शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिनामिना गरेको आरोपमा कृषि सहकारीमा तालाबन्दी

सोमबार, १८ पुस २०७९, १० : ५६
सोमबार, १८ पुस २०७९

बारा । जिल्लाकै सबैभन्दा ठुलो आर्थिक कारोबार र धेरै सेयर सदस्य भएको साना किसान कृषि सहकारी संस्था लि., डुमरवानामा आर्थिक हिनामिना भएको भन्दै सेयर सदस्यहरुले तालाबन्दी गरेका छन् । साना किसान कृषि सहकारी संस्थाका महिलाहरुले आइतबार मुख्य कार्यालय डुमरवाना र सिमरा शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

संस्थामा आर्थिक हिनामिना गरेको आरोपमा बर्खास्त गरेको कर्मचारीलाई श्रम अदालतले पुनर्बहाली गरेपछि ती कर्मचारीलाई दिनुपर्ने सुविधा स्वरुपको १२ लाख ७० हजार र गत वर्ष समयमा साधारणसभा सम्पन्न नहुँदा जरिवानास्वरुप एक लाख २ हजार रुपैयाँ सदस्यहरुको बचतबाट काट्ने भएपछि सदस्यहरुले विरोध स्वरुप कार्यालयमा तालाबन्दी गरेका हुन् ।

साना किसान कृषि सहकारीमा १५ वर्षदेखि सेयर सदस्य रहेकी सिमराकी शान्ता सिलवालले बचतकर्ताको रकममा सञ्चालन समितिले घोटाला गरेकाले कार्यालयमा तालाबन्दी गरेको बताइन् ।

‘दिदीबहिनीहरुले खाई–नखाई २ पैसा हुन्छ भनेर जम्मा गरेको पैसा हिनामिना गर्न पाइँदैन, यसमा गल्ती गर्नेलाई ठोस कारवाही नभएसम्म हामी ताला खोल्दैनौं,’ सिलवालले भनिन् ।

सेयर सदस्य लक्ष्मी सुवेदीले सञ्चालक समितिले गल्ती गर्दै जाने अनि सदस्यहरुले पाउने मुनाफा घट्दै जाने विषय न्यायोचित नभएको बताइन् । उनले भनिन्, ‘गल्ती गर्नेबाट क्षतिपूर्ती भराउनु पर्छ भन्ने हाम्रो माग हो ।’

अर्की सेयर सदस्य तिर्थकुमारी गौतमले सेयर सदस्यले पाउने लाभांश बर्सेनि घट्दै गएको गुनासो गरेकी छन् । ‘पुस मसान्तसम्म हाम्रो हिसाब किताब सबै सार्वजनिक भएन भने हामी सबै सेयर सदस्य संस्था छोड्न तयार छौं,’ गौतमले भनिन् ।

साना किसान कृषि सहकारी संस्था बारा जिल्लाकै सबैभन्दा ठुलो सहकारी हो । झण्डै डेढ खर्बको आर्थिक कारोबार रहेको सो संस्थामा ८ हजार ७ सय सेयर सदस्य छन् ।

जितपुरसीमरा उपमहानगर, निजगढ र कोहल्वी नगरपलिका गरेर ५ वटा शाखा कार्यालय सञ्चालनमा रहेको सो सहकारीमा ९२ प्रतिशत महिला सदस्य छन् ।

संस्थाले गत वर्ष सदस्यहरुलाई १२ प्रतिशत लाभांश बाँडेकोमा यस वर्ष घटेर ९ प्रतिशतमा झरेको भन्दै सेयर सदस्यहरुले गुनासो गरेका छन् । बिगतमा १० हजार सेयर सदस्य र झण्डै २ खर्बको आर्थिक कारोवार भएको संस्थामा पछिल्लो राजनीतिक हस्तक्षेप, आर्थिक हिनामिना लगायतको विषयलाई लिएर बेला बेलामा हुने विवादका कारण सदस्य संख्या र कारोवार दुवै घटेको छ । सहकारीले सेयर सदस्यहरुको बचत रकममा ८ देखि ९ प्रतिशतमात्रै ब्याज दिने र ऋण लगानीमा भने १७÷१८ प्रतिशत ब्याज लिने गरेको छ ।

संस्थाका अध्यक्ष प्रदीप बरालले सेयर सदस्यको सेयर लाभांश र बचत रकम हिनामिना नभएको बताएका छन् । ‘श्रम अदालतले पुनर्बहाली गरेको कर्मचारीको हकमा संस्थाले रकम भुक्तानी गर्छ, त्यसमा सेयर सदस्यको बचत र लाभांशमा कुनै असर पार्ने काम हामीबाट हुँदैन,’ अध्यक्ष बरालले भने ।

उनले संस्थाको जगेडा कोष, कर्मचारी सेवा कोष लगायतका शीर्षकबाट रकम भुक्तान गर्ने बताए । सेयर सदस्यहरुले लगाएको तालाबन्दीको सन्दर्भमा अध्यक्ष बरालले आफू भर्खरै निर्वाचित भएको र शपथग्रहण पश्चात सञ्चालक समितिको बैठक बसेर टुङ्गो लगाउने जनाए । सो सहकारीले शनिबार २६ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप