बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा

सोमबार, ०२ माघ २०७९, १७ : ३५
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । बीमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिङ्गापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ ।

दुर्घटनामा परेका यात्रुको बीमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए । “बीमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बीमा गरेको हुन्छ । पुनर्बीमाबाट पैसा आएपछि बीमा कम्पनीबाट भुक्तानी भइहाल्छ । मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बीमा रकम भुक्तानी हुन्छ”, उनले भने । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बीमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । बीमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि चासो राखेको उनको भनाइ छ ।  

“राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बीमा भुक्तानीबारे चासो राखेको थियो । बीमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौँबाट रिपोर्ट लिन सकिने भनिएको छ । दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ”, प्रवक्ता पौडेलले भने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाइयात्रुको २० हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुन्छ । चालकदलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक–फरक हुने प्राधिकरणले जनाएको छ ।

आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप