शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘जसपाको जनमत पार्टीसँग मित्रवत सम्बन्ध रहेको छ’

जनताले दलका नेताहरुलाई सुध्रिने मौका दिएका छन्ः राजकिशोर यादव
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । जनता समाजावादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादव आम चुनावमा सिरहा–४ छाडेर सिरहा–२ बाट चुनाव लडे र उनले चुनाव पनि जिते । जहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव हारेका थिए, त्यही राजकिशोर यादवले चुनाव जिते ।

राजकिशोर यादव चुनाव जितेपछि संसदीय दलको नेता उनी नै हुने धेरैको आकलन थियो । उनी नभएपछि पार्टीका संघीय परिषद्का अध्यक्ष अशोक राई संसद दलको नेता हुनुपर्ने थियो तर बाराका रामसहाय यादव नेता चुनिए । यसले पार्टीमा एक खालको असन्तुष्टि देखिएको छ । जसपा नेपाल सरकारमा जाने तयारी गरिरहेको छ । त्यसलाई पार्टीले कसरी व्यवस्थापन गरिरहेको छ । यिनै विषयवस्तुमा केन्द्रीत रही प्रस्तुत छ जसपाका कार्यकारिणी सदस्य एवं सांसद राजकिशोर यादवसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

आफ्नो क्षेत्र छाडेर भए पनि तपाईंले चुनाव जित्नुभयो तर समग्रमा पार्टीले हार्यो । यस्तो किन ?

–पार्टीको हित हुने गरी नै पार्टी नेतृत्वले मलाई सिरहा–२ बाट चुनाव लडाएको हुनुपर्छ । पार्टीले निर्णय गरिसकेपछि मैले त्यसलाई सहस्र स्वीकार गरे । सो क्षेत्रका जनताले मलाई भरपुर सहयोग र आशीर्वाद दिएर जिताए । म जितिरहँदा अपेक्षा गरेअनुसार पार्टीले नतिजा ल्याउन सकेन र त्यसको बारेमा हामीले निर्मम ढंगले समीक्षा गरिरहेका छौं ।

चुनाव लडेपछि जित्ने सबैको अपेक्षा हुन्छ । जहाँसम्म हाम्रो पार्टीका अध्यक्ष उपेन्द्र यादवको कुरा गर्नुहुन्छ भने उहाँले एउटा विद्रोहको, एउटा आन्दोलनको नेतृत्व गरेको नायकको रुपमा आफ्नो व्यक्तित्व बनाउनु भएको छ । देशमा आएको संघीयतालाई सम्बोधन गराउनका लागि उहाँले जुन भूमिका खेल्नुभयो । त्यसमा उहाँले विभिन्न अग्रजमध्ये आफ्नो स्थान छुट्टै बनाउनु भएको छ ।

यसपालीको चुनावमा विभिन्न चलेखल तथा पार्टीभित्रबाट पनि घात अन्तर्घात हुने काम भयो, त्यसैले हार्नुभयो तर अध्यक्षले एउटा चुनावमा हार्दैमा पार्टीले हार्यो भन्ने मूल्याङकन गर्न मिल्दैन ।

उपेन्द्र यादव चुनाव हारेपनि उहाँ पुनः संसदमा आउन चाहना गर्नु भएको जस्तो छ नि ?

–पार्टी अध्यक्ष नै हार्नु भनेको पार्टीका लागि अपूरणिय क्षति भएको छ । तर तपाईंले भनेजस्तो उहाँ संसदमा आउनका लागि अहिलेसम्म कुनै चेष्टा गर्नुभएको छैन । आजसम्म पार्टीमा त्यसको बारेमा उहाँले चर्चा पनि गर्नुभएको छैन । बरु पार्लियामेन्टमा उहाँको उपस्थिति नहुँदा हामीलाई एक प्रकारको कमी महसुस भइरहेको छ ।

मधेस क्रान्तिको नेतृत्व गर्नुभएको र परिवर्तनका संवाहक भएको कारणले संसदमा उहाँको आवश्यकता महसुस भइरहेको छ । तर उहाँ संसदमै जाने त्यस्तो कुनै संकेत गर्नुभएको छैन । उहाँलाई विवादमा ल्याउने काम भइरहेको छ । तर संसदमा उहाँको आवश्यकता छ भनी हामीले महसुस गरेका छौं ।

उपेन्द्र यादव पछिको नेता अशोक राई हुनुहुन्छ तर उहाँलाई संसदीय दलको नेता किन बनाइएन ?

–अलिकति उपेन्द्र यादवप्रति पूर्वाग्राही भएर तपाईंको प्रश्न आइरहेको छ जस्तो लाग्छ । पार्टीको राजनीतिक जीवनमा विभिन्न घटना परिघटना हुन्छ । पार्टीले आफ्नो हित हुने गरी निर्णय गर्छ ।

माननीय अशोक राईजी पार्टीको सिनियर नेता मात्र होइन, उहाँ संघीय परिषद्को अध्यक्ष पनि हुनुुहुन्छ । सम्मानित व्यक्ति हुनुहुन्छ । निर्वाचनपश्चात पार्टीमा जे परिणाम आयो, त्यसबाट हामी निकै दुःखी भयौं । त्यसको बारेमा छलफल हुँदा पार्टीलाई के गर्दा फाइदा हुन्छ भन्दा स्वयं अशोक राईजीले पनि अहिले एउटा म्यासेज दिनु छ ।

तल मधेसका साथीहरुमा जुन प्रकारको निराशा छ, त्यसलाई चिर्नका लागि रामसहाय यादवलाई संसदीय दलको नेता बनाउँदा राम्रै हुन्छ भन्नुभयो र उहाँसँग सल्लाह गरेरै रामसहाय यादवलाई नेता बनाइएको हो ।

हालैको चुनावमा जसपा कमजोर हुनुको मुख्य कारण के हो ?

–यसको बारेमा हामीले निर्मम समीक्षा गर्दैछौं, जिल्ला जिल्लाबाट प्रतिवेदन आइरहेको छ । त्यस प्रवेदनमाथि छलफल हुन्छ र एउटा निष्कर्ष निकालिनेछ ।

अर्को कुरा, चुनावका लागि हामी एक खालको तयारीमा थियौं । एउटा गठबन्धनमा थियौं । तलसम्म त्यही प्रकारको एउटा मनोविज्ञान तयार थियो । गठबन्धनमा रहेका दलहरुको बीचका एक प्रकारको एकरुपता कायम भएको थियो । चुनावभन्दा केही दिन अगाडि अर्को परिस्थिति निर्माण भयो र हामीले गठबन्धन परिवर्तन गर्यौं । त्यसले अलिकति असर गरेको जस्तो मलाई लाग्छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्दा भन्दै ढिलो गरी समर्थन गर्ने निर्णय गर्नुभयो । के कारणले समर्थन गर्नुभयो ?

–परिस्थिति नै त्यस्तो बनेको थियो । पुस १० गते माओवादीका अध्यक्ष प्रचण्ड १२ वजेसम्म बालुवाटारमा छलफल गर्दै हुनुहुन्थ्यो । अचानक भै परिर्वतन अर्को बन्यो । त्यसले गर्दा हामीले निर्णय गर्नमा अलि समय लियौं ।

पार्टीमा छलफल गर्यौं । फेरि गठबन्धनमा छलफल गरेर हाम्रो मुद्दामा सहमति भएपछि हामीले समर्थन दिएका हौं । संविधान संशोधन, संघीयता संस्थागत गर्ने मुद्दामा हामी र प्रचण्डजीको पार्टी नजिक छ ।

तर न्यूनतम साझा कार्यक्रममा त तपाईंहरुको मुद्दा परेन नि ?

–सात दलको गठबन्धन रहेको छ । त्यहाँ सात थरीको विचार छ । हामीले नै सबै कुरा खोजेर हुँदैन । हामीले सोचेको जस्तो हुँदैन । एउटा नागरिकताको मुद्दा परेको छ त्यहाँ । संविधान संशोधन गरेर संविधानको रक्षार्थका लागि कुनै कुरा तलमाथि हुन दिने छैन भन्ने कुरा पनि उल्लेख छ । सुशासनका सवालहरु पनि राखिएको छ । अहिलेको प्राप्त उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ ।

संघीयता नचाहने, गणतन्त्र नचाहने शक्तिसहितको गठबन्धनमा तपाईंहरु कुन सिद्धान्तको आधारमा सहभागी हुनुभयो त ?

–संघीयता र गणतन्त्रका लागि १० वर्ष जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्ड त्यही सरकारको प्रधानमन्त्री हुनुहुन्छ । हामीले प्रधानमन्त्रीलाई हेरेर यो निर्णय लिएका छौं ।

पार्टीको सिद्धान्त, विचार, राजनीतिक कार्यक्रमहरु आआफ्ना होला तर सरकारको न्यूनतम साझा कार्यक्रम हेर्ने हो भने अग्रमन र परिवर्तनको पक्षमा रहेको छ । त्यही भएर हामीले समर्थन गरेका हौँ । त्यो ठाउँमा प्रचण्डबाहेक अरु भइ दिएको भए शंका गर्ने ठाउँ हुन्थ्यो । जसले गणतन्त्रका लागि आफ्नो ज्यानै दाउमा राख्नुभयो, त्यस्तो व्यक्तिमाथि त्यसरी आशंका गर्नुहुँदैन ।

जसपा सरकारमा जान्छ कि विपक्षमा बस्छ ?

–हामीले सरकारलाई समर्थन गरिसकेपछि स्वभाविक रुपमा सत्ता पक्षकै बेन्चमा बसिरहेका छौं । सम्मानजनक अवस्था भयो भने हामी सरकारमा पनि सहभागी हुन्छौं ।

जे उद्देश्यका लागि पार्टी सरकारमा जान्छ, त्यो उद्देश्य परिपूर्तिका लागि त्यो खालको वतावरण निर्माण गरिदिने कुरा प्रधानमन्त्री प्रचण्डको भूमिकामा भर पर्छ ।

जसपाले कतिवटा मन्त्रालयमा दावी गरेको छ ?

–अहिले त्यस विषयमा कुनै छलफल भएको छैन । यो विषय गठबन्धनबाट नै टुंगिने विषय हो ।

समग्रमा मधेस प्रदेशमा जसपा कमजोर भएको छ, जनमत पार्टी नयाँ शक्तिको रुपमा आएको छ । अब त्यो पार्टीसँग टक्कर रहन्छ कि गठबन्धन वा एकता हुन्छ ?

–परिणाम हामीले सोचेकै वरपर आएको छ तर अपेक्षा गरेको जस्तो आएन । जनमत पनि अहिलेको संघीयता, सुशासन, समावेशी र पहिचानप्रति ईमान्दारीपूर्वक अगाडि बढुन् भन्ने हाम्रो चाहना हो । जनताले पनि जनमतलाई त्यो मौका दिएको छ । भविष्यमा उहाँहरुको कार्यशैलीले हेरेर हामी निर्णय गर्छौ । अहिले हामी एउटै गठबन्धनमा छौं, मित्रवत सम्बन्ध रहेको छ ।

अहिले नेकपा एकीकृत समाजवादीसँग एकीकरणको कुरा पनि चलिरहेको छ । यो कसरी अगाडि बढेको छ ?

–हामीले यो देशमा पहिचानको आन्दोलन, मुक्तिको आन्दोलन गरेर आएका छौं । त्यसको लागि हामी शक्ति विस्तार गर्ने पक्षमा छौं । विचार मिल्ने, सिद्धान्त मिल्नेसँग ध्रुवीकरण गरेर जाने भएका छौं । एक अर्काले आवश्यकता महसुस गरेको छ, त्यस आधारमा अगाडि बढेका छौं । एकीकृत समाजवादीसँग मात्र होइन, अरु समान विचारसँग मिलेर पनि अगाडि बढ्ने कुरा भइरहेको छ ।

अहिलेको सरकार तथा संसदमा जुन खालको शक्तिहरुले प्रवेश पाएका छन् । त्यसलाई तपाईले कसरी लिनुभएको छ ?

–नेपाली राजनीतिको डिस्कोर्स फरक ढंगले अगाडि बढेको भान हुन्छ । नेपाली समाजले परिवर्तन खोजेको जस्तो म्यासेज दिएको छ । त्यसले गर्दा यस्तो देखिएको हो । भोलि गएर उनीहरु कुनै बदमाशी गरे भने त्यो फरक कुरा हो तर अहिले जनताको मत लिएर संसदमा आएका हुन् ।

ठूला दलहरुले जे गरिरहेका छन्, त्यसमा एक प्रकारको असन्तुष्टि देखिएको छ । त्यसमा सुधार गर्ने पनि जनताले मौका दिएका छन् । अर्को कुरा, पुस्तान्तरण गर्ने संकेत पनि दिएका छन् । त्यो मतलाई कसैले दुरुपयोग गर्यो भने भोलिको दिनमा त्यसको राम्रो हुँदैन र उपलब्धिलाई पनि बचाउन सकिदैन । परिस्थितिले सच्चिने मौका सबैलाई दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया