बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
प्रतिनिधि सभा

पहिलो बैठकमा केपी ओलीदेखि रवि लामिछाने र सिके राउतसम्मले के भने ?

सोमबार, २५ पुस २०७९, १८ : २२
सोमबार, २५ पुस २०७९

काठमाडौं । निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो बैठक बसेको छ । सोमबार नयाँ बानेश्वरको संसद् भवनमा बसेको बैठकमा विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूले आफ्नो विचार व्यक्त गरेका छन् । 

पहिलो बैठकले अर्को व्यवस्था नभएसम्मका लागि प्रतिनिधि सभा नियमावली २०७५ अनुसार बैठक सञ्चालन गर्ने विषयमा स्वीकृति जनाएको छ । यस्तै सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि ७ सांसद मनोनीत भएका छन् ।

बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरू ईश्वरी न्यौपाने, चन्दा कार्की, देवराज घिमिरे, प्रतीक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशिला श्रीपाली ठकुरीलाई मनोनयन गरेका छन् । बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले लिखित मन्तव्य राखेका थिए । त्यसपछि दलीय आधारमा अन्य नेताहरूलाई बोल्नका लागि समय निर्धारण गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्डको लिखित सम्बोधन : हामी निरन्तर जनताको निगरानीमा छौँ 

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूलाई जनताले सशर्त समर्थन गरेको बताए । प्रतिनिधि सभा बैठकमा लिखित मन्तव्य राख्दै प्रचण्डले जनताको निरन्तर निगरानीमा रहेको बताएका हुन् । उनले विविधताको फूलबारी जस्तो संसद् रहेको भन्दै त्यसमा गर्व गर्न आग्रह गरे । प्रतिनिधि सभामा विभिन्न जातीय, धार्मिक, भौगोलिक विविधताको प्रतिनिधित्व गर्ने भएकोले राष्ट्रको सच्चा प्रतिनिधित्व रहेको बताए ।

उनले भने,‘हामी फरक फरक राजनीतिक पार्टीबाट आएका छौँ तर जनताको सुशासन र विकास प्राप्तिको उद्देश्य भने साझा रहेका छन् । मलाई विश्वास छ हामी प्रतिक्रियाको हैन क्रियाको राजनीति गर्नेछौँ । हामी साझा प्रतिबद्धतामा एक ठाउँमा उभिने छौँ । हामी भर्खर जनताबाट आएका हौँ । त्यसैले जनताका गुनासा, चासो र चिन्तालाई हामीले अत्यन्तै नजिकबाट महसुस गरेका छौँ । हामीलाई समस्याहरू केलाएर बस्ने छुट छैन । समाधानको सूत्र खोज्नुछ र समाधानतिर अगाडि बढ्नुछ ।’ उनले यो प्रतिनिधि सभा सार्थक संवादको थलो बन्ने विश्वास समेत व्यक्त गरेका छन् । 

नयाँ दलहरूको संसद् प्रवेशलाई हृदयदेखि स्वागत छ ! 

प्रचण्डले संसद्मा प्रवेश गरेका नयाँ दलहरूलाई स्वागत गरे । प्रचण्डले  यो पटक प्रतिनिधि सभामा नयाँ दलहरूको प्रवेश भएको बताउँदै नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभुताको जीत भएको उल्लेख गरे । नयाँ दलमा केही गर्ने चाहना र हुटहुटी रहेको भन्दै सो यो संसद्को पुँजीको रूपमा रहेको बताए । 

उनले भने,‘मलाई विश्वास छ तपाईँहरूको आवेग रचनात्मक हुनेछ । संसद्मा तपाईँहरूलाई हृदयदेखि नै स्वागत छ । यो संसद्को अर्जुन दृष्टि सुशासन र समृद्धि हुनेछ । केही हुँदैन भन्ने हीन भावनाको ठाउँमा गरे के हुँदैन आशा र उत्साह जगाउनुछ ।’ उनले राजनीतिको भावनालाई आर्थिक उन्नतिमा लगाउनुपर्ने र राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए । 

प्रचण्डले विश्वासको मत पाउनेमा ओली ढुक्क, देखाए चुनौती पनि 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने कुरामा आफू ढुक्क रहेको बताएका छन् । अध्यक्ष ओलीले साथसाथै चुनौती पनि रहेको बताएका हुन् । उनले सरकारका लागि सहज परिस्थिति भने नरहेको बताए । नयाँ चुनावपछि देशले परिवर्तन खोजिरहेको बताउँदै अहिले सरकार गठनबाट पनि परिवर्तन देखिएको बताए । 

उनले देश र जनताको लागि काम गर्नका लागि सांसद र सरकार भएर आएको बताउँदै जनताले केही नयाँ परिवर्तनको आशा राखेर नयाँ राजनीतिक पार्टी संसद्मा आएको उल्लेख गरे । व्यक्तिको मानसम्मानका लागि नभई देश चलाउन, देशमा उन्नति प्रगति गर्न र जनताका लागि काम गर्न सरकार बन्नुपर्ने बताउँदै त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिए । 

उनले विभिन्न चुनौतीहरू रहेको बताउँदै त्यसको समाधानका लागि काम गर्नुपर्ने बताए । अध्यक्ष ओलीले भने,‘हाम्रा अगाडि धेरै चुनौतीहरू रहेका छन् । सुशासनको चुनौती छ, भ्रष्टाचार निर्मूल गर्ने चुनौती छ, हिजोका विभिन्न आन्दोलनका घाउहरू तिनीहरुकोमा मल्हमपट्टी गर्ने चुनौती छ । जनताका विभिन्न अपेक्षाहरू छन् । अहिले पनि विभिन्न राजबन्दीहरू तत्समम्बन्धी समस्याको समाधान गर्नुछ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्नुपर्ने यी चुनौतीहरू छन् । अब हामीले एउटा गम्भीर शिक्षा लिनुपर्छ । अब हामी लोकतान्त्रिक मूल्य मान्यतामा चल्नुपर्छ ।’

उनले सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा समय बित्यो भने कहिले काम गर्ने ? भन्ने प्रश्न गर्दै गोटी चालाचाल छोडेर काम गर्ने बाटो समात्न आग्रह गरे । 

ओलीले फेरी गरे संसद् विघटनको प्रतिरक्षा : संसद् विघटन प्रतिगमन हैन 

एमाले अध्यक्ष ओलीले आफूले गरेको प्रतिनिधि सभा विघटनको प्रतिरक्षा गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा संवोधन गर्दै अध्यक्ष ओलीले भने,‘एकताका नेपालमा बढो हल्ला चलाइयो । प्रतिनिधि सभा विघटन प्रतिगमन हो भनेर । बेलायतमा कति पटक प्रतिगमन भएछ त्यसो भएन । संसद्को जन्मजात देशमा अस्तिसम्म पनि प्रतिगमन भएको भई थियो । त्यति धेरै जान्नेपनि नहोउँ कि । मौका अनुसारको यति धेरै ब्याख्या पनि नगरौँ कि जस्तो पनि लाग्छ । प्रतिनिधि सभा भङ्ग हुनु प्रतिगमन हैन, जनताका अधिकारका लागि जनतामा जानु र सार्वभौम अधिकारबाट आदेश प्राप्त गर्नु प्रतिगमन हैन । संसद्बाट सरकार बन्नु, संसद्बाट सरकार ढल्नु प्रतिगमन हैन । अन्यत्र लगेर सरकार ढाल्ने काम गरियो भने प्रतिगमन हुन्छ । अहिलेको गठबन्धन प्रतिगमनको पक्षमा छैन, जाँदैन ।’

संसदको रोष्टममा रवि लामिछाने : अपराध गर्ने आफ्नो मान्छे छोड्नुप¥यो भनेर फोन नगर्नुहोला 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार सम्पूर्ण पुराना फाइल खोल्नुपर्ने बताएका छन् । उनले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो दलले यो विषयलाई राखेको र अब निर्मम भएर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने बताए । 

उनले आफ्नो दललाई जनताले आशाको मत दिएको उल्लेख गरे । उनले भने,‘पार्टीका रूपमा एउटा नयाँ पार्टीको उदय हुनु नेपालको राजनीतिक इतिहासमा त्यति ठुलो कुरा हैन होला । तर जुन समय अवधिभित्र हामीले जुन विश्वास प्राप्त गरेका छौँ, त्यो कुनै उम्मेदवारलाई दिएको मात्र मात्र हैन, अब यो देशमा परिवर्तन आवश्यक छ भनेर नेपाली जनताले बताएको घण्टीको ध्वनि हो । त्यो ध्वनिलाई यो सम्मानित संसद्ले सुन्नेछ र सिंगो देशले सुन्ने छ ।’

उनले आफ्नो दललाई आउने स्यावासीसँगै तपाईँले पाएको मत निराशाको मत हो भनेर लाञ्छना लाग्दै आएको बताउँदै आफ्नो दलले पाएको मत आशाको मत रहेको बताए । नेपाली जनताले जानेर वा नजानेर नयाँ र पुराना दलहरूलाई ठिक्क मत दिएको बताउँदै नयाँलाई पनि धेरै नमात्तिने र पुरानालाई पनि सचेत गराउने तरिकाले मत दिएको बताए । जनताले दिएको जनमत अनुसार नै अहिलेको सरकार बनेको उल्लेख गरे । उनले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमबाट देश र जनताको पक्षमा परिवर्तन गर्न सकिने उल्लेख गरे ।  

उनले आफ्नो कार्यकालमा कुनैपनि अनियमिता नगर्ने बाचा गर्दै भ्रष्टाचारी वा अपराध कर्ममा लागेका मान्छेको अनुसन्धान प्रभावित पार्नका लागि आफूलाई नभन्न पनि उनले आग्रह गरे । उनले आफ्नो दलका कुनैपनि सांसदहरूबाट अनियमिता हुन नदिने भन्दै छातीमा हात राखेर प्रतिबद्धता व्यक्त गरे । 

संसद्मा लिङ्देनको प्रतिबद्धता : राप्रपा राजनीतिक अस्थिरताको कारक बन्ने छैन 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले राप्रपा राजनीतिक अस्थिरताको कारक नबन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   लिङ्देनले अहिलेको जनादेशले कुनैपनि राजनीतिक दललाई विश्वास गर्न नसकेको बताउँदै सबै राजनीतिक दल मिलेर मात्र यो देशको अगाडि बढाउनुपर्छ भनेर जनतादेश आएको उल्लेख गरे । 

देशमा अहिले सबैकुरा ओरालो लागेको बताउँदै बेरोजगारी बढिरहेको, उमेर पुगेको भोलिपल्ट युवाले पासपोर्ट बनाएर बाउआमाको काख छोडेर हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले किसानले मलबिउ नपाएको, विकास निर्माणको कामले गति नलिएको बताए । 

उनले भने,‘हामी कसैले कसैलाई निषेध गरेर जाने अवस्था छैन । हामी सबैको विचारभन्दा माथि देश छ । देशभन्दा माथि अर्को केही छैन । त्यसकारण देशमा शिरमाथि राखेर देशमा तमाम समस्या समाधान गर्न अग्रसर भएर जुटौँ । राप्रपा सुशासन, सेवा प्रवाहको दृष्टिकोणमा विगतमा झैँ दृढताका साथ उभिने छ । राप्रपा कहिलेपनि राजनीतिक अस्थिरताको कारक बन्ने छैन ।’उनले संसद्मा प्रवेश गरेका नयाँ दलहरूलाई स्वागत पनि गरेका छन् । 

प्रचण्डलाई माधव नेपालको शुभकामना : जनताले महशुस गर्नेगरी काम अघि बढोस्

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैले परिवर्तनको महशुस गराउनेगरी काम गर्न शुभकामना दिएका छन् । अध्यक्ष नेपालले बोली र व्यवहारमा सामन्सज्यता आउनेगरी काम गर्न आग्रह गर्दै कार्यकाल सफलताको कामना गरेका छन् । 

उनले भने,‘भोलि त विश्वासको मत लिनुछ, यो कार्यकाल कति दिनको भन्ने प्रश्न आउला ? तपाईँहरूको आफ्नै पनि बहुमतको संख्या पुगिरहेकै छ । सबैले राजनीतिक स्थायित्वको कामना पनि गरेका छन्, हामी चाहँदैनौँ छिन–छिनमा सरकार परिवर्तन होस । विगतका अनुभवहरूले हामीलाई केही शिक्षा दिएको छ । त्यस हुनाले विगतबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अगाडि बढ्न सक्नुपर्छ ।’

उनले प्रधानमन्त्रीले संविधान मिच्ने नभई वर्तमान प्रधानमन्त्रीले संविधानको पालना गरेर जाने कुरामा विश्वास लिएको बताए । उनले ५ वर्षको कार्यकालमा यो संसद्ले निकै महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिए । 

देशको अखण्डताका लागि संघीयता आवश्यक छ : सिके राउत 

जनमत पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता सिके राउतले नेपालको अखण्डताका लागि संघीयता बलियो बनाउनुपर्ने बताएका छन् । अध्यक्ष राउतले संघीयतालाई सबल बनाउन जोड दिए ।

उनले भने,‘नेपाल हरेक दृष्टिकोणमा, हरेक आयाममा विविधतापूर्ण देश हो, जातीय संरचनादेखि लिएर भौगोलिक संरचनासम्म । बहुभाषिक, बहुसाँस्कृतिक, बहुराष्ट्रिय देश हो । त्यो आधारमा यो देशमा संघीयता आवश्यक छ भनेर स्मरण गराउँन चाहन्छु । देशको अखण्डताका लागि संघीयता आवश्यक रहेको प्रमाणको रुपमा म तपाईँहरूको अगाडि उपस्थित छु । संघीयतालाई सबल बनाउन यो सरकारले उपयुक्त कदम चाल्ने छ भन्ने कुरामा म विश्वस्त रहेको छु ।’

उनले यो देशका लागि गणतान्त्रिक व्यवस्था हुनु नौलो कुरा नभएको बताउँदै इशापूर्व छैटौं शताब्दीमा प्लेटोले गणतन्त्र शब्द नलेख्दै मधेसमा गणतान्त्रिक व्यवस्था रहेको दाबी गरे । मधेसमा बज्जी गणतन्त्र, कपिलवस्तु गणतन्त्र रहेको उल्लेख गरे । उनले हिजो टिकट काटेर समेत जान नसक्ने ठाउँमा जनता निर्वाचित भएर पुगेको बताउँदै गणतन्त्रप्रति जनमत पार्टीको उच्च सम्मान रहेको बताए । उनले यो व्यवस्थाको संरक्षणका लागि जनमत पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे । 

अहिलेको निर्वाचनले गम्भीर संकेतहरु देखाएका छन् : शरदसिंह भण्डारी

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरदसिंह भण्डारीले हालै सम्पन्न निर्वाचनबाट आएको जनमतले गम्भीर संकेतहरु देखाएको बताउँदै त्यसबारे ठुला दलहरू सचेत हुनुपर्ने बताएका छन् । सांसद सिंहले निर्वाचनबाट नयाँ दल, नयाँ शक्ति र नयाँ सदस्य आएको बताउँदै यसले केही न केही सन्देश दिएको बताए । 

उनले भने,‘यो निर्वाचन जीत र हारका लागि मात्र पनि हैन । यसले गम्भीर सन्देश बोकेर आएको छ । मभन्दा अगाडि बोल्ने नेताहरूबाट पनि मैले यसबारे छनक पाएँ । जनता आक्रोशित छन्, निराश छन् तर रवि लामिछानेले भनेजस्तै आशा पनि राखेका छन् ।’

उनले संसद्मा जनताका कुरा प्रतिध्वनि भयो भने संसद्प्रति जनताको आस्था पनि बढ्ने बताउँदै सडकमा आक्रोस पनि नपोखिने बताए । उनले जनताको सबै आक्रोश अहिले संसद्मा प्रतिनिधित्व भएको उनको भनाई छ । 

रञ्जिता चौधरीले संसद्मा गरिन् आफ्ना श्रीमान् रेशमको रिहाइको माग  

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टिकापुर घटना बन्द कोठाभित्र नभएको बताएकी छिन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीको संसदीय दलको नेता समेत रहकी श्रेष्ठले खुला स्थानमा भएको घटनालाई लिएर रेशम चौधरी र निर्दोष थारुहरुलाई थुन्ने काम भएको उल्लेख गरिन् । 

उनले भनिन्–‘कानुनका ज्ञाता भन्छन्, वारदात स्थलमा उपस्थित नभएको व्यक्तिलाई मुद्दा लगाउन पाइँदैन । माननीय रेशम चौधरी लगायतका निर्दोष थारुहरूको अभियोग पत्रमा उनीहरू बारदात स्थलमा उपस्थित नभएको स्पष्ट छ । रेशम चौधरी घटना भएको दिन २१ किलोमिटर टाढा लम्कीको टावरको सम्पर्कमा थिए । तर रेशम चौधरीलाई किन मुद्दा लगाइयो ?’ उनले चौधरीलाई कांग्रेस एमालेको कार्यकर्ता नभएका कारण झुटो मुद्दा लगाइएको दाबी गरिन् । थारु भएकै कारण ५ वर्षदेखि मुद्दा लगाएर राज्यले उनीहरूलाई थुनामा राखेको उनले दाबी गरिन् । उनीहरुले हामी यो देशको भूमीपुत्र हौँ हामीलाई थारु हुनुको परिचय मात्र मागेको उल्लेख गर्दै रिहाइको माग गरिन् ।

प्रचण्डलाई चित्रबहादुरको प्रश्न : त्यो गठबन्धन कता गयो ?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नेपालमा सांसद र मन्त्रीहरूको कारखाना खोलेर देशको विकास नहुने बताएका छन् । केसीले गणतन्त्रको पक्षमा लडेकाहरुबाटै गणतन्त्र खतरामा परेको दाबी गरे । 

उनले नेताहरूले सत्ता र पदका लागि मरिहत्ते गर्ने गरेको भन्दै देशलाई आर्थिक सामाजिक रूपले माथि पुर्‍याउने भनेर धेरैपटक कवोल गरिए पनि पुरा नभएको बताए । ‘यो रोष्ट्रमबाट कसैले पनि देशमा भ्रष्टाचार गर्नुपर्छ, राष्ट्रियता,अखण्डता र सार्वभौमसत्तामा सौदावाजी गर्नुपर्छ, त्यसो गरेर सरकारमा जानुपर्छ । कालाबजारीयालाई संरक्षण गर्नुपर्छ,सेटिङमा राज्य चलाउनुपर्छ भनेर यो रोष्ट्रमबाट कसैले भनेको मैले सुनेको छैन’, केसीले भने, ‘म यसपटक समेत चार पटक सदनमा आएको छु ।  जजसले पनि यहाँ मिठा चिप्ला कुरा गरे, यो जनताले सदाबहार सुनिरहेका हुन ।’

उनले मुलुकको अर्थतन्त्र डामाडोल भएको भन्दै त्यसतर्फ सोच्न जरुरी रहेको बताए । ‘अहिले पनि मुलुकको अर्थतन्त्र डामाडोल भएको कुरा हामी सबैलाई थाहा छ । यो संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपाल नेपाल स्वीजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाका बखत धेरैले पानी खादै वकालत गरेको मैले सुनेको थिएँ । भयो त स्वीजरल्याण्ड ?’, केसीले प्रश्न गरे । 

उनले देशमा उद्योग कलकारखाना खोल्न नपर्ने ? भन्दै ‘भएका कारखाना निजीकरण गर्ने, कारखाना संघीय प्रणालीअनुसार खोलेको सांसद र मन्त्रीहरूको । देशमा सांसद र मन्त्रीको संख्या बढी भयो भने देशको अर्थतन्त्रले धान्छ ? कुनचाही प्रधानमन्त्रीले देशको भ्रष्टाचार बढाउनुपर्छ, अन्त्य गर्नुहुँदैन भनेर भनेको छ ? व्यवहारमा के छ ? देश अहिले पनि वेवारिसे नै छ ।’

उनले राजनीतिक पार्टी र नेताहरूमा जसरी पनि सत्तामा जाने ध्यानबाहेक सिद्धान्त र नीतिलाई लत्त्याउने गरेको बताए । ‘चुनाव लडिसक्नुछैन । यो कसका कारणले हो ? कसैले थोपरेको हो ? हामीले यही चरित्र कायम गरिरह्यौ भने हामीले देश जोगाउन सक्दैनौ, संघीयता त जोगिँदैन नै’, उनले भने, ‘केही सांसद र मन्त्री बनाउँदा केही खुसी त भइएला । म जनतामा जाँदा प्राय जनताले तपाईँले संघीयता खारेज गर्ने भएकाले भोट दिन्छौ भने ।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार ११ बजे बस्दैछ । भोलिको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप