शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बोर्डको अध्यक्ष भएपछि मुद्दा हालेर मलाई काम गर्न दिइएनः भुवन केसी

शुक्रबार, २९ पुस २०७९, १८ : २०
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन् । 
शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

 पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको बताए । उनले चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको बताए । उनले नेपाली निर्माताहरु फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई ठूलो क्षति भइरहेको बताए । कुनैपनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभइ जरिबाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको बताए । 

उनले भने, ‘नेपाली फिल्म बनाउन धेरै गाह्रो भइरहेको छ । कुनैबेला स्टुडियो हुँदैन, प्रहरीको भ्यान चाहिन्छ, त्यो स्वीकृति लिँदालिँदै सात दिन लाग्छ । सुटिङ अहिले ड्रोन नभइ हुँदै हुँदैन, त्यो अनुमति लिन जाँदा ४ ठाउँ पुग्नुपर्छ । यो समस्या छ । साथै सबैभन्दा ठूलो समस्या नेपाली निर्माताहरुलाई एउटा निर्माताले घरखेत बेचेर सुटिङ गरिरहेको हुन्छ, क्यामेरा ल्याएर खिचेर त्यो युट्युबमा हालिदिन्छ । सुटिङको दृश्य आउट । हल भित्र गएर सिनेमा हेर्छ, सिनहरु हाल्दिहाल्छ । यसले हामीलाई ठूलो मर्का परेको छ । यदी कुनैपनि व्यक्तिले यस्तो क्रियाकलाप गर्छ भने त्यसलाई कडा भन्दा कडा सजाय मात्रै होइन, जरिबाना र क्षति पनि तिराउनुपर्छ भनेर माग राखेका छौँ ।’

अध्यक्ष केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५÷६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरे । उनले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरुले काम गर्न नदिएको बताए । उनले आफ्नो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने प्रतिवद्धता जनाए । 

उनले भने, ‘म त आएको भर्खर ५÷६ महिना भयो, आएदेखि राम्रा काम गर्छु भनेर लाग्यो के के भइदिन्छ बीचमा । मुद्दाहरु हाल्नुभएको छ, अदालतमा पनि जानैपर्छ । कोही साथीहरुलाई कुनबेला यो यहाँबाट जान्छ र म आऔँ भन्ने भएको छ । मेरो उमेरमा अरु त रिटार्यमेण्टमा हुन्छ, म त भर्खर केही गरौँ भनेर आइरहेको छु । विकास बोर्डमा रहेसम्म कलाकारिता क्षेत्रको हक र हीतको लागि केही गरेर नै बस्नेछौँ । निर्माताहरु एकजुट भएर अघि बढेमा हामी सफल हुनेछौँ ।’
अध्यक्ष केसीले चलचित्र विकास बोर्डका लागि आवश्यक बजेट सरकारले दिन नसकेको गुनासो गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप