको छ । सर्वसाधारणले सास्ती व्यहोर्ने गरी अति विशिष्ट व्यक्तिहरुको आवागमन हुने भएकाले त्यसलाई सहज बनाउने कार्यविधि तयारी गरी तत्काल कार्यान्वयन गराउन पनि सरकारलाई सचेत गराइएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।

समितिले सडक सुरक्षा अभिवृद्धि गर्न संसदले जारी गरेको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ तीव्र गतिमा कार्यान्वयनमा लगि त्यसको प्रगति विवरण १५ दिन भित्र समितिमा पेश गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी सहरी सडक र राजमार्ग निर्माण गर्ने मापदण्ड तय गरी १ महिना भित्र समितिमा पेश गर्न पनि सचेत गराइएको छ ।

समितिको बैठकमा बोल्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नागरिकको सोचाईमा परिवर्तन नआएपछि ट्राफिक समस्या समाधान हुने अवस्था नरहेको बताए । उनले ट्राफिक नियम पालना गराउन नेपाल प्रहरीले सक्दो प्रयास गरेपनि त्यसलाई कार्यान्वयनमा आउन नदिन नागरिक समाजका अगुवाहरु आफै बाधक हुने गरेको अनुभूति पनि सुनाए ।

महानिरीक्षक अर्यालले नियम, कानुनको अभावमा ट्राफिक व्यवस्थापनको काममा समस्या भने नरहेको स्पष्ट पारे । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयका अधिकारीहरुले यातायात व्यवस्थापनका लागि सबैले मिलेर काम गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप