शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संगठनको महाधिवेशन र स्ववियु चुनावको तयारी सँगसँगै गर्छौँ : अनेरास्ववियु महासचिव बडाल

बिहीबार, २८ पुस २०७९, ११ : ३१
बिहीबार, २८ पुस २०७९

काठमाडौं । त्रिविले १४ वर्षपछि स्ववियुको चुनावको घोषणा गरेसँगै विद्यार्थी संगठनहरूले तयारी थालेका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पनि चुनावी अभियान थालेको छ । 

अनेरास्ववियुले स्ववियु चुनाव र संगठनको महाधिवेशनलाई सँगसँगै अघि बढाएको छ । अनेरास्ववियुले त्यसका लागि क्याम्पस कमिटी भेला, जिल्ला भेला, अधिवेशनहरूलाई अगाडि बढाएको छ । प्रस्तुत छ, स्ववियु चुनाव र यसको तयारीका विषयमा अनेरास्ववियुका महासचिव समिक बडालसँग गरिएको कुराकानीः 

स्ववियु चुनावको तयारी थाल्नुभयो ? 

चुनावको तयारी सुरु गरिसकेका छौँ । अहिले हामी संगठनको पनि महाधिवेशनको तयारीमा छौँ । स्ववियुको चुनाव अगाडि नै हाम्रो महाधिवेशन गरेर फ्रेस म्याण्डेडसहित निर्वाचनमा जाने तयारी छ । त्यसैले, स्ववियु चुनावभन्दा अगाडि नै महाधिवेशन गर्छौ । माघ महिनाभित्रमा महाधिवेशन गरिसक्छौँ । त्यसपछि फ्रेस म्याण्डेडसहित स्ववियु चुनावमा जान्छौँ । 

स्ववियु चुनाव अगाडि महाधिवेशन गर्न सकिन्छ त ?  

किन नसक्नु । स्ववियुमा हाम्रा मातहतका संगठनलाई पुनर्ताजगी पनि हुन्छ । त्यो फ्रेस निर्वाचन हुन्छ । त्यही आधारमा संगठनलाई हाँक्छौँ । महाधिवेशन नहुँदा संगठनभित्र एक खालको शिथिलता आएको थियो । त्यसैले, महाधिवेशन गरेर चुनाव जान सकियो भने राम्रो हुन्छ ।

चुनाव नहुँदा स्ववियु संस्था थियो र ? भन्ने कुरा पनि नआउला भन्न सकिने अवस्था छैन । कतिपय जिल्लामा त चुनाव नभएको २० वर्ष भन्दा पनि बढी भइसकेको छ ।

स्ववियु चुनावलाई कसरी हेर्नुभएको छ ? 

यो संस्था विद्यार्थी आन्दोलनको ठूलो उपलब्धि हो । यो उपलब्धिलाई जोगाउनु प्रमुख चुनौती छ । विभिन्न बहानामा, कहिले उमेरको बहानामा, कहिले निर्वाचन प्रणालीको बहानामा स्ववियु निर्वाचन सर्दै आएको छ । त्यस मानेमा पनि स्ववियू निर्वाचनको निरन्तरतालाई जोड दिनुपर्छ । त्रिविले क्यालेण्डरअनुसार स्ववियु निर्वाचन गराउने कुरामा हामी प्रतिबद्ध छौँ । 

स्ववियु चुनावको घोषणा हुनु निकै राम्रो कुरा हो । त्यसका लागि हामी अत्यन्तै हर्षित छौँ । कुनै संगठनले ताला लगायो भने निर्वाचन स्थगित हुने खालका घटनालाई निरुत्साहित गर्ने खालको सुरक्षा व्यवस्था मिलाउनुपर्छ । त्रिविले त्यो गर्छ होला भन्ने हाम्रो अपेक्षा छ । 

विगतका घटनाहरू हेर्दा चुनाव हार्ने अवस्था आयो भने विथोल्ने प्रवृत्ति देखिएको थियो । यस्तो हुन नदिन तपाईंहरू कतिको प्रतिबद्ध हुनुहुन्छ ? 

अहिले स्ववियु निर्वाचन जित्ने र हार्ने भन्दा पनि यो संस्था बचाउने कुरा प्रमुख हो । स्ववियु निर्वाचन हामीले जित्ने हो तर अहिले स्ववियु संस्था बचाउने कि नबचाउने भन्ने कुरामा हाम्रो जोड छ । स्ववियु संस्था बचाउनको लागि पनि हामीले चुनाव चाहेका छौँ । जुनसुकै हालतमा पनि चुनाव हुनुपर्छ । त्यस्ता खालका घटना हुन नदिन राज्यको तर्फबाट भरपुर सुरक्षाको व्यवस्था गर्नुपर्छ । 

चुनाव नहुँदा स्ववियु संस्था थियो र ? भन्ने कुरा पनि नआउला भन्न सकिने अवस्था छैन । कतिपय जिल्लामा त चुनाव नभएको २० वर्ष भन्दा पनि बढी भइसकेको छ । त्यसैले तोकेको मितिमा निर्वाचन गराउने कुरामा ग्यारेन्टी विश्वविद्यालयले गर्नुपर्छ र हामी त्यसका लागि दबाब सिर्जना पनि सँगसँगै गर्छौ । 

परीक्षाको नतिजा प्रकाशन नभईकन कसरी चुनावका लागि भोट माग्नुहुन्छ ? 

निर्वाचनको सन्दर्भमा त्रिविसँग कुरा गर्दा परीक्षाको विषय प्रमुख प्राथमिकताका साथ उठान गरेका छौँ । ६ महिना अगाडि परीक्षा भएका थिए तर त्यसको नतिजा अहिलेसम्म पनि आउन सकेको छैन । हामीले त्रिविसँगको बैठकमा ६ महिनाभन्दा अगाडि भएका परीक्षाको नतिजा प्रकाशन गर्नुपर्ने अडान राखेका छौँ । यो विषयमा त्रिविले पुस मसान्तभित्रमा नतिजा प्रकाशन गर्छौ भनेर प्रतिबद्धता जनाएको थियो । हामीले त्यही प्रतिबद्धतालाई नियालिरहेका छौँ । त्रिविले ६ महिना अगाडि लिइएका सबै परीक्षाको नतिजा पुस मसान्तभित्र निकाल्ने प्रतिबद्धता जाहेर गरेको छ र त्यही आधारमा नतिजा आउनेमा हामी विश्वस्त छौँ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप