बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कमला नहर सिँचाइ निर्माण कार्य सुरु

शनिबार, २७ जेठ २०७४, ११ : ४८
शनिबार, २७ जेठ २०७४

सिरहा, २७ जेठ । लामो समयदेखि लथालिङग भएको कमला नहर सिँचाइ योजना निर्माणकार्य दू्रतगतिमा अगाडि बढाइएको छ ।

सरकारको ढिलासुस्ती र बजेट अभावका कारण २०१७ सालमा तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिँहले शिलान्यास गरेको कमला नहर उपेक्षित भएको थियो ।

सिरहाको ४० गाविस र धनुषाका ३६ गाविसमा सिँचाइ गर्ने सरकारी लक्ष्य बजेट अभावका कारण नहर व्यवस्थापन र निर्माण कार्य पूरा नभएको स्थानीय बासिन्दाको भनाइ छ ।

कमला नदीको व्यवस्थापन नहँुदा बर्सेनि आउने बाढीले सिरहा, धनुषा र सीमावर्ती क्षेत्र भारतको बिहारमा डुबान हुनुका साथै धनमालको ठूलो क्षति हुने गरेको बताइन्छ ।

तर विगत तीन वर्षदेखि सिँचाइ मन्त्रालयले योजनावद्ध रुपमा बजेटको व्यवस्था गर्दा कमला नहरको निर्माण कार्य एवम् प्रभावकारी रुपमा व्यवस्थापन कार्य अगाडि बढाइएको कमला हर्दिनाथ सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय पोर्ताहाले जनाएको छ ।

अहिले मूल नहरको लम्बाइ ३० किलोमिटिर, आठ नहर शाखा तथा १७ पुराना शाखा रहेको सो नहरबाट प्रत्येक वर्ष धान र गहुँखेतीका लागि दुई पटक पानी छर्ने गरिएको र आवश्यकता परे पानी छाडिदै आएको डिभिजनका प्रमुख गौतम ठाकुरले बताए ।

नहर सिञ्चित क्षेत्रमा प्रतिकठ्ठा पाँच मन धान र तीन मन गहुँ उत्पादन भइरहेको छ । जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार कमला नहरबाट सिँचाइमा धेरै सुविधा पुगेको र यसलाई थप व्यवस्थित गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कमला नहरको वृहत सरकारी सिँचाइ योजनातर्फ रु १७ करोड र मर्मत तर्फ रु दुई करोड निकासा गरिएको छ । समृद्ध तराई– मधेस सिँचाइ कार्यक्रमका लागि रु पाँच करोड विनियोजन भएको र त्यस अनुसार कार्य भइरहेको छ । लामो समयदेखि कमला नदीको कटान र डुबानमा पर्दैआएको सिरहा पश्चिम र धनुषाको पूर्वी क्षेत्रमा आवश्यक निर्माण गरी नहर सञ्चालन गरेपछि सिरहा र धनुषाका साढे १२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको कमला हर्दिनाथ सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय पोर्ताहाले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप