बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको यस्तो छ राजनीतिक इतिहास

आइतबार, २४ पुस २०७९, १७ : २५
आइतबार, २४ पुस २०७९

विराटनगर । प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा दोस्रो वरीयतामा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका हिक्मतकुमार कार्की प्रदेशसभाको दोस्रो कार्यकालको सुरुवातमै प्रदेश १ का मुख्यमन्त्री बनेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । उनलाई एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जनाको समर्थन छ ।

को हुन् हिक्मतकुमार कार्की ?
२०२१ साल असोज ११ गते झापा जिल्लास्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रूपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो । अहिले उनको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको बाल्यकाल गौरादहमै बित्यो भने एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा भएको थियो ।

कार्की विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन् । पार्टी राजनीतिमा भने उनी २०३६ सालतिर मात्रै प्रवेश गरेका हुन् । महेन्द्र बहुमुखी क्याम्पसमा आइएलको पहिलो ब्याजको अध्ययन सकेर उनी २०४२ सालमा उच्च शिक्षाका निम्ति नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना भएका थिए । उनले कानुनमा स्नातकोत्तर तह (एलएलएम) को अध्ययन पूरा गरेका छन् ।

अनेरास्ववियुको विभिन्न तहका कमिटीको नेतृत्वदायी भूमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौँ, बागमती अञ्चल कमिटी) निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारीमा समेत रहे । स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति नेपाल ल क्याम्पस) सम्हालेका उनी विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भए ।

एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदिप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसँगै महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा रहेका छन् । उनले २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज तथा प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्कीले प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा २०७४ फागुन ३ गते जिम्मेवारी प्राप्त गरेका थिए । करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा जिम्मेवारी निर्वाह गरेका उनी नेकपा विभाजनसँगै २०७८ साल भदौ १० गते सरकारबाट बाहिरिएका थिए । सोही निर्वाचन क्षेत्रबाट उनी पुनः २०७९ सालको निर्वाचनमा निर्वाचित भएका छन् ।

नेकपा कालमा नेकपाको केन्द्रीय सदस्य रहेका कार्की एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बने । कार्की अहिले नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–इन्चार्जको भूमिकामा छन् । खासमा संघीयता र प्रदेश संरचनाको विरोधी छवि बनाउँदै आएका उनी प्रदेश सरकारमा गएर काम गर्न थालेपछि भने संघीयतालाई बलियो बनाउनु पर्ने पक्षमा उभिएका छन् ।

सबैसँग मिल्न सक्ने मिजासिलो स्वभाव, स्पष्ट वक्ता कार्की विद्यार्थी राजनीति छोडेर जनआन्दोलनपछि पार्टी काममा झापा फर्किएका थिए । झापामै लामो राजनीतिक र साङ्गठनिक अभियानमा सक्रिय भएका कार्की हाल प्रदेश १ का मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री बनेसँगै उनलाई प्रदेश १ को नामकरण, प्रदेशको स्थायी संरचनाको निर्माण, प्रदेशप्रति नकारात्मक ढंगले भइरहेको प्रचार रोक्न प्रभावकारी कार्यसम्पादन, सुशासन, प्रदेशका अधिकार प्राप्तिमा संघीय सरकारसँग गर्नुपर्ने लबिङ, गठबन्धन दलहरूको विश्वास जित्दै मितव्ययी सरकार सञ्चालन गर्नुपर्ने चुनौती छ । आगामी दिनमा उनले लिने पहलकदमी र कार्यले नै उनको अझै ठुलो राजनीतिक उचाइ निर्धारण गर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप