सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

गण्डकीमा एमालेका अधिकारी मुख्यमन्त्री बन्दै, आज हुनसक्छ दाबी पेस

आइतबार, २४ पुस २०७९, १३ : ४३
आइतबार, २४ पुस २०७९

पोखरा ।  गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । अधिकारीले आजै बेलुका वा सोमबार बिहानै मुख्यमन्त्री दाबी पेस गर्ने तयारी भएको सत्ता गठबन्धनका एक नेताले बताए । ‘गण्डकीको मुख्यमन्त्री खगराज अधिकारी हुनुहुन्छ । केन्द्रमा उहाँलाई नै मुख्यमन्त्री बनाउने सहमति जुटिसकेको छ । सत्ता गठबन्धनको औपचारिक निर्णय आजै बेलुकासम्म आएपछि हामीहरू दाबी पेस गर्न जान्छौँ,’ ती नेताले भने ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् । गठबन्धनका तर्फबाट एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्री दाबी गर्ने भएका हुन् । ‘सकेसम्म आजै बेलुका अधिकारीलाई मुख्यमन्त्रीका रूपमा नियुक्त गर्न प्रदेश प्रमुखसामु दाबी पेस गर्दैछौँ ।’ पुस २१ गते प्रदेश प्रमुख गुरुङले ५ दिनको  समय दिएर संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् । एमालेले मुख्यमन्त्रीको रूपमा अधिकारीलाई प्रदेशमा उठाएको थियो । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । एमालेसँग २२, माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनका सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ । यी तीन वटा दल मिलेर गण्डकीमा ३२ सिट पुग्छ । सत्ता गठबन्धनले आइतबार बेलुकासम्म औपचारिक निर्णय गरे बेलुका नै सरकारको दाबी पेस गर्ने तयारी छ । 

गण्डकीमा एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि अधिकारीलाई भेटेर विश्वासको मत दिने आश्वासन दिएका छन् । यसो भए अधिकारीलाई ३२ सदस्यीयको समर्थन पुग्न सक्छ । प्रदेश सभामा नेपाली कांग्रेकासँग २७ सिट सांसद छन् ।

मन्त्रालय घटाउने योजना 

मुख्यमन्त्री भएपछि अधिकारीले मन्त्रालय घटाउने तयारी गरेका छन् । गण्डकीमा अधिकतम १२ मन्त्रालय बनाउन पाइन्छ । तर, अधिकारीले ३  घटाएर ९ मन्त्रालय बनाउने तयारी गरेका छन् । सत्ता गठबन्धनको प्रारम्भिक भागबन्डामा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका ४ र राप्रपाको १ मन्त्रालय बनाउने तयारी थालिएको हो । सत्ता गठबन्धनको भागबन्डामा माओवादीबाट सभामुख पाउने सम्भावना छ । सभामुख बन्न माओवादीका कृष्ण धितालको नाम चर्चामा छ । 

सम्भावित मन्त्री 
एमालेबाट सिता सुन्दास, रोशन गाहामगर र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री हुने पक्कापक्की छ । तर, राप्रपाले सरकारले समर्थन गरेपनि सरकारमा जाने नजाने बारे निर्णय गरिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप