शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रेमको सजाय मृत्यु

उत्तर कोरियाली नायिकालाई ६ हजार जनाको अगाडि १२० पटक गोली हानियो, नाम–निशान मेटाइयो

जसले पाइन् प्रेमका लागि खतरनाक सजाय

शनिबार, ३० पुस २०७९, १४ : ०२
शनिबार, ३० पुस २०७९

पहिला यो तस्बिर हेर्नुहोस् ।

पहिलो तस्बिर हो उत्तर कोरियाकी सबैभन्दा सुन्दर भनिने नायिका वू इन ही को । यो तस्बिर यहाँ वर्णन गरे जत्तिकै सुन्दर छैन किनभने विश्वभरी उनको अरु कुनै फोटो नै छैन । दोस्रो तस्बिर हो उत्तर कोरियाका शासक किम जोङ इलको । यी दुईको प्रेम कहानी ७० को दशकको हो । किम जोङ इल र वू इन नै गोप्य सम्बन्धमा थिए । वू इन हीलाई एक रेडियो जकीसँग प्रेम बस्यो जसबारे शासक किम जोङ उनलाई थाहा भयो ।

यो धोकाको परिणाम यति पीडादायी थियो कि थाहा पाउने सबै चकित पर्छन् । किम जोङ इलले वू इन हीलाई आफ्नो सम्बन्धको खुलासा र धोका दिएको आरोपमा मृत्युदण्ड दिए । ६ हजार व्यक्तिको अगाडि वू इन हीलाई १ सय २० पटक गोली हानियो । इतिहासको पानाबाट वू इन हीको नाम यसरी मेटाइयो कि न त उनको परिवारबारे कुनै जानकारी छ, न उनी जन्मिएको मिति कसैलाई थाहा छ, न नै मृत्यु भएको । सबै तस्बिर र जति पनि फिल्ममा उनले काम गरिन्, सबै मेटाइए ।

आज उत्तर कोरियाकी सबैभन्दा सुन्दर नायिका वू इन हीको कहानी पढौँ ।

कोरियन वारमा डान्सर थिइन् वू इन ही

वू इन हीको जन्म उत्तर कोरियाको कायसोंगमा भएको थियो । केही इतिहासकारका अनुसार वू इनको जन्म ३० को दशको अन्त्यमा वा ४० को दशकको सुरुवातमा भएको होला ।

वू इन ही १९५०–५३ मा भएको कोरियन वारमा उत्तर कोरियाको सैनिकको मद्दत गर्थिन् ।

– वू इन सानै उमेरदेखि एक डान्सर थिइन् । युद्ध समाप्त हुने बित्तिकै जब देशमा तनाव कम हुन थाल्यो तब उनी केही मानिसमार्फन् प्योङ्याङ लगिइन् । प्योङ्याङ, उत्तर कोरियाको सबैभन्दा ठूलो शहर थियो जहाँ फिल्म बन्ने गर्दथ्यो । वू इन असाध्यै सुन्दर थिइन् त्यसैले उनले फिल्ममा काम पाउन थालिन् । उनी उत्तर कोरियाकी सबैभन्दा सुन्दर महिला थिइन् ।

उत्तर कोरियाकी सबैभन्दा ठूलो स्टार र पिपल्स नायिका बनिन्

प्योङ्याङमा केही फिल्ममा सानोतिनो भूमिका निर्वाह गरेको एक वर्षभित्रै उनले फिल्म ‘द टेल अफ चुनह्वाङ’ मा मुख्य भूमिका पाइन् । पहिलो फिल्मले नै वू इन हीलाई रातारात स्टार बनाइदियो ।

लगातार हिट फिल्म दिँदै उनी एक स्टार बनिन् । द गर्ल फ्रम डायमण्ड माउन्टेनपछि उनले दर्जनौँ अवार्डसमेत उत्तर कोरियाको सबैभन्दा गरिमामय पिपल्स अवार्ड पनि पाइन् ।

किम जोङ इलको नजर र विशेष व्यवहार

फिल्ममा उच्च स्थान ओगटेपछि वू इन उत्तर कोरियाका शासकको नजरबाट बच्न सकिनन् । उनले चोकोस्लोवाकिया गएर एड्भान्स एक्टिङ गर्ने विशेष अनुमति पाएकी थिइन् जबकी सर्वसाधारणलाई त्यहाँ जाने अनुमति थिएन ।

विवाहपछि पनि थुप्रै पुरुषसँग रहे वूको सम्बन्ध

उत्तर कोरिया फर्किएपछि वू इन हीले सन् १९६०–७० को दशकमा थुप्रै उत्कृष्ट फिल्म दिइन् र उत्तर कोरियाको सबैभन्दा ठूलो स्टार बनिरहिन् ।

सफलताको शिखरमा रहँदा नै वू इन हीले उत्तर कोरियाका सबैभन्दा चर्चित निर्देशक यो होसुनसँग विवाह गरेकी थिइन् । यो विवाहबाट जोडीका तीन छोरा भए ।

बच्चा जन्मिएको केही महिनापछि सन् १९७० को आस–पास वू इन हीको अन्य कलाकारसँग अफेयर चल्न थाल्यो । लगातार नयाँ व्यक्तिसँग नाम जोडिएपछि उनको निकै बदनाम हुन थाल्यो । उनको पहिलो विवाहेत्तर सम्बन्ध क्यामराका क्रु मेम्बर्ससँग थियो, यस्तै दोस्रो सम्बन्ध फिल्म इन्डष्ट्रिकै साधारण कामदारसँग रह्यो ।

विवाहेत्तर सम्बन्ध, बदनामी र मानिसको भद्दा कमेन्ट

७० को दशकको अन्तिमसम्म पूरा उत्तर कोरियामा वू इन ही र उनका विभिन्न अफेयरको खबरले चर्चा बटुल्न थाल्यो । वू इन हीको छवि यति बिग्रियोकी मानिसहरुले उनको अगाडि नै उनीबारे तथानाम प्रतिक्रिया दिन थाले । सेटमा साथी कलाकारले उनीसँग खराब व्यवहार गर्दथे र अगाडि बसेर उनीहरुको अफेयरबारे कुरा गर्दथे ।

सुटिङका बेला मानिसहरु भीड लगाएर उनको अपमान गर्न थाले र उनीसँग भद्दा कुरा गर्न थाल्थे । यद्यपि, यतिबेला वू भड्किनुको साटो आफ्नो सम्मानमा ठेस पुर्याइरहेका मानिससँग नै कुनैबेला आफ्नो सम्बन्ध थियो भनेर स्पष्टिकरण दिन थालिन् । यस्तोमा यदि उनी दोषी हुन् भने ती पुरुषलाई पनि आरोप लगाउनुपर्छ भनेर भन्न थालिन् ।

बदनाम भएपछि अभिनयमा लाग्यो प्रतिबन्ध र पाइन् सजाय

विभिन्न सफाईपछि सन् १९७० को अन्तिमसम्म बदनामीको असर सिधा उनको करियरमा पर्न थाल्यो । करियरमा धब्बा लागेपछि वू इन हीबाट पिपल्स एक्ट्रेसको अवार्ड पनि खोसियो । साथै, वूलाई फिल्ममा काम गर्न पनि प्रतिबन्ध लगाइयो । उनलाई सजायको रुपमा फिल्म स्टुडियोको बोइलरमा जागिर दिइयो जहाँ उनी १२ घण्टासम्म जोखिमयुक्त काम गर्थिन् ।

बाध्यताको फाइदा उठाएर शासकले सुरु गरे वूसँग सम्बन्ध

फिल्ममा प्रतिबन्ध गरिएको केही महिनापछि नै सन् १९७९ मा वू इनले अचानक फिल्ममा मुख्य भूमिका पाउन थालिन् र उनले फिल्ममा काम गर्ने अनुमति पाइन् । यसको पछाडि उत्तर कोरियाका तानाशाह किम जोङ इलको हात थियो, जसको वू इनसँग सम्बन्ध थियो । यी दुईको सम्बन्ध कसरी सुरु भयो, यसको सटिक जानकारी छैन । यद्यपि, जानकारका अनुसार वूको करियर बर्बाद भएपछि किम जोङ इलले उनको करियर पुनः सुदृढ गर्ने शर्तमा उनीसँग सम्बन्ध सुरु गरेका थिए । वू करियरका लागि यो सिक्रेट सम्बन्धमा पक्कै पनि आइन् । यद्यपि, उनी यो सम्बन्धमा खुसी भने थिइनन् ।

गोप्य सम्बन्धका बेला वूमाथि २४ सै घण्टा निगरानी गर्थे शासक

किम जोङ इलको दबाबमा फिल्म इन्डष्ट्रिका मानिसहरु वू इनलाई फिल्ममा ल्याउन थाले । किम जोङ इलले वू इनमाथि निगरानी राख्नका लागि उनीसँग नजिकका व्यक्ति र अभिनेतालाई पैसा दिन्थे जसले वू इनका हरेक गतिविधिको रिपोर्ट तानाशाहसम्म पुर्याउँथे ।

वू र शासकको सम्बन्ध यति गोप्य राखियो कि वूका श्रीमान् यो होसुनलाई पनि यसबारे अत्तोपत्तो थिएन ।

शासकसँग आजित भइसकेकी वू जवान रेडियो जकीको प्रेममा परिन्

बदनामीले भरिएका शासकसँग सम्बन्ध राख्नुपरेकोमा वू खुसी थिइनन् । यसैबीच सन् १९८० मा उनको भेट जवान जेनिचीसँग भयो जो एक रेडियो जकी थिए ।

जेनिचीसँग समय बिताउँदै गर्दा वू उनको प्रेममा पर्न थालिन् ।

वू इनमाथि जतिबेला पनि निगरानी हुन्थ्यो, त्यसैले उनी र जेनिची शासकको डरले कहिल्यै पनि सार्वजनिक रुपमा भेट्दैनथे ।

यी दुई भेटघाटका लागि जेनिचीको मर्सिडिज कारमा लामो यात्रामा जान्थे र घण्टौँसम्म एक–अर्कासँग समय बिताउँथे । तर यी दुईको सम्बन्ध धेरै दिनसम्म लुुक्न सकेन ।

शासकले रचेका थिए वू र उनका प्रेमीलाई मार्ने षड्यन्त्र !

चिसोको मौसममा वू इन ही, जेनिचीसँग लामो यात्रामा निस्किएका थिए । यात्रामा निस्किएको केही घण्टापछि वू र जेनिची कारभित्र निस्सासिन थाले । केही घण्टासम्म सिसा बन्द थिए र कारभित्र विषालु कार्बन मोनोअक्साइड ग्यास भरिएको थियो ।

जब उनको मद्दत गर्न मानिसहरु पुगे तब देखे कि जेनिची कारभित्र विष फैलिएका कारण मरिसको थिए र वूलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो । वूको शरीरमा यति विषय थियो कि उनको अस्पतालमा दुई हप्तासम्म उपचार चल्यो ।

प्रेमीको मृत्युपछि वूले शासकमाथि लगाएकी थिइन् हत्याको आरोप

उपचारका बेला वू इन निको हुने प्रक्रियामा हुँदा उनलाई जेनिचीको मृत्युबारे बताइयो । जेनिचीको मृत्युको खबरले उनी विक्षिप्त बनिन् । उत्तर कोरियाली प्रहरीले उनीसँग घटनाबारे जानकारी लिँदा सोधपुछमा उनले शासक किम जोङ इललाई हत्यारा बताइन् ।

साथै उनले यसको कारण बताउँदै उनी शासकसँग सम्बन्धमा भएको कुरा पनि सार्वजनिक गरिदिइन् ।

६ हजार जनाको अगाडि दिइयो मृत्युदण्ड

शासक किम जोङ इलविरुद्ध बोलेकोमा वूलाई मृत्युदण्डको सजाय सुनाइयो । सन् १९८१ मा सुरुमा वू इनलाई बन्दी बनाइयो । बन्दी बनाइएको अवस्थामा एक दिन उनलाई ‘तिमी स्वतन्त्र भयौ, घर जान सक्छौ’ भनेर बताइयो तर सैनिकले उनलाई काङ कोन मिलिट्री एकेडेमी लगे जहाँ उनको मृत्युको तयारी गरिएको थियो र ६ हजार जनाको भीड जम्मा गरिएको थियो ।

यो भीडामा वू इनका श्रीमान् यो होसुन पनि थिए जसलाई जबरजस्ती त्यहाँ ल्याइएको थियो ।

पहिला वू इनलाई एउटा पोलमा बाँधियो र त्यसपछि १२ सैनिकले उनीमाथि एके–४७ ले १०–१० गोली चलाए । १२० गोली लागेपछि वूको शरीर चाल्नोजस्तो भइसकेको थियो र अनुहार पनि हेर्न लायक थिएन । मृत्युदण्ड दिँदा वू इन ३५–४० वर्षकी थिइन् होला ।

मृत्युपछि मेटियो वू इनको नाम

वू इनको मृत्युपछि यो घटना हेर्ने ६ हजार जनालाई यसबारे कहिँ कतै नभन्न सेनाले धम्की दियो ।

किम जोङ इलले वू र उनका श्रीमान् यो होसुनको विवाह पनि तोडिदिए । यो होसुनलाई आफ्नो फिल्म अनसङ वारियरको सुटिङ पूरा गर्न पनि दबाब बनाए किनभने किम जोङ इललाई फिल्मसँग विशेष लगाव थियो ।

वूको मृत्युपछि उनको परिवारबारे केही खबर पाउन सकिएन । वूको नाम, तस्बिर र उनीसँग सम्बन्धित हरेक जानकारी किमले फिल्म, म्यागजिन र पत्रिकाबाट हटाइदिए । जुन फिल्ममा वूले काम गरेकी थिइन्, ती फिल्मको रिलबाट पनि उनको निशान मेटिए ।

वूको नाम मेटाउने काम यति सूक्ष्म ढङ्गले गरियो कि उत्तर कोरियाबाट यो नाम कहिल्यै बाहिरिएन, न नै कुनै इतिहासकारले उनीबारे कुनै लेख लेखे ।

– दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप