आङ्देम्बेले प्रधानमन्त्रीलाई चिन्दिनँ भनेपछि...
सारांश
- प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
- आङ्देम्बेले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद् सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाए ।
- आङ्देम्बेले प्रधानमन्त्रीसँग आफ्नो चिनजान नै नभएको र राष्ट्रपति तथा प्रमुख विपक्षी नेतासँग पनि संवादहीनता रहेको बताए ।
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।
उनले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद् सदस्यहरूसँग संवादको शैली अपनाउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाए ।
परिषद्को शुक्रबार बसेको बैठकमा आङ्देम्बेले संवेदनशील संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने तर नियुक्तिको प्रक्रिया अघि बढाउनुअघि परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने उनको भनाइ थियो ।
‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ,’ उनले प्रधानमन्त्री बालेनलाई भने, ‘तर, तपाईंको जुन खालको शैली छ, त्यसमा सैद्धान्तिक असहमति त छँदै छ । प्रमुख आयुक्तसँगै आयुक्त सिफारिस गर्ने विषयमा यसअघि नै छलफल गर्नुपर्थ्यो । त्यसो नगरेकोमा मेरो घोर आपत्ति छ ।’
आङ्देम्बेको यस्तो असन्तुष्टिपछि प्रधानमन्त्री बालेनले आफूले व्यक्तिगत रूपमा संवादको प्रयास गरेको दाबी गरे । ‘मैले छुट्टाछुट्टै संवाद गर्न खोजेको थिएँ । श्रीमान् (प्रधानन्यायाधीश)सँग पनि कुरा गर्न खोजेको थिएँ । तर बाहिर पत्रकारहरूले उल्टो अर्थ लगाउने रहेछन्,’ उनको भनाई उद्धृत गर्दै परिषद्का एक सदस्यले भने ।
प्रधानमन्त्रीको जवाफप्रति पुनः प्रतिक्रिया दिँदै आङ्देम्बेले त्यसो भए विपक्षी नेता, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नु उपयुक्त हुने धारणा राखे ।
‘प्रधानन्यायाधीशलाई किन बोलाउनुहुन्छ तपाईं ? प्रमुख विपक्षी नेता, प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभा अध्यक्षलाई बोलाएर छलफल गर्न सक्नुहुन्थ्यो,’ उनले भने ।
आङ्देम्बेले प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षका रूपमा प्रधानमन्त्रीसँग चिनजानसम्म नभएको पनि बताए । ‘तपाईंले संवैधानिक परिषद्का सदस्यहरूबिच चिया खाएर शिष्टाचार कायम राख्दा पनि हुन्थ्यो । त्यसो भएको छैन । प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षको हिसाबले हाम्रो चिनजान नै भएको छैन । व्यक्तिगत रूपमा त चिन्छु,’ उनले भने, ‘अस्ति पनि यही कुरा भनेको थिएँ, अहिले पनि अवस्था उस्तै छ । तेस्रो पटक यस्तो नहोस् ।’
उनले राष्ट्रपति र प्रमुख विपक्षी नेतासँग प्रधानमन्त्रीको संवादहीनताप्रति पनि असन्तुष्टि जनाए । ‘हामीबिच संवादहीनता छ । राष्ट्रपति र प्रधानमन्त्रीबिच पनि संवादहीनता छ । अब संवैधानिक परिषद्मा पनि त्यही अवस्था देखिन थालेको हो कि, या नियत नै त्यस्तो हो ?,’ आङ्देम्बेले सोधे ।
बैठकमा एजेण्डागत छलफलपछि आङ्देम्बेले पूर्वी नेपालको जनजीवनसँग जोडिएको भौतिक पूर्वाधारसँग सम्बन्धित विषयमा प्रधानमन्त्री बालेनको ध्यानाकर्षण गराएका थिए ।
उनले तमोर कोरिडोरअन्तर्गतका खोलाहरूमा पुल निर्माणको काम छिटो सम्पन्न गर्न,भेडेटार सडक खण्डको निर्माणलाई तीव्रता दिनका लागि स्थलगत अनुगमन गर्नुपर्ने बताएका थिए । साथै, माइखोला–इलाम खण्डमा वर्षेनी सडक भासिने समस्याको दीर्घकालीन समाधानका लागि पक्की पर्खाल निर्माण वा वैकल्पिक मार्ग निर्माणबारे कदम चाल्नुपर्ने बताए ।
जवाफमा प्रधानमन्त्री बालेनले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई तत्काल स्थलगत अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण