शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपालाई मन्त्रीको टुङ्गो लगाउन सकस, पाण्डे र राणाबीच रस्साकस्सी

मङ्गलबार, ०३ माघ २०७९, ०७ : ४८
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन मन्त्री पाउने तय भएको छ । सत्ता साझेदार दलमा सोमबार भएको सहमतिअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा र सहरी विकासका साथै महिला बालबालिका वा खेलकुद मन्त्रालय मध्ये एक मन्त्रालय पाउने तय भएको हो । 

जसमा उपप्रधानसहित ऊर्जा मन्त्री पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन हुने निश्चित भएको छ । यस्तै नेता ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने मोटामोटी सहमति भएको छ । तर, अर्को मन्त्री छान्न भने सो पार्टीलाई सकस पर्ने देखिएको छ । मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबीच हानथाप देखिएको हो । उसो त जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र बहादुर शाहीले पनि मन्त्री बन्ने आकांक्षा देखाएको भए पनि उनी यो पटक मन्त्री नबन्ने बताइएको छ ।
 
राप्रपा स्रोतका अनुसार लिङ्देन र प्रधान मन्त्री बन्ने निश्चित भए पनि पाण्डे र राणाबीचको रस्साकस्सीले नाम टुङ्गो लगाउन सकस भएको छ । पार्टी संसदीय दलको कार्यादेश अनुसार मंगलबार नै अध्यक्ष राजेन्द्र लिङ्देनले नाम टुङ्गो लगाउने ती नेताको भनाइ छ । 

यस्तै राप्रपाले एक राज्यमन्त्री समेत पाउने स्रोतको भनाइ छ । राज्यमन्त्रीमा मकवानपुरबाट निर्वाचित दीपक सिंह पठाउने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार नै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप