विकास निर्माणका कामलाई परिणाममुखी बनाउन खोज्दै चन्दननाथ
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले विकास निर्माणका कामलाई परिणाममुखी बनाउन आवश्यक पहल थालेको छ । समयमै योजना सम्झौता गर्नेदेखि असार १५ अगावै योजनाको भुक्तानी दिइसक्ने गरी काम थालेको हो । चन्दननाथ नगरपालिकाको १० औं नगरसभाले अबको विकास योजना नामको मात्र नभई कामकाजी हुनुपर्नेमा जोड दिएको हो । सभाले नगर शिक्षा ऐनको पहिलो संशोधनसहित विभिन्न कार्यविधि पारित गरेको छ ।
नगरप्रमुख राजुसिंह कठायतले हरेक वर्ष सबै योजनाको भुक्तानी असार १५ सम्म दिइसक्ने तयारीमा लागेको बताए । उनले भने, ‘हामी सम्झौता समयमै गरिसक्ने छौं । सकिएका योजनाको भुक्तानी पनि समयमै दिनेछौं ।’ उनले सहरी विकास कार्यालयबाट मात्रै ५० करोडमा नयाँ संरचना बनाउन टेन्डर भइसकेको बताए । ‘मलाई धेरैले बालेन बन्नुप¥यो भनिरहेका छन् । घर भत्काए मात्र मेयर हुने, नभत्काउँदा मेयर नहुने भन्ने हुँदैन । अनुकुलताको आधारमा घर पनि भत्काउँछौं, नयाँ निर्माणको काम पनि अघि बढाउनेछौं ।’
नगरको काम विस्तारै परिणाममुखी हुने उपमेयर रामदेवी खड्काको भनाइ छ । फोहोर मैला व्यवस्थापनका लागि उपकरण ल्याउने तयारी भइरहेको उनले बताइन् । सुन्दर र हराभरा नगर नगरपालिकाको लक्ष्य रहेको भन्दै उनले नगरपालिका सुहाउँदो कानुन तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्ने खाँचो औंल्याइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण