बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

बागमती सरकारको नीति कार्यक्रम आज आउँदै

बुधबार, १४ जेठ २०८२, ०६ : ४३
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा बैठक जेठ १४ गते १ बजेका लागि आह्वान गरिएको छ ।
  • मुख्यमन्त्री बहादुर सिंह लामाका अनुसार कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकता दिइनेछ । प्रभावकारी र उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने तयारी छ ।
  • मन्त्रीपरिषद् बैठकबाट स्वीकृत नीति कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुखलाई निमन्त्रणा गरिएको छ। सभामुखले सांसदहरूलाई समयमै उपस्थित हुन निर्देशन दिएका छन्।

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति कार्यक्रम आज सार्वजनिक हुँदै छ । सरकारको नीति कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभा बैठक समेत आह्वान गरेको छ ।

सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न संसद्को बैठक जेठ १४ गते १ बजेका लागि आह्वान भएको छ भने नीति कार्यक्रम वाचन गर्न प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई औपचारिक निमन्त्रणा समेत गरिएको छ । उक्त बैठकमा सबै सांसदहरूलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १० मिनेट अगावै उपस्थित हुन सभामुख भुवनकुमार पाठकले निर्देशन गरेका छन् ।

प्रदेश सरकारले विषयगत मन्त्रालयहरूबाट तयार पारिएको नीति कार्यक्रमलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकबाट समेत स्वीकृत गरिएको छ ।

प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रूपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जानकारी दिए ।

सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ डङ्गका कार्यक्रम ल्याउने तयारीमा उनले बताए । भद्दा र नारा मात्रै समेटिएको नीति कार्यक्रमको विकल्पमा प्रभावकारी र उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने गरी सरकारले तथ्य परक हुने गरी तयारी गरेको उनले बताए । सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ ।

यसअघि प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि संसद्को बुधबार र बिहीबार बसेको बैठकमा छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप