मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विमानस्थलदेखि स्वयम्भुसम्म नियाल्दा...

आइतबार, ०१ माघ २०७९, १२ : ३४
आइतबार, ०१ माघ २०७९

महानगरीय ट्राफिक प्रमुख मिरा चौधरीलाई यो पङ्क्तिकारले तीन पटक टेलिफोन गरिसकेको छ । टेलिफोन बधाई दिन वा चिनजान गर्न थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको सडकमा देखिने ट्राफिक भद्रगोलका बारेमा तीनै पटक चौधरीसँग संवाद भइसकेको छ । उनले पनि सकेसम्म ट्राफिक अवस्था सुधार्ने सुनाउँथिन् ।

 हुन त उनीभन्दा पहिलेका सबैजसो ट्राफिक प्रमुखलाई यो पङ्क्तिकारले घच्घच्याउँदै आएको छ । तर पहिलेको तुलनामा मिरा चौधरीको प्रयास अब्बल साबित छ । त्यति हुँदाहुँदै पनि पनि उपत्यकाको ट्राफिक अवस्था कुनै तेस्रो मुलुकको पर्यटकका लागि निकै हैरानी देखिन्छ । यसका खास कारणहरू छन् । यो आलेखमा खासगरी तीनवटा विषय उठान हुनेछ । पहिलो ट्राफिक अवस्था, दोस्रो असरल्ल सडक र तेस्रो धमिलो सहर । 

 पहिलो विषयमा कुरा गरौँ । किनभने नेपालको ट्राफिक अवस्था कति नाजुक छ भने कुनै तेस्रो मुलुकको एउटा नागरिकले सार्वजनिक बस वा माइक्रोबसमा यात्रा गर्न सक्दैन । कोलाहल, फोहोर सिट वा अव्यवस्थित यात्रु पिकअप–ड्रप तौरतरिका देख्दा जोकोहीको होस–हवास उड्छ । विश्व प्रविधिमा फड्को मारे पनि नेपालको ट्राफिक प्रणाली सय वर्ष पुरानो हात हल्लाउनैमा अल्झिएको छ । चिच्याएर यात्रु बोलाउने खलाँसी (सहायक कर्मचारी) पद्धति कायमै छ । सार्वजनिक बसका सिट ज्यादै फोहोर छैन । यी सिटहरू सम्झियो भने १० दिनसम्म खाना खान मन लाग्दैन । निरोगी मानिस यस्ता बसमा यात्रा गर्दा रोगी बनेर बाहिरिन्छ । 

अझै पनि हर्न निषेध पूर्णरूपमा कार्यान्वन भएको छैन । जतासुकै हर्नको आवाजले स्वयं नेपालीलाई त कति दिक्क बनाएको छ भने सभ्य मुलुकबाट आएका पर्यटकका लागि हालत के होला ?

बसपार्कमा नौलो मानिसलाई तानातान गरिन्छ । यस्ता यावत् विषयमा सरकारले कुनै अनुगमन गर्दैन न प्रविधि छ, न जनशक्ति तर पनि नेपालको ट्राफिक नियम चलेकै छ । यस्तो बेथिति सायद कुनै देशमा होला । अति गरिब मुलुकले पनि ट्राफिक प्रविधिलाई कुनै न कुनै रूपमा प्रयोगमा ल्याएका छन् । 

अझै पनि हर्न निषेध पूर्णरूपमा कार्यान्वन भएको छैन । जतासुकै हर्नको आवाजले स्वयं नेपालीलाई त कति दिक्क बनाएको छ भने सभ्य मुलुकबाट आएका पर्यटकका लागि हालत के होला ? हर्न बजाउनेमा सार्वजनिक बस, ट्याक्सी, सामान बोक्ने साना सवारीलगायत ज्यादा छन् । सरकारले ०७४ साल वैशाख १ गतेदेखि हर्न निषेधको कार्यक्रम लागु गरे पनि यो कार्यान्वयनमा निकै फितलो देखिएको छ । यसको मुख्य कारण आवश्यक ट्राफिक जनशक्ति नहुनु हो । अहिले पनि उपत्यकामा दरबन्दीअनुसारको जनशक्ति छैन । यसै त दरबन्दी कम छ, त्यसमाथि सीमित ट्राफिक जनशक्तिले भएभरको सारा काम भ्याउनुपरेको छ । धुलो धुँवा खाएर दिनभरि खटिने ट्राफिकलाई १० गुना बढी तलब दिनुपर्छ भन्ने हेक्का गृहमन्त्रालयलाई छैन । जीवनलाई रोगको दाउमा राखेर दिनभरि धुलो–धुँवा खाएर काम गर्ने ट्राफिकलाई प्रोत्साहन गर्न सरकार अग्रसर छैन । सरकार यस्ता यावत् विषयमा चुक्दै आएको छ । 

असरल्ल सडक र फोहोरमा मुछिएका चटपट

उपत्यकाका सडकका दायाँबायाँ हेर्दा कस्तो बिजोक देखिन्छ भने मानिस नरकमा बसेर खाना खाइरहेका छन् जस्तो सम्झाउँछ । हाम्रा सडक त्यस्ता छैनन्, जुन विकसित मुलुकका जस्ता स्ट्रिट फुड बिक्री गर्नलायकका हुन् । चौबीस घण्टा उड्ने धुलो र नजिकै दुर्गन्ध आउने फोहोरले उपत्यकाको कुनै पनि खुला स्थानमा खाना खान सकिँदैन । यहाँ त्यस्तो वातावरण बनिसकेकै छैन । तर पनि यहाँ हजारौँ मानिस सडकमा खाना बनाइरहेका हुन्छन् । चनाचटपटदेखि पानीपुरीसम्म, पकौडादेखि भुटनसम्म फोहोर मिश्रित खाना सडकमा पाकिरहेका देखिन्छन् । यी सामग्री बिक्री गर्ने र उपयोग गर्नेहरू देख्दा लाग्छ, हामीलाई सभ्यता र सफाइको कुनै मतलब नै छैन । जे छौँ, हामी संसारकै अब्बल छौँ । सायद यही नै हाम्रो परिचय हो । यस्तो बिजोगले स्वयं हामीलाई कति रोगी बनाइरहेको छ भने अर्कोतिर पर्यटकहरूमा कति नकारात्मक प्रभाव परेको होला । सोझो अनुमान गर्न सकिन्छ । 

हुन त हामी चरम गरिबीको अवस्थामा छौँ । सडकमा खानेकुरा बिक्री गर्नेहरूलाई हटाउँदा हजारौँको रोजगार खोसिनेतर्फ आवाज उठ्न सक्छ । यसका पनि उपाय छन् । सरकारले प्याकेजमा रोजगारका कार्यक्रम र निश्चित स्थानमा यी सामग्री बिक्री गर्ने प्रबन्ध मिलाउन सक्छ । स्थानीय निकायसँग समन्वयगरी केन्द्र सरकारले पहल नगरेसम्म यो समस्या हल हुनेवाला छैन । यसतर्फ सरकारले ध्यान नदिएसम्म हाम्रा सहरहरू सधैँ कुरूप र नरककै नक्सामा दरिनेछन् । 

असरल्ल सडक व्यापारीका कारण हाम्रा सहरहरू भद्रगोलमा परिणत भएका छन् । भर्खरै काठमाडौँ महानगरले ठेला र साइकलमा व्यापार गर्न रोक लगाएको छ । यो निकै सह्रानीय काम हो ।

धमिलो सहर भित्रका अँध्यारा भित्ताहरू

उपत्यकाभित्रका दृश्य हेर्ने हो भने झुपडबस्ती मात्र देखिन्छ । खासगरी सडक वरिपरिका टहराहरूले उपत्यकाको सौन्दर्यलाई खर्लप्प खाएको छ । विकसित धेरै देशले सडक वरपरका घरहरूको रङ्गरोगन लगाउने प्रणाली बसाएको छ । कुन सडकमा कुन रङ्ग प्रयोग गर्ने भन्ने विषयको मापदण्डका आधारमा धेरै देशले सहरलाई उज्यालो बनाएका हुन्छन् । हामी युरोप वा अमेरिकन धेरै देशको भ्रमणबाट यो दृश्य देख्न सक्छौँ । यसले सर्वसाधारणलाई कुनै मर्का पर्दैन । नियम बनाएपछि यसलाई पालना गर्ने मात्र हो । घर बनाएपछि रङ्ग त सबैले लगाउँछन् । तर त्यसको प्रकृति र स्वरूपमा सरकारले नियम बसाइदियो भने यसले एकरूपता ल्याउँछ र सौन्दर्यीकरणमा टेवा पुग्छ ।

अर्को समस्या हो सडक व्यापारी । असरल्ल सडक व्यापारीका कारण हाम्रा सहरहरू भद्रगोलमा परिणत भएका छन् । भर्खरै काठमाडौँ महानगरले ठेला र साइकलमा व्यापार गर्न रोक लगाएको छ । यो निकै सह्रानीय काम हो । हो, यसले धेरैको रोजगारमा कठिनाइ हुनेछ । यसका बाबजुद पनि यसलाई अझ सरल र सहज व्यापारको प्रक्रियामा लान सकिन्छ ताकि कसैको रोजगार वा व्यवसाय नगुमोस् । त्यसका लागि उपत्यकाभित्र विभिन्न स्थानमा ठेला र साइकलमा व्यापार गर्ने निश्चित स्थान तोक्नुपर्छ । यो नै सबैभन्दा उत्तम उपाय हो । 

काठमाडौँमा भारतीयहरू आउने कारणमध्ये यहाँको अनुकूल मौसम, सामाजिक सुरक्षा र स्वतन्त्रता नै हो । अधिकांश भारतीय भन्ने गर्छन्, ‘नेपाल युरोपजस्तै स्वतन्त्र र मनोरञ्जन देश हो ।’

योबाहेक सडकमा देखिने अर्को कुरूप दृश्यले विदेशी पर्यटकलाई विकर्षण बनाइरहेको छ । नेपाल घुम्न अहिले विश्वका विभिन्न देशका भ्लगरहरू आएका छन् । उनीहरूले नेपालका दृश्य मात्र प्रसारण गरेका छैनन्, यहाँको सडकका गतिविधि विश्व माझ पुर्याइरहेका छन् । यसैमध्ये एक अमेरिकी भ्लगर ड्याली म्याक्सले केही दिनदेखि खिचेका दृश्य र उनीसँग सडकमा ठोक्किएका भारतीय व्यापारीले नेपालको सारा मौलिकपन शून्यमा झारिदिएको छ । म्याक्सले भनेका छन्, म नेपाल आएको हुँ तर यहाँ सबै बिजनेस म्यान त भारतीय पो रहेछन् ।’ यस्ता भ्लगरहरूको प्रचारले नेपालको महत्त्व विश्व माझ पुगेको मात्र नभई भारतीय प्रभावले पारेको असर पनि झल्किरहेको छ । यस्ता भ्लगरहरूले हामीलाई ठुलो गुन लगाएर सित्तैमा प्रचार गरिदिएका छन् । हामीले त सडकका कुरूप दृश्य सुधार गर्न पो जिम्मेवारी वहन गर्न सकेनौँ । यी भ्लगर हुन् वा पर्यटक सबैले नेपालमा नेपालकै पहिचान खोजिरहेका हुन्छन् तर नेपालभित्र भारतीयको प्रभाव डरलाग्दो भएर जमिरहेको छ । 

अहिले काठमाडौँका सडकका चोकहरूमा यसो हेर्‍यो  भने कुनै न कुनै भारतीय ठोक्किहाल्छ । सडकदेखि पार्कसम्म, पसलदेखि घरसम्म भारतीयहरू छ्याप्छ्याप्ती देखिन्छन् । यी कुनै पर्यटक होइनन् । यसले नेपाललाई दीर्घकालीन रूपमा ठुलो भड्खालोमा पार्ने निश्चित छ ।

काठमाडौँमा भारतीयहरू आउने कारणमध्ये यहाँको अनुकूल मौसम, सामाजिक सुरक्षा र स्वतन्त्रता नै हो । अधिकांश भारतीय भन्ने गर्छन्, ‘नेपाल युरोपजस्तै स्वतन्त्र र मनोरञ्जन देश हो ।’

उपत्यकामा भारतीयहरू सङ्ख्या बढेपछि पश्चिमा मुलुकहरूका पर्यटक यो नेपाल हो कि भारत हो भन्नेमा द्विविधामा देखिन्छन् । भारतीयहरूको सङ्ख्या काठमाडौँमा अत्यधिक बढेपछि विकसित मुलुकका पर्यटकलाई हैरानी पनि बनाएको छ ।

पशुपतिनाथ मन्दिर, बौद्ध, स्वयम्भू गुम्बालगायतका सार्वजनिक स्थान घुम्न जाँदा बाटोभरि भारत र पाकिस्तानका व्यापारी सडकभरि देखेर तेस्रो मुलुकका पर्यटक अन्योलमा परेका छन् । यसरी नेपालमा भित्रिरहेका भारतीयहरूका कारण नेपालको आफ्नो मौलिकता समाप्त हुँदै गइरहेको छ ।

नेपाल–भारत व्यापार सम्बन्ध राम्रो छ । भारतीयबाट हामीले सामान किनेर ल्याउने हो । सित्तैँमा होइन । नेपालका मानिसहरू पनि रोजगारका लागि भारतमा जान्छन् । राहदानी प्रक्रियाले भारतमा रोजगारका लागि जानेहरू सुरक्षित हुनेछन् । को कहाँबाट आयो गयो भन्ने दुवै देशमा रेकर्ड रहने भएकाले दुवै देशका नागरिक लागि यो निकै सुरक्षित प्रणाली हुनेछ ।

त्यति मात्र होइन, अहिले सडकमा भारतीय महिलाहरू भीख माग्दै हिँडिरहेका छन् । उदाहरणकै लागि कोटेश्वर चोकमा बच्चा काखमा बोकेको महिलादेखि ससाना नानीहरू रोकिएका सवारीमा मागिरहेका हुन्छन् । यिनले नेपाली भाषा जान्दैनन् । यी सबै भारतको उत्तर प्रदेश र विहारबाट आएका हुन् । यो दृश्य यति टिठ लाग्दो छ, मानौँ नेपालमा सरकार नै छैन भन्ने आभास गराउँछ । 

सरकारले पहिला आफ्नो देशको राजधानी बनाउन ध्यान दिनुपर्छ । अनि मात्र अन्य जिल्लामा त्यसको प्रभाव पर्छ । यति कुरूप राजधानी भएको देश सायद नेपाल मात्र होला । विश्वका अति गरिब मुलुकले पनि राजधानी सुन्दर बनाएका हुन्छन् । तर नेपालको राजधानीभित्र धमिलो चित्र र अँध्यारा कुनाहरूले पर्यटकलाई खिन्न बनाएर फर्काइरहेको छ । यो विकर्षणलाई आकर्षणमा बदल्न सरकारले बिन लगानीमा गर्न सकिने प्रणालीको सुरुवात गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोद त्रिपाठी
विनोद त्रिपाठी
लेखकबाट थप