शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सुधारिँदै अर्थतन्त्र

रेमिट्यान्स र विदेशी मुद्राको सञ्चिति बढ्यो, व्यापारघाटा घट्यो

शनिबार, ३० पुस २०७९, १३ : ३५
शनिबार, ३० पुस २०७९

काठमाडौँ । कोरोना महामारीका कारण समस्यामा गएको देशको अर्थतन्त्रमा सुधारको सङ्केत देखिन थालेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अर्थतन्त्रका सबैजसो सूचक सुधारोन्मुख अवस्थामा देखिएका हुन् । आर्थिक वर्षको सुरूवातदेखि समस्यामा देखिएका अर्थतन्त्रका सबैजसो सूचकहरू मध्यावधिसम्म आइपुग्दा सुधारतर्फ उन्मुख देखिएका छन् ।

राष्ट्र बैङ्कले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति, सोधानान्तर स्थिति, व्यापार घाटा र मुद्रास्फिती समेत सुधारोन्मुख स्थितिमा देखिएको जनाएको छ । केही समयअघिसम्म नेपालको अर्थतन्त्र समस्यामा देखिएको थियो । बढ्दो ब्याजदर, न्यून रेमिट्यान्स आप्रवाह, नियन्त्रणबाहिर बजार महँगी र लक्ष्यभन्दा कम राजश्व सङ्कलन लगायतले अर्थतन्त्र समस्यामा देखिएको थियो ।

तर, चालू आर्थिक वर्ष २०७९÷८० को पाँच महिनासम्ममा आर्थिक क्षेत्रका सबैजसो सूचकमा उत्साहजनक सुधार आएको राष्ट्र बैङ्कले जनाएको छ । यसअवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको छ भने व्यापार घाटा १८ प्रतिशतभन्दा बढीले घटेको छ । यस्तै, विदेशी मुद्राको सञ्चिति ६.३ प्रतिशतले बढ्दा सोधानान्तर स्थितिमा समेत उल्लेख्य सुधार आएको छ ।

नेपालको अर्थतन्त्रका सूचक सुधारिनेक्रममा वैदेशिक व्यापार घाटा समेत सुधारिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा वैदेशिक व्यापार घाटा १८ प्रतिशतले खुम्चिएको छ ।

रेमिट्यान्समा उत्साहजनक वृद्धि

चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको केन्द्रीय बैङ्कले जानकारी दिएको छ । यससँगै, समीक्षा अवधिमा विदेशबाट ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स ६.३ प्रतिशतले खुम्चिएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो । पछिल्लो समय नेपालबाट रोजगारीका लागि बाहिरिनेहरूको सङ्ख्या बढेसँगै रेमिट्यान्स आप्रवाह ह्वात्तै बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय दैनिक २ हजार ५०० युवा वैदेशिक रोजगारीका लागि विदेशीइरहेका छन् ।

खुम्चियो व्यापार घाटा

नेपालको अर्थतन्त्रका सूचक सुधारिनेक्रममा वैदेशिक व्यापार घाटा समेत सुधारिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा वैदेशिक व्यापार घाटा १८ प्रतिशतले खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त प्रतिशतले व्यापार घाटा खुम्चिएको हो ।

केन्द्रीय बैंकका अनुसार १ महिनाको अवधिमै विदेशी मुद्राको सञ्चिति ४६ अर्ब २९ करोड रुपैयाँले बढेको छ । यो रकमले नेपालको १० महिनाको आयात र ८. ७ महिनाको वस्तु तथा सेवा आयात गर्न धान्ने छ ।

खासगरी, सरकारले आयातमा कडाई गर्ने नीतिसँगै लामो समय महँगा र विलासिताका वस्तुको आयात रोकेपछि आयात घटेको छ । १५० सीसीमाथिका मोटरसाइकल, जिप, कार, खेलौना, तास, विदेशी मदिरा लगायत वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाएको थियो । यस्तै, नेपाल राष्ट्र बैङ्कले लामो समयसम्म केही वस्तुको एलसी खोल्दा५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही कारण, यस अवधिमा नेपालको आयात २०.७ प्रतिशतले घटेको छ ।

यस्तै, यस अवधिमा नेपालको निर्यात समेत ३४ प्रतिशतले खुम्चेको छ । यद्यपि, नेपालबाट ठुलो निर्यात नहुने भएकाले धेरै प्रभाव आयातमै परेको देखिन्छ । यही कारण, वैदेशिक व्यापार घाटा १८ प्रतिशतले खुम्चिएको हो ।

बढ्यो विदेशी मुद्राको सञ्चिति

समीक्षा अवधिमा विदेशी मुद्राको सञ्चिति ६.३ प्रतिशतले सुधारिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार उक्त सुधारसँगै विदेशी मुद्राको सञ्चिति १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । यस्तै, अघिल्लो महिनासम्ममा विदेशी मुद्राको सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ थियो ।

केन्द्रीय बैंकका अनुसार १ महिनाको अवधिमै विदेशी मुद्राको सञ्चिति ४६ अर्ब २९ करोड रुपैयाँले बढेको छ । यो रकमले नेपालको १० महिनाको आयात र ८. ७ महिनाको वस्तु तथा सेवा आयात गर्न धान्ने छ । यससँगै, नेपालको अर्थतन्त्र सुरक्षित स्थितिमा पुगेको देखिन्छ । राष्ट्र बैंकको ढुकुटीमा कम्तिमा साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा हुनुपर्ने मान्यता छ । तर, नेपालको विदेशी मुद्राको बचतले साढे ८ महिनाको नै वस्तु तथा सेवाको आयात धान्ने छ ।

यही माघ १ गतेदेखि लागू हुने गरेर ब्याजदर १० प्रतिशत घटेको छ । नेपाल बैंकर्स संघको नयाँ नेतृत्वले माघदेखि नै लागू हुने गरी ब्याजदर उल्लेख्यरूपमा घटाउने निर्णय गरेको हो ।

सुधारिँदै सोधानान्तर स्थिति

केन्द्रीय बैंकको तथ्यांकअनुसार पछिल्लो समय नेपालको सोधानान्तर खाता समेत सुधारिँदो अवस्थामा छ । समीक्षा अवधिमा ४५ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा सोधानान्तर स्थिति १ खर्ब ९५ अर्ब रुपैयाँ घाटामा थियो । यस्तै, समीक्षा अवधिमा चालू खाता समेत जम्मा ३७ अर्ब ९१ करोडले घाटामा छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो खाता २ खर्ब ९८ अर्ब ५१ करोड रुपैयाँले घाटामा थियो ।

घट्यो बजार महँगी

केन्द्रीय बैंकको तथ्यांकअनुसार चालू वर्षकै अघिल्लो महिनाको तुलनामा बजार महँगी घट्दो अवस्थामा देखिएको छ । समीक्षा अवधिमा नेपालको बजार महँगी ७.३८ प्रतिशतमा रहेको छ । जबकि, ४ महिनाको तथ्यांक सार्वजनिक गर्दै केन्द्रीय बैङ्कले मुद्रास्फिती ८ प्रतिशतभन्दा माथि पुगेको जानकारी दिएको थियो । यससँगै, निरन्तर बढिरहेको बजार महँगी विस्तारै पुरानै लयमा फर्कने देखिएको छ ।

१० प्रतिशत घट्यो ब्याजदर

यही माघ १ गतेदेखि लागू हुने गरेर ब्याजदर १० प्रतिशत घटेको छ । नेपाल बैंकर्स संघको नयाँ नेतृत्वले माघदेखि नै लागू हुने गरी ब्याजदर उल्लेख्यरूपमा घटाउने निर्णय गरेको हो । यससँगै, पुस मसान्तसम्म १२.१३ प्रतिशतमा रहेको मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतमा झरेको छ ।

बजारमा तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा बैकर्स संघले माघदेखि लागू हुने गरेर १० प्रतिशत घटाएको हो । यससँगै, लामो समयदेखि उद्योगी÷व्यवसायीले गरिरहेको माग समेत सम्बोधन भएको छ । खासगरी, पूर्वाका उद्योगी÷व्यवसायी ब्याजदर घटाउनुपर्ने मागसहित लामो समयदेखि आन्दोलनरत थिए । तर, नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर घटाउने बचन दिएसँगै व्यवसायीले आन्दोलन रोकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप