सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’

सोमबार, १५ असार २०८३, ०७ : ३०
सोमबार, १५ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनले नयाँ नीति र नेतृत्व छनोट गरेको छ, तर निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठेको छ ।
  • महाधिवेशनले देशको भविष्य र विकासको दिशा तय गर्ने सैद्धान्तिक तथा आर्थिक प्रतिवेदनहरू पारित गरेको छ ।
  • महाधिवेशनमा गुटबन्दी वा समूहगत प्रतिस्पर्धा नभएको र सबै निर्णय सर्वसम्मत भएको दाबी गरिएको छ ।

चितवनमा भर्खर सम्पन्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनले नयाँ नीति र नेतृत्व छनोट गरेको छ । सात जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन  भए पनि त्यसको निष्पक्षातामाथि प्रश्न उठेको छ । 

करिब चार हजार प्रतिनिधि सहभागी भएको महाधिवेशनमा पदाधिकारी छनोट गर्ने दिनसम्म आइपुग्दा ३३ प्रतिशतले मतदाना गरे । 

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले गुटगत तथा समुहगत प्रतिस्पर्धामा रोक लगाए पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो आएका छन् ।

यसै विषयमा अधिवक्ता तथा सहमहामन्त्रीमा पराजित यज्ञमणि न्यौपानेसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंशः 

  • पार्टीको चितवान महाधिवेशनलाई तपाईं कसरी लिनुभएको छ ?

यसलाई मात्र नभई समग्र देशलाई नै कुन दिशा दिने भन्ने सन्दर्भमा तय गरिएको महाधिवेशन हो । नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने अब यसलाई नामकरण गर्नुपर्ने अवस्था आएको छ । 

२००७ साल भन्दा अगाडिको राजनीतिक परिदृश्यलाई हामीले ऐतिहासिक राजनीतिक परिदृश्यका रूपमा हेर्ने हो । ००७ सालदेखि जेनजी विद्रोह हुँदै यो निर्वाचन सम्मको अवस्थालाई आधुनिक कालखण्डको रूपमा हेर्ने हो भने उत्तर आधुनिक कालखण्डको राजनीतिक यात्रा तय भएको छ ।

यस्तो अवस्थामा यो देशलाई कस्तो दिशा दिने ? कस्तो नीति लिने ? देशको दूरगामी असर पर्ने चिजहरूलाई कसरी व्यवस्थापन गर्ने ? यो राष्ट्रलाई अबको ५०औँ १००औँ वर्ष पछाडि हुने विकास क्रमलाई सार्थकता दिनका लागि के कस्ता नीतिहरू लिने भन्ने सन्दर्भमा यो महाधिवेशनले एउटा बाटो तय गर्ने भएकाले यसलाई मैले ३ करोड नेपालीको भाग्य र भविष्यसँग जोडिएको विषय सम्झेको छु । र, यो महाधिवेशन त्यही बाटो तय गर्नका लागि सैद्धान्तिक रूपमा राजनीतिक घोषणापत्र तयार भएको छ । आर्थिक रूपमा अर्थतन्त्र कसरी अगाडि बढ्ने भन्ने कुरा डा. स्वर्णिम वाग्लेको प्रतिवेदन प्रस्तुत भएको छ । र, जस्ताको तस्तै पास भएको छ । रवि लामिछानेज्यूले पेस गरेको राजनीतिक प्रतिवेदनले एउटा दिशा दिने रोडम्याप तय गरेको छ ।

  • महाधिवेशनको बन्द सत्र भनेको प्रतिनिधिहरूले नेतृत्वबाट प्रस्तुत भएको प्रतिवेदनमाथि समूहगत अथवा व्यक्तिगत रूपमा लिखित वा अलिखित रूपमा बहस छलफल चलाउने अभ्यास छ । तर रास्वपाको बन्द सत्रमा केही छलफल भएन । थपडी मार्नुभयो सकियो है ? यही हो दिशा निर्देश ? 

नेताले जे ल्यायो त्यो ठिक छ भन्ने प्रवृत्ति ठिक होइन, तर नेताले ल्याएकै चिज ठिक रहेछ भने त फेरि त्यसलाई अन्यथा भन्न सकिँदैन । राजनीतिक घोषणापत्र अथवा आर्थिकलगायत जुन प्रतिवेदनहरू पेस भए, त्यो पेस भएको प्रतिवेदनमाथि उपस्थित सम्पूर्ण सदस्यहरूलाई यसको पक्षमा को–को हुनुहुन्छ भन्दा १०० प्रतिशत सदस्यहरूले यसलाई पूर्ण रूपमा संशोधन नहुने गरिकन पास भएको र थपघट गर्नुपर्ने परिस्थिति नरहेको, त्यसमा कसैले पनि हात उठाएर मेरो यसमा फरक मत छ भनेको अवस्था नभएका कारण त्यसलाई दफावार छलफलकै रूपमा हामीले बुझ्नुपर्ने हुन्छ ।

  • त्यसोभए चार हजार प्रतिनिधिमध्ये एउटा न एउटाले त केही सुझाव त दिनुपथ्र्यो होला नि ? 

राजनीतिक पार्टीको राजनीतिक घोषणापत्र तयार गर्ने क्रममा अधिवेशन हुँदा स्थानीय तहदेखिका अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन हुँदै गर्दा हामीले केही न केही त्यसका अवयवहरूलाई छलफलको दौरानमा लिएर गएका थियौँ । 

हामीले ती चिजहरूलाई नै समन्वय गरेका थियौँ । अझ कतिपय साथीहरूसँग राय सल्लाह सुझाव पनि हामीले लिएका थियौँ । उहाँहरूले दिएका राय सल्लाह सुझावहरू विभिन्न विभागहरू मार्फत प्रस्तुत भएका थिए । हामीसँग यो राज्यको समग्र विकास र समृद्धिका लागि पार्टी भित्र एउटा छायाको रूपमा विभिन्न विभागहरू छन्, जसले सम्पूर्ण मन्त्रालय र राज्यका इन्स्टिच्युसनहरूलाई नजिकबाट नियालेका हुन्छन् । 

ती निकायहरूसँगको समन्वयमा यो राजनीतिक घोषणापत्र तयार भएको हुँदा समग्र राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूको पूर्ण सहमतिकै दस्तावेजको रूपमा रहेकाले कोही एकजनाले पनि त्यसमा विमति नजनाउनुपर्ने अवस्था सिर्जना गरेको हो ।

लोकतन्त्रको आधार स्तम्भलाई हामीले नजिकबाट बुझेर अगाडि नै यी विषयहरू छलफलको दौरानमा ल्याउनुपर्छ र कर्मकाण्डी रूपमा गर्नुहुँदैन भन्ने बुझाइका साथ सबैलाई यसमा एकमत हुनेगरी यो आएको हुँदा कसैले पनि विमति नजनाउनुभएको हो ।

  • उद्घाटन सत्रको दिन असार ७ गते तपाईंका वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेले पार्टीभित्र समूहगत अथवा प्यानलगत चुनाव लड्न नपाउने भन्नुभएको थियो तर नेतृत्व छनोटको दिनसम्म आइपुग्दा गुटबन्दी मिडियामार्फत छताछुल्ल भयो । यस्ता गतिविधिले पार्टीलाई फाइदा पुर्‍याउँछ कि घाटा ? 

गुटबन्दी र एकले अर्कालाई सपोर्ट गर्नु भनेको फरक कुरा हो । एकले अर्कालाई सहमति गर्नु सपोर्ट गर्नु भनेको व्यक्तिगत प्रभावका कुराहरू हुन् । यसलाई हामीले यसरी नबुझौँ । म पनि त निर्वाचनमा सहमहामन्त्रीमा पराजित भएँ । तर म आज यो भन्न तयार छैन कि गुटका कारण पराजित भएको हो । किनकि एकले अर्कालाई सपोर्ट गर्नु, एकले अर्कालाई यो ठिक छ भन्नु, एकले अर्कालाई यसलाई मतदान गर्नु भनेको त्यो गुटको परिभाषामा पर्दैन । 

राम्रो नराम्रो जस्तै भए पनि तपाईंले मतदान यसैलाई गर्नुपर्छ यो मेरो धार हो । टप टू बटम योदेखि यो सम्म यहाँ छ भन्ने हो । तर त्यहाँ कसको मुनि को छ भनेर दुई धारमा परिणत भएको थिएनन् ।

  • महामन्त्री पदका लागि ११ गते रातभरि सभापति लामिछानले सहमतिको प्रयास गर्नुभयो, सक्नुभएन । भोलिपल्ट दिउँसो मिडिया सेन्टरमा आएर केही प्रतिस्पर्धीले हामी एक भयौँ, हाम्रो समर्थन फलानालाई छ भन्नुको अर्थ के हो ? 

उहाँहरूले हाम्रो विपिन कुमार आचार्यलाई छ भन्नुभयो । हामीकहाँ समर्थन र प्रस्तावक भन्ने फर्ममै व्यवस्था गरिएको छ ।  फर्ममा व्यवस्था गर्नु भनेको मैले फलनालाई समर्थन गर्छु भन्ने हो । २१ जना समर्थक एकजना प्रस्तावक हुने व्यवस्था थियो । कसैले मौखिक रूपमा मिडियामा भन्यो होला, कसैले मिडियाका पहुँचमा गएर भनेनन् होला । तर मलाई पनि २१ जनाले समर्थन गर्छु है भने । त्यो भनेको विधि हो । त्यो विधिलाई गुट भन्न मिलेन । त्यो पद्धति हो । पद्धतिलाई गुटको आकार दिने हो भने तपाईंको विश्वास गर्नु, विश्वासको मत दिनु यी फरक कुरा हुन् । 

जुन फर्म फिल अप गरेर हामीले उम्मेदवारका लागि योग्य हुन्छौँ त्यो नै गलत भो भन्नु पर्‍यो नि । त्यसैले हाम्रो फलनालाई समर्थन छ भन्नु गुट हो भन्ने परिभाषा होइन । गुट भन्नेबित्तिकै त्यसको योदेखि यो सम्म यो लाइन भन्ने हुन्छ । यहाँ त लाइन देखिएन बेलाइन देखियो । मलाई फलानो मनपर्छ मैले छोडिदिएँ है भन्नुलाई गुटको परिभाषाभित्र भन्न मिल्दैन हेर्न ।

  • पदाधिकारीमा सक्षम थुप्रै प्रतिस्पर्धामा उठेका थिए, जसले जिते पनि पार्टीले नै जित्ने हो भनेर प्रतिस्पर्धा गराएको भए के बिग्रिन्थ्यो ? 

पार्टीमा सबै क्यापेबल हुनुहुन्छ, नभएको होइन । महामन्त्रीकै कुरा गर्दा मनिष झालाई पनि २१ जनाले समर्थन गरेर मनोनयन पत्र दर्ता गर्नुभएको हो । उहाँलाई समर्थन गर्ने २१ जना थिए प्रस्तावक एकजना थिए । ती २१ जनाले गएर मिडियामा भन्नुभएन होला या नभने पनि भने पनि ती त उहाँको समर्थक हुन् नि । यसरी के बुझ्नु पर्‍योभन्दा यो गुटगत राजनीति भन्दा पनि एकले अर्कालाई विश्वास गर्ने भनेको लोकतान्त्रिक पद्धति र लोकतन्त्रको चरित्र नै हो । 

  • उनले त पार्टीमा गुटबन्दी सुरु भयो । सभापतिले कारबाही गर्नुपर्छ भनेर मिडिया अगाडि नै भन्नुभएको छ । एकै प्रक्रियाबाट खेलाडी खेल मैदानमा प्रवेश गर्दा प्रतिस्पर्धा गर्न दिएको भए हुन्थेन ? 

कसैले कसैलाई विश्वास गर्नु त्यो राजनीतिक रूपमा गलत हो भन्न त मिलेन नि । नभन्या भए हुन्थ्यो होला त्यो फेरि एउटा पाटो सधैँ छ । ठिक छ नभन्या भए हुन्थ्यो होला नगर्या भए हुन्थ्यो होला । त्यसको कारणले गर्दाखेरि मनिषजीमाथि अन्याय पनि भयो होला । उहाँले प्राप्त गर्ने जनमत घट्यो पनि होला । तर अब एउटाले फलनालाई मत दिनु है हाम्रो मेरो विश्वास छ भन्दैमा त्यहाँ उपस्थित भएकाले मत दिनैपर्छ भन्ने त होइन । त्यसकारण इन्डिभिजुअल त्यहाँ मत हाल्ने पनि हेर्नुहोस् नेता नै हुन्, उठ्ने पनि नेता नै हुन् । विवेक पुर्‍याउने काममा नेताहरूले विवेक पुर्‍याउने हो मतदान गर्ने । त्यसो भएका कारण फलनालाई मेरो विश्वास भो भन्दैमा फलनाले विश्वास गरेकै आधारमा विश्वासै गर्नुपर्छ भन्ने थिएन नि । यसलाई यसरी बुझ्नुपर्छ ।

  • १० जना नै स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको भए त्यो फेयर इलेक्सन भयो भन्ने हुन्छ नि । चुनावी मैदानकै बिचमा समूह बनाएपछि अन्य प्रतिस्पर्धीको रूपमा तुष त रहने भयो नि हैन ? 

तपाईंले भनेको ठिक छ । १० जना नै लडेको भए अर्को हुन्थ्यो होला परिणाम अर्को पनि आउन सक्थ्यो होला । तर म लड्दिनँ भन्नु पनि त लोकतन्त्रमा अधिकार होला फेरि । 

मैले मनोनयन फिर्ता लिएँ भन्ने पनि लोकतन्त्रमा अधिकार होला । मैले फलनालाई समर्थन गर्छु त्यसैले म चुनाव लड्ने मेरो इच्छा बन्द गरेँ भन्ने पनि लोकतन्त्रकै पद्धति होला । त्यसैले उम्मेदवारी फिर्ता लिने भन्ने नियम राष्ट्रिय निर्वाचनमा पनि राखिएको होला नि । 

त्यसैले अब निर्वाचनको विधिमा रहेर मनोनयन पत्र फिर्ता लिनुलाई गुटगत राजनीतिको परिभाषा हो भन्ने कि नभन्ने ? होला म एउटा कुरामा तपाईंको विषयमा समर्थन गर्छु किनभने सबैजना चुनावमा लडेको भए परिणाम जे पनि आउन सक्थ्यो होला । 

केहीले विथड्र गरेका कारण परिणाम अर्को आयो होला । त्यो तपाईंको सहमहामन्त्रीका हकमा पनि केहीले विथड्र गरेका भए परिणाम अर्को आउँथ्यो होला । 

तर सबैले उठ्दा सहमहामन्त्री फेयर भयो महामन्त्री फेयर भएन भन्नचाहिँ पाइएन । होला रिजल्ट यताको उता हुन्थ्यो होला तर के भने त्यो निर्वाचनको पद्धतिभित्र रहेर भएका क्रिया मान्नुपर्छ । जित्दा एउटा व्याख्या हार्दा अर्को व्याख्या त गर्नुभएन ।

  • कतिपयले नेतृत्वको दबाबका कारण विपिनलाई समर्थन गरेको आरोप पनि लगाएका छन् नि ? 

म लड्दिनँ भन्नु, कन्भिन्स हुनु एउटा पाटो हो त्यो तपाईंको गुटगत राजनीति होइन । दोस्रो कुरा त्यो अवस्थामा म पनि त्यहीँ छु । तपाईंहरू मिलेर जानुहोस् भन्या पाटोमा पनि म सँगै छु । मिल्न नसकेको कुरामा पनि म त्यहीँ छु । 

हामीले सभापतिलाई एउटा अधिकार दिन खोज्या थियौँ । हामीले सभापतिलाई तपाईंको कारण यो पार्टी यहाँ पुगेको हो र तपाईंलाई विश्वास गरेर हामी यो पार्टीमा रहेको हुँदाखेरि तपाईंलाई अनुकूलतामा पिक गर्नुहोस् हामीले प्रस्ताव राख्या थियौँ । नभए अरु त्यहाँ भएका प्रत्यक्ष साथीहरूलाई सोध्नुहोला । 

सभापतिज्यूले तपाईंहरू सबैलाई मैले बराबर देख्या छु भन्नुभयो । त्यसैले मैले कुनै एकलाई चुज गर्न सक्दिनँ उहाँले भन्नुभयो । यसको अर्थ के उहाँ विपीनजीलाई नै कम्पलसरी कतै छ भन्ने भएको भए त त्यो हामीले सबैले अधिकार दिँदा उहाँले यस गर्नुहुन्थ्यो होला नि । 

त्यसैले हामी यसरी पनि नबुझौँ कि नेतृत्वचाहिँ एकजना व्यक्तिको पक्षमा मात्रै थियो र छ । यो होइन । परिणाम आइसकेपछि हामीले त्यसरी आकलन गर्नु हुँदैन । त्यो बाकसमा मत विपीनजीको भन्दा मनिषजीको बढी आएको भए कि सभापतिज्यूले स्वीकार गर्नुहुन्नथ्यो र ? स्वीकार गर्नुहुन्थ्यो नि । त्यो मत हाल्ने कुनै पनि व्यक्ति मतदातालाई रवि लामिछानेज्यूले विपीनलाई मत हाल भन्नुभएको हो र ? कतै सुनिएको छ ? छैन नि । 

त्यसैले यस्तो विषयमा सभापतिज्यूलाई ल्याएर जोड्नुचाहिँ हुँदैन । किनभने सभापतिज्यूले अन्तिम अवस्थासम्म उहाँले या त सर्वसम्मत गर या त कम्तीमा एकले अर्कालाई कन्भिन्स गरेर कम उम्मेदवारहरू  चुनावमा जाओ भन्नुभएको हो । 

उहाँलाई हामीले भनेका थियौँ तपाईंले चुज गर्नुहोस् । उहाँले भन्नुभएको थियो मसँग त्यो सामथ्र्य र आँट छैन मेरा लागि तपाईंहरू सबै बराबर हुनुहुन्छ म कसैलाई पनि पिक गर्न सक्ने पोजिसनमा छैन भनिसकेपछि अब के बुझौँ ? 

रिजल्ट आइसकेपछि अनि सभापतिज्यूमाथि प्रश्न उठाउने हो भने त हामी आन्तरिक संघर्षमा पो पुग्न थाल्छौँ  । राजनीति हामीले पुराना राजनीतिक दलबाट सिक्नुपर्छ हेर्नुहोस् । जित्दा र अनुकूलतामा मेरो तर्फमा रिजल्ट आयो भने यो सरासर ठिक, प्रतिकूलतामा आयो भने योचाहिँ पूर्वाग्रह भो यो गुटबन्दी भो यो भो त्यो भो यता तर्फ लाग्नु हुँदैन । 

  • त्यसोभए यो प्रथम ऐतिहासिक महाधिवेशनले गुटबन्दीलाई खारेज गर्‍यो कि बीजारोपण गरेर समापन भयो ? 

सविता गौतम उपसभापति हुनुभयो । कुन गुटको हो ? स्वर्णिम वाग्ले उपसभापति हुनुभयो । कुन गुटको हो ? विपिनको बारेमा धेरै प्रश्न उठ्यो । त्यसभन्दा मुनि सहमहामन्त्रीमा विजयी हुने हरि ढकाल हुनुहुन्छ । उहाँ कुन गुटको हो ? त्यस पछाडि अर्को सहमहामन्त्री असिम शाह विजयी हुनुभयो । 

यहाँ कतै गुट छ र त्यस्तो ? असिम र हरिले जित्नुभयो । उनीहरू गुटका भएर जिते म गुटमा परिनँ भन्ने कि के भन्ने ? मतदाता रिझाउन सकिएन, भएका मतदाताहरू निर्वाचनस्थलबाट घर जानुपर्‍यो । निर्वाचनको कार्यतालिका प्रभावित भो धेरै दिन लाग्यो, मतदान गर्ने सदस्यहरू घर फर्किसकेका थिए । 

  • यति हुँदाहुँदै पनि यस महाधिवेशनले पार्टी एकताबद्ध बनाएर लैजान म्यान्डेटरी भूमिका खेल्छ ?

म्यान्डेटरी भूमिका पनि खेल्छ र पार्टी एकताको सन्देश पनि गएको छ । अब यो पार्टीमा कोही नयाँ, कोही पुरानो, कोही फलना तर्फको र कोही फलना तर्फको भन्ने कुरा बाँकी रहँदैन । टोटल राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्का भएर अगाडि बढ्छ र यसले नयाँ दिशा दिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप