नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण, त्रुटि देखिएन
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाले आज साँझ विज्ञप्ति जारी गर्दै पोखरा विमानस्थल नजिक भएको यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् क्यानका सुरक्षा निरीक्षकहरूबाट नेपालमा सञ्चालित सम्पूर्ण एटिआर–४२ तथा एटिआर–७२ वायुयानको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको जानकारी दिए ।
परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि फेला नपरेको पनि क्यानले उल्लेख गरेको छ । कुनै पनि वायुयानको नियमित उडान योग्यता (एयरवर्दिनेस) का लागि दैनिक गरिने ‘डेली इन्सपेक्सन’, उडानपूर्व गरिने ‘प्री फ्लाइट इन्सपेक्सन’ जस्ता मर्मतसम्भारका कार्यहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको क्यानले विज्ञप्तिमा जनाएको छ ।
यही माघ १ गते आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटिआर–७२–२१२) विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै सेती नदीको खाँेचमा दुर्घटनाग्रस्त भएको थियो । दुघर्टनाग्रस्त विमानमा सवार चालकदलका सदस्यसहित ७२ सवार थिए । दुर्घटनास्थलबाट ६९ जनाको शव फेला परेको छ भने बाँकी तीन जनाको खोजी कार्य जारी रहेको छ । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै क्यानले दुर्घटनामा ज्यान गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण