शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
विमान दुर्घटना

हवाई दुर्घटनाले पर्यटन उद्योगलाई कस्तो प्रभाव पार्ला ?

तत्काल क्यानको भूमिकालाई विभाजन गर्नुपर्छ : डा.रेग्मी
बुधबार, ०४ माघ २०७९, ११ : १८
बुधबार, ०४ माघ २०७९

गत आइतबार यती एयरलाइन्सको ९एन–एएनसी एटीआर ७२ ५०० विमान दुर्घटनाले धेरैलाई झस्काइदिएको छ । गत जेठ १६ गते पोखरा–जोमसोम उडेको तारा एयरको जहाज दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटना भयो ।

जहाज दुर्घटनाको खबर, ४ जना चालक दलसहित ६८ जना यात्रुकै मृत्युको खबर विश्व सञ्चार माध्ययमहरुमा छाएका छन् । यसको प्रभाव अब नेपाली हवाई सुरक्षामा मात्र नभई समग्र पर्यटन उद्योगमै पर्नेमा धेरैको आकलन छ ।

नेपाली हवाई सुरक्षाको सवालमा आईकाओले उठाएको प्रश्न, ईयूको ब्ल्याक लिस्ट त छँदैछ, यसले नेपाली पर्यटन व्यवसायलाई समेत प्रभावित पार्नेमा पर्यटन व्यवसायीहरु चिन्तित देखिन्छन् ।

‘अन्तर्राष्ट्रिय जगतमा नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप पुनः एकपटक पुष्टि भएको छ,’ ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले भने, ‘अब यसको प्रभाव पर्यटन व्यवसायमा केही न केही पर्नेछ ।’

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मी तत्काल नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई टुक्र्याउनुपर्ने बताउँछन् ।

नेपाली आकाशमा एकपछि अर्को घटेका दुर्घटना, आईकाओ र ईयूको प्रतिबन्धले नेपाली पर्यटन क्षेत्र थप प्रभावित बन्ने हो कि भन्ने शंका उनको छ । ‘दुर्घटनाको प्रभाव पर्यटन व्यवसामा के कस्तो पर्नसक्छ, हामी त्यसको अध्ययन गर्दैछौं । विज्ञसहितको टोली खटाएर गरिएको अध्ययन प्रतिवेदन हामी अबको तीन दिनभित्र सरकारलाई बुझाउँछौं,’ उनले रातोपाटीसँग भने ।

यस्तै, नेपाल होटल व्यवसायी संघ (हान) ले समेत हवाई दुर्घटनाको यथार्थ विवरण, अध्ययन समितिको प्रतिवेदन पश्चात आफ्नो आधिकारिक धारणा सरकारलाई अवगत गराउने तयारी गरेको छ ।

हवाई दुर्घटनाले विश्व जगतमा गएको खराब सञ्चारलाई कम गर्दै पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारात्मक कार्यक्रम लैजान विशेष पहल गर्ने हान सचिवालयले जनाएको छ ।

तत्काल क्यानको भूमिकालाई विभाजन गर्नुपर्छ : सीईओ डा.रेग्मी

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मी तत्काल नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई टुक्र्याउनुपर्ने बताउँछन् । हवाई इजाजत, नियमन तथा व्यवस्थापन क्यान एउटैले गर्न नसक्ने बताउँदै उनले अब कार्यगत तथा क्षेत्रगतका आधारमा क्यानलाई विभाजन गर्नुपर्ने बताए ।

‘इजाजत अनुमति दिने र नियमन गर्ने विषय क्यान एउटैले गर्न सक्दैन । यसैको परिणाम अहिले समग्र नेपाली हवाई क्षेत्रले भोग्दै आइरहेको छ,’ सीईओ रेग्मीले भने, ‘क्यानको दरिलो उपस्थिति हुन्थ्यो भने अहिले यस्ता दुर्घटनाहरु बारम्बार दोहोरिने नै थिएनन् ।’

हवाई जहाजहरुको पार्टपुर्जा, इन्जिनहरु नियमित चेकजाँज गरे नगरेको, परिवर्तन गरे नगरेको तथा अन्य आवश्यक सुरक्षाका मापदण्ड पूरा गरे नगरेको नियमन नै नहुँदा अहिलेको स्थिति आएको डा.रेग्मीको भनाइ छ । यदि क्यानले कडाइकासाथ हवाई क्षेत्रको नियमन गर्ने गरेको भए हवाई दुर्घटना नहुने उनको तर्क छ ।

‘जहाँ पनि हवाई दुर्घटना भयो पाइलटलाई दोष । जहाजको कन्डिसन के हो ? प्राविधिक पक्ष के कस्तो छ ? जानकारी छैन । अध्ययन समिति बनायो, सकियो । यसरी हुँदैन । अब क्यानलाई दरिलो बनाउनुपर्छ,’ उनले रातोपाटीसँग भने ।

उसो त सरकारले यसअघि नै नागरिक उड्डयन प्राधिकरणलाई काम र कर्तव्यका आधारमा दुई विभागमा विभाजित गर्नेगरी प्रस्ताव अघि सारिसकेको छ । गत साउन, २०७६ मै नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचनागत परिवर्तन गर्नेगरी सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई क्यान टुक्र्याउने सहमति दिइसकेको थियो । पछि मन्त्रालय हुँदै संघीय संसदमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन गरी दुई छुट्टाछुट्टै ऐन बनाउने प्रस्ताव समेत पेस भएको थियो । तर, यो ऐनले प्राथमिकता पाउन नसक्दा हालसम्म पनि यो मुद्दाको टुङ्गो लाग्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप