शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति भएको खुलासा

मङ्गलबार, १९ पुस २०७९, १२ : ४१
मङ्गलबार, १९ पुस २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम्  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन बुँदे भद्र सहमति भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सहित सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि प्रचण्ड र ओलीबीच तीन बुँदे भद्र सहमति भएको एक प्रभावशाली मन्त्रीले रातोपाटीलाई जानकारी दिएका हुन् ।

सहमतिको पहिलो बुँदामा दुई नेताबीच आधा–आधा कार्यकाल आलोपालो प्रधानमन्त्री चलाउने रहेको ती मन्त्रीको भनाई छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा यो संसद्लाई पाँचै वर्ष चल्ने दिने र बीचमै संसद् विघटन नगर्ने रहेको छ । तेस्रो बुँदामा यो गठबन्धनलाई आगामी चुनावैसम्म कायम गरेर जाने दुई नेताबीच सहमति भएको ती मन्त्रीले खुलाए ।

अहिलेको संसद् पाँचै वर्ष चल्छ वा चल्दैन भन्ने संशयका बीच ओली–प्रचण्डले भद्र सहमति गरेकाले अब यो गठबन्धनमा समेत विश्वासको वातावरण बनाउने प्रयास हुने ती मन्त्रीको भनाई छ । ‘अब सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएर सबैको स्वामित्व लिने वातावरण बनाइनेछ,’ उनले भने, ‘आमजनतामा व्यापक निराशा भएकाले न्यूनतम साझा कार्यक्रम बनाएर अल्पकालीन र दीर्घकालीन काम गर्ने योजना पनि बनाइनेछ ।’

तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरेपछि तत्कालीन नेकपा विभाजन भएको थियो । नेकपा विभाजन भएपछि प्रचण्ड र माधव नेपाल पक्ष नेपाली कांग्रेससहितको नयाँ मोर्चा बनाएका थिए । पाँच दलीय मोर्चाबाटै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरू चुनावमा सहकार्य गरेर सहभागी भएका थिए । उता एमालेले पनि साना दलहरू गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रेको थियो ।

तर नेपाली कांग्रेसले पूर्वसहमति विपरीत प्रधानमन्त्री र राष्ट्रपति दुवै माओवादीलाई दिन अस्वीकार गरेपछि प्रचण्ड र ओली एक ठाउँमा आउने वातावरण बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप