बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातो कार्ड नहुँदा भूकम्पपीडितलाई समस्या

शुक्रबार, २६ जेठ २०७४, १८ : ४६
शुक्रबार, २६ जेठ २०७४
काभ्रे, जेठ २६– काभ्रेको बनेपा नगरपालिका–३, नाला टुसाल निवासी ४५ वर्षीय छविराम सिग्देलको परिवार भत्किएको घरभित्र बसिरहेको अवस्थामा भेटिन्छन् । घरभित्र नै उनको परिवार खाने, बस्ने र सुत्ने गर्दै आएको छ । उनको परिवारले भूकम्पपीडित परिचयपत्रसमेत नहुँदा घर बनाउन सकिरहेको छैन । “शहरमा दुई÷तीन तलाको घर हुने परिवारले समेत रातो कार्ड पाएर पनि पहिलो किस्ता लिइसके, तर हामी वास्तविक पीडितले अहिलेसम्म रातो कार्डसम्म पाएका छैनौँ,” सिग्देलले गुनासो पोखे, “बरु हामीले परिचयपत्र समेत पाएको भए पनि दुःख गरेर घर बनाउने थियौँ ।” आफू बस्ने घर ढुङ्गामाटोको भएको र पहिले प्राविधिक आएर जाँच्दा यस्तो घरलाई अति प्रभावित घरका रुपमा राखे पनि पछि आएको प्राविधिक टोलीले बाहिर हेर्दा घर राम्रै देखिएको भन्दै भित्र नहेरी भूकम्पपीडितको सूचीमा नाम छुटाएको उनले आरोप लगाए । सिग्देलको परिवार भत्किएको घरभित्र नै कहिले भूकम्प आउने हो र थिच्ने हो भनी त्रासपूर्णरुपमा त्यही घरभित्रै गुजारा गर्दै आएको छ । सिग्देलजस्तै त्यहाँका अन्य थुप्रै पीडितले हालसम्म भूकम्पपीडित परिचयपत्र पाउन सकेका छैनन् । पहिले भूकम्पपीडित भनेर रु २५ हजार रकम किस्ता लिएको तर पछि के कारणले आफू भूकम्पपीडितको सूचीमा नपरेको भन्ने कुरामा अनविज्ञ रहेको त्यहाँका अर्का स्थानीय गोकुल सापकोटा बताउँछन् । मान्छे टहरामा बसे पनि गाईवस्तु भने पुरानै घरभित्र बाँध्दै आएको उनले बताए । टहरामा जीवन गुजार्न कठिन भएकाले तत्काल सम्बन्धित निकाय पुनः अनुगमनका लागि आएर पीडित परिचयपत्र दिए आफूलाई सहयोग मिल्ने उनको भनाइ छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो अनुगमनमा नाम छुटेका झन्डै दुई हजार ३०० भूकम्पपीडितको गुनासो सङ्कलन गरेको थियो । जसमध्ये हालसम्म पहिलो चरणमा र दोस्रो चरणमा गरेर झन्डै नौ हजार पीडितको नाम निस्किसकेको छ भने अहिले जम्मा एक हजार ९०० पीडितको नाम निस्किसकेको भए पनि आधिकारिक रुपमा भने घोषणा गर्न बाँकी छ । पुनः गुनासो भराउँदासमेत नाम छुटेका पीडितको लागि प्राविधिक टोली पठाएर नाम सङ्कलन गरी परिचयपत्र वितरण गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काभ्रेका प्रमुख धु्रव गैँडाले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप