सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

डाँडावारिको बिजुली बाउन्न वर्षपछि डाँडापारि

शुक्रबार, २९ पुस २०७९, ०७ : १८
शुक्रबार, २९ पुस २०७९

काभ्रेपलाञ्चोक । भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ तर काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिमा खोला फर्कन ५२ वर्ष कुर्नुपर्यो। डाँडापारिका स्थानीयको नजिकको बजार खोपासीमा बिजुली बलेको ५२ वर्ष पुगिसक्यो तर यहाँका स्थानीयले ग्रामीण विद्युतीकरण र सोलारकै बिजुलीमा भर पर्ने बाध्यता थियो । 

विकासको पटक–पटक आश्वासन पाएका डाडाँपारिवासीको ठूलो सपना पूरा भएपछि स्थानीय प्रशान्त जिम्बाले तामाङ भाषामा यसरी खुसी व्यक्त गरे, “धिनी अफेफा बेलरी मोबाइल रि टावर अखबामुबा दरेम नम्सा रि केन्द्रीय लाइन बत्ती खजी थे समस्या अरे नम्सारिन व्यवसाय लबरी ज्यबा तजी ।” अर्थात् घाम नलाग्दा फोन नटिप्ने समस्या समाधान भएको र बिजुलीले गाउँमै उद्योग खोल्ने वातावरण सिर्जना भएको छ । 

वि।सं। २०२४ सालमा खोपासी जलविद्युत् आयोजना निर्माण भएपछि पनौती आसपास बिजुली बलेको थियो । त्यसपछि नेपालमा धेरै व्यवस्था फेरिए । खोपासीबाट ७० किलोमिटरको दूरीमा रहेको साबिकका १२ वटा गाविसले बिजुली बाल्न मात्रै ५२ वर्ष पर्खनुपर्यो। त्यतिबेलाका १२ वटा गाविस समेटेर बनेको महाभारत र खानीखोला गाउँपालिकामा बिजुली बाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीमा खुसी थपिएको छ । 

बिजुली त्यहाँसम्म पुग्नुमा सङ्घीयता नै कारक बनेको आभास स्थानीयवासीले गरेका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनअघिसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सम्पर्कमा नरहेका महाभारत र खानीखोला गाउँपालिकाका सर्वसाधारण बिजुली बत्तीको उज्यालोमा बस्न पाउने भएपछि खुसियाली छाएको छ । 

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षअघि तत्कालीन नेकपाबाट निर्वाचित जिल्लाका सांसदहरू गङ्गाबहादुर दोङ, गोकुलप्रसाद बास्कोटा, रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल र गोमा भुर्तेललाई लिएर डाँडापारि क्षेत्रको भ्रमण गरेका थिए । 

सो समयमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रमुख समस्याका रूपमा बिजुली बत्ती नपुगेको भन्दै अँध्यारोबाट उज्यालो बनाउने माग राख्नुभएको थियो । त्यसलगत्तै प्रचण्डले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको स्मरण गर्दै जिम्बाले नेपाल सरकारबाट एक अर्ब ५६ करोड रकम विनियोजन गरेर सो कार्य पूरा भएको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप