बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसभित्र मत बलियो

विश्वासको मत दिए नयाँ समीकरणको ढोका खुल्ने विश्वास
सोमबार, २५ पुस २०७९, १० : ०५
सोमबार, २५ पुस २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे नेपाली कांग्रेसका नेताहरु विभाजित देखाएका छन् । २६ पुसमा विश्वास मत लिने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसका थुप्रै शीर्ष नेताहरु सकारात्मक देखिएका हुन् ।

पुस १० मा प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा समर्थन नगरेका कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी (लोसपा)ले विश्वासको मत दिने सङ्केत गरेका छन् ।

सात दलीय सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत रहँदा पनि प्रधानमन्त्री प्रचण्डले कांग्रेसको साथ खोजेको अवस्था छ । उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि छलफल गरिरहेका छन् । राष्ट्रिय सहमतिको सरकारका नाममा माओवादीले विश्वासको मत मागेपछि कांग्रेसमा ठूलो पङ्क्ति सकारात्मक देखिएको छ ।

सात दलीय गठबन्धन तत्काल भत्काउने प्रयास सफल नहुने निष्कर्षमा पुगेका देउवाको रणनीति प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धनमा अविश्वास पैदा गराउने देखिन्छ ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले गत बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत मागेका थिए । सभापति देउवाको निवास धुम्बाराहीमा पुगेर शर्माले प्रचण्डलाई विश्वासको मत दिन औपचारिक रूपमा प्रस्ताव राखेका थिए । उपमहासचिव शर्माको प्रस्तावमाथि कांग्रेसभित्र आन्तरिक छलफल चलिरहेको छ । आन्तरिक छलफलमा प्रचण्डलाई विश्वासको मत दिनुपर्ने मत कांग्रेसभित्र बलियो बन्दै गएको देखिन्छ ।

विहीबार साँझ महामन्त्री विश्वप्रकाश शर्माको निवासमा महामन्त्रीद्वय गगन थापा, शर्मा र संसदीय दलको मुख्य सचेतक रमेश लेखकबीच छलफल भएको थियो । यस्तै शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पूर्व अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । शुक्रबार साँझ नै सभापति देउवाले प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे पार्टीका शीर्ष नेतासँग छलफल गरेका थिए ।

देउवासँगको छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए । देउवाले गठबन्धन भत्किनुको कारण र आगामी सम्भावनाबारे छलफल गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार विश्वासको मत दिएर प्रतिपक्षमा बस्न मिल्छ कि मिल्दैन भनेर छलफल भएको थियो । सात दलीय गठबन्धन तत्काल भत्काउने प्रयास सफल नहुने निष्कर्षमा पुगेका देउवाको रणनीति प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धनमा अविश्वास पैदा गराउने देखिन्छ ।

यता विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्न सकिने उपसभापति खड्काको तर्क थियो । सिंहदरबारस्थित कार्यालयमा शनिबार बसेको कांग्रेस संसदीय दल बैठक निर्णयले पनि त्यसको सङ्केत देखाउँछ । संसदीय दलको पहिलो बैठकले पार्टी प्रमुख प्रतिपक्षमा बस्ने उल्लेख गरेका छैन । ‘प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनताको विश्वास र पार्टीका साथीहरूको अपेक्षाबमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्न यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ,’ दलको निर्णयमा भनिएको छ ।

यद्यपि विश्वासको मतबारे शनिबारको संसदीय दल बैठकमा विमर्श भने नभएको कांग्रेस सांसदहरू बताउँछन् । प्रचण्डलाई विश्वासको मत दिने वा नदिने निर्णय २६ गते बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय हुने मुख्य सचेतक लेखकले बताए ।

शनिबार साँझ उपसभापति खड्काले आफ्नो निवासमा बोलाएर महामन्त्रीद्वय थापा र शर्मासँग संवाद गरेका थिए । प्रचण्डलाई विश्वासको मत दिएर जानु राम्रो हुने खड्काको तर्क थियो । खड्काले माओवादी केन्द्रका नेताहरुसँग भएको संवादको ब्रिफिङ सुनाएका थिए । विश्वासको मत दिए कांग्रेसले सभामुख पाउने खड्काको दाबी थियो । महामन्त्री शर्मा पनि विश्वासको मत दिनुपर्ने पक्षमा छन् ।

कांग्रेस एक पदाधिकारीका अनुसार सभापति देउवा, नेताहरू पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह लगायत विश्वासको मत दिनुपर्ने पक्षमा उभिएको अवस्था छ । महामन्त्री थापा, मुख्य सचेतक लेखक, प्रदीप पौडेल लागतय विश्वासको मत दिन नहुने पक्षमा रहेको देखिन्छ । 

विश्वासको मत दिए नयाँ सम्भावना खुल्छ भनेर भारतले पार्टीका केही नेताहरूलाई सुझाएको छ । नेताहरूका अनुसार एमालेलाई राष्ट्रपति र सभामुख दुवै पद नदिन कांग्रेसलाई विश्वासको मत दिन लगाएर भारतले चलखेल गर्न खोजेको देखिन्छ ।

विश्वासको मतको बदला कांग्रेसले पाउने के हो भन्ने कांग्रेसमा केही नेताको प्रश्न छ । ‘प्रचण्डलाई विश्वासको मत दिनका लागि कांग्रेसले सभामुख वा राष्ट्रपति पाउने ग्यारेन्टी हुनुपर्छ । उहाँले त्यो दिन सक्नुहुन्छ जस्तो लाग्दैन । अनि कसरी विश्वासको मत दिने ?,’ एक नेताले भने । 

माओवादीसँगको संवादमा रहेका खड्का विश्वासको मतले राष्ट्रपति र सभामुखको भागबण्डाको आधार बन्ने सुनाउँछन् । ‘माओवादीका नेताहरूले अहिले नै केही दिन सक्दैनौँ । विश्वासको मत दिनुभयो भने आधार बन्छ भनिराख्नु भएको छ,’ उनको भनाइ छ ।

माओवादीका नेताहरूले विश्वासको मत दिए नयाँ समीकरणको ढोका खुल्ने विश्वास लिएको अवस्था छ । तर विश्वासको मत दिए कांग्रेसले राष्ट्रपति वा सभामुख पाउँछ भनेर माओवादीले ग्यारेन्टी दिन सकेको छैन ।

भारतको चलखेल

भावी सम्भावनाको आशामा कांग्रेसका दुई तिहाइ सांसद विश्वासको मत दिने पक्षमा देखिएका छन् । यसका पछाडि छिमेकी राष्ट्र भारत पनि जोडिएको बुझिएको छ । प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसलाई भारतबाट दबाब आएको नेताहरू बताउँछन् । कांग्रेसका एक नेताले भने, ‘विश्वासको मत दिनुपर्छ भनेर पारिका (भारत) मान्छेको एकदम ठूलो प्रेसर छ । यहाँका नेताहरूको पनि आ–आफ्नो विश्लेषणसहित मत दिनुपर्छ भन्ने छ ।’

ती नेताका अनुसार विश्वासको मत दिए नयाँ सम्भावना खुल्छ भनेर भारतले पार्टीका केही नेताहरूलाई सुझाएको छ । नेताहरूका अनुसार एमालेलाई राष्ट्रपति र सभामुख दुवै पद नदिन कांग्रेसलाई विश्वासको मत दिन लगाएर भारतले चलखेल गर्न खोजेको देखिन्छ ।

भारतको चलखेलपछि प्रतिपक्षमा बस्ने कि सरकारलाई विश्वासको मत दिने भनेर कांग्रेस द्विविधा परेको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा चुनाव लडेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने सङ्केत गरेको छ । आइतबार बसेको लोसपा कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने सम्बन्धमा अध्यक्ष महन्थ ठाकुरलाई अधिकार दिएको छ । कांग्रेसले विश्वासको मत दिए लोसपाले पनि त्यही बाटो पछ्याउने पक्का जस्तै छ । 

ओलीले भारतलाई लक्षित गर्दै छिमेकी पर्खालबाट पसेर सरकार फेर्नुपर्ने भन्दै लागिरहेको बताएका थिए । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई छिमेकी ढोकाबाट नपसेर पर्खाल चढेर कम्पाउन्डमा आएको ओलीको भनाइ थियो । ‘हाम्रा मित्रहरू ढोकाबाट होइन । पर्खालमाथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन्,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप